९७९ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २५ , १०:०९ बजे

भीमदत्तको सहरीकरण योजना औपचारिक रुपमा प्रारम्भ

Image

महेन्द्रनगर। एसियाली विकास बैंक (एडीबी)को सहयोगमा भीमदत्त नगरपालिकाको वृहत् सहरीकरण परियोजनाले औपचारिक रुपमैं काम थालेको छ । ३ अर्व रुपैयाँभन्दा धेरै खर्च हुने सो परियोजनाअन्तर्गत भीमदत्तमा निर्माण गरिने सडक, ढल निकाससहितको वृहत सहरीकरण योजनाको कार्य मंगलबारबाट औपचारिक रुपमा सुरु भएको जनाइएको छ ।

सहरी विकास तथा डिभिजन कार्यालयले भीमदत्तमा सडक ढल र फोहर व्यवस्थापनको कार्यलाई पहिलो चरणमा सुरु गर्ने डिभिजन कार्यलयका प्रमुख रबिन्द्र बोहराले बताए । उनका अनुसार सहरी विकास तथा डिभिजन कार्यालयले फोहर व्यवस्थापनको कार्य सम्पन्न भएपछि मात्र अन्य कार्य गर्ने छ । भीमदत्तमा फोहर व्यवस्थापन कार्य सम्पन्न गर्न नगरपालिका र डिभिजन कार्यालयलाई ठूलो चुनौती छ ।

भीमदत्त नगरपालिकाले वडा नम्बर ८ तिलाचौरमा फोहर व्यवस्थापन केन्द्र निर्र्माण गर्ने योजना बनाएको छ । तर, तिलाचौरका वासिन्दाले फोहर व्यवस्थापन केन्द्र बनाउन नदिने बताउँदै आएका छन् । फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न नदिने भन्दै स्थानीय वासिन्दाले संर्घष समिति बनाएर बिरोध गर्दै आएका छन् । तिलाचौरवासीले तिलक खत्रीको संयोजकत्वमा समिति गठन गरेर बिरोध गरिरहेका छन् ।

नगरपालिकाले स्थानीयसँग समेत समन्वय नगरेर फोहर व्यवस्थापन केन्द्र स्थापना गर्ने योजना बनाएकाले स्थानीयको बिरोध रहेको संघर्ष समितिका अध्यक्ष खत्रीले बताए । ‘नगरपालिकाले स्थानीयलाई जानकारी नदिएर फोहर व्यवस्थापन गर्न खोजिरहेको छ, नगरपालिकाभरिको फोहर हाम्रो गाउँमा राख्न दिदैनौं,’ खत्रीले भने । तिलाचौरमा फोहर व्यवस्थापन नबनाउन नगरपालिकालाई पटक÷पटक ज्ञापन पत्र बुझाइएको खत्रीले बताए । उनका अनुसार ४ सय परिवार रहेको तिलाचौरमा ३ सय ५० परिवारले फोहर व्यवस्थापनको बिरोध गरिरहेका छन् ।

फोहर व्यवस्थापन स्थापना गर्ने विषयमा नगरपालिकाले स्थानीयसँग अहिलेसम्म एक पटक पनि छलफल नगरेको त्रिभूवन माध्यमिक विद्यालयका प्रधानाध्याापक रमेशकुमार जोशीले बताए । ‘नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने स्थान नजिक भम्केनी धाम, सामुदायिक वन र बस्ती रहेको छ, यसले बताबरण र मानव स्वास्थ्यमा नै असर पार्छ,’ जोशीले भने ।

फोहर व्यवस्थापन केन्द्र नबाउन नगरपालिकालाई आग्रह गरेपनि नगरपालिकाले जबरजस्ती तिलाचौरमा फोहर व्यवस्थापन केन्द्र बनाउन खोजेको प्रअ जोशीले बताए । ‘शुक्लाफाँटा निकुञ्जभित्र फोहर व्यवस्थापन गर्नुहोस् भन्दा नगरपालिकाले जनावरलाई असर पर्छ भन्छ, हामीलाई नगरपालिकाले जनावर भन्दा तल राखेको छ,’ उनले भने ।

तिलाचौरका वासिन्दा र नगरपालिकाबिच छलफल हुँदै आएको नगरपालिकाका सूचना अधिकारी हरिसंह धामीले बताए । उनका अनुसार छलफल हुँदै आएपनि स्थानीय र नगरपालिकाबीच फोहर व्यवस्थापन निर्माण गर्ने विषयमा सहमति हुन सकेको छैन् । ‘जनप्रतिनिधिले स्थानीयलाई व्यवस्थीत फोहर व्यवस्थापन केन्द्र स्थापना हुने विषयमा बुझाउन सकेका छैनन्, नगरपालिकासँग अन्य स्थानमा फोहर व्यवस्थापन केन्द्र बनाउन जमिन छैन्, २० विघा जमिन आवश्यक पर्छ,’ सूचना अधिकारी धामीले भने ।

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लगाउन नसक्दा योजना कार्यान्वयमा ढिलाई भइरहेको डिभिजन प्रमुख बोहराले बताए । उनका अनुसार नगरपालिकाको कमिकमजोरीका कारण ढिलाई भइरहेको हो । ‘अहिलेसम्म स्थानीयसँग छलफल गरेको छैन्, स्थानीयबिचको विवाद साम्य पार्ने जिम्मेवार नगरपालिकाको हो, स्थानीयसँग छलफल गर्छौ, स्थानीयलाई व्यवस्थित फोहर व्यवस्थापन केन्द्र देखाउँछौं’ उनले भने । स्थानीय जनतालाई भारतका व्यवस्थित फोहर व्यवस्थापन केन्द्र देखाइने बोहराले बताए ।

पहिलो चरण अन्तर्गत भीमदत्त नगरपालिकामा फोहर व्यवस्थापन गरिने भीमदत्त नगरपालिकाका ईन्जिनियर हिमालयसिंह ऐरले बताए । उनका अनुसार फोहर व्यवस्थापनको कार्य सम्पन्न भएपछि मात्र एडीवीले सडक निर्माण र फोहर पानी प्रशोधन केन्द्रको काम अगाडि बढउने छ । ‘नगरको फोहर व्यवस्थापन नभए अन्य काम पनि हुँदैन्, नगरपालिकाले सक्रियता देखाउन आवश्यक छ,’ ईन्जिनियर ऐरले भने ।

योजना समयमा सम्पन्न भए नगरपालिकाले थप १२ करोड समेत पाउने छ । नगरपालिकको कार्य सम्पादन मूल्याङकनको आधारमा थप बजेट दिन सकिने परियोजनाका निर्देशक चक्रपति कन्ठले बताए । उनका अनुसार एडीबीको दीर्घकालिन सहयोग कार्यक्रमअन्र्तगत धनगढी उपमहानगरपालिका, भीमदत्त नगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सहरीकरण हुँदैछ ।

आर्थिक वर्ष २०७२/०७३ मा घोषित सो कार्यक्रम अनुसार भीमदत्त नगरपालिकामा सडक, ढल, फोहर व्यवस्थापनको एकीकृत निर्माण योजनाका लागि सर्भे भइरहेको छ । सडकहरुको सर्भे कार्य सम्पन्न भएको ईन्जिनियर ऐरले बताए । उनका अनुसार सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीले भीमदत्त नगरपालिकामा एडीबीले गर्ने निर्माणका लागि सर्भे गरिरहेको छ ।

एसियाली बिकास बैंकको ऋण लगानीमा भीमदत्त नगरपालिकामा ८ सडकको पूर्ण स्तरोन्नति हुने ईन्जनियर ऐरले बताए ।ती सबै सडक दुबैतर्फ ढल, ग्रिनबेल्ट र फुटपाथसहित २ लेनका हुने छन् । करिब ३ अर्व रुपैयाँ खर्च हुने यो योजना ५ वर्षभित्र पूरा हुने लक्ष्य लिइएको छ ।

वडा नम्बर १ को भाँसीदेखि रौटेला सडक ५ किलोमिटर, भानुचोकदेखि विष्णुधाम सडक ५ किलोमिटर, वडा नम्बर १४ र १६ मा पर्ने शुक्लाफाँटा मार्ग ४ किलोमिटर, एयरपोर्टदेखि ऐरीघाटको साढे २ किलोमिटर सडक निर्माण गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १० गड्डाचौकीदेखि  ऐरीघाट सडक, तिनतारा–घाँडीघाच सडक साढे ५ किलोमिटर, गड्डाचौकीदेखि ब्रहमदेवसम्म साढे ८ किलोमिटर सडक गरी साढे ३८ किलोमिटर आधुनिक सडक बन्ने भएका छन् । एडीबीकै लगानीमा नगरपालिकाको मुख्य सहरी क्षेत्र वडा नम्बर ४ र १८ को ढल व्यवस्थापन गरिनेछ ।

योजना अनुसार वडा नम्बर ९ मटेना र वडा नम्बर ८ को घाडीघाँचमा फोहर फोहर प्रशोधन केन्द्र निर्माण गरिने छ ।एडीबीको यो योजना दीर्घकालिन सहरीकरणको अवधारणामा आधारित छन् । आगामी २० वर्षमा ४ वटै नगरपालिकालाई मिलाएर महानगर बनाउने अवधारणामा योजना आधारित छ ।


सम्बन्धित