६३१ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २५ , ०९:४२ बजे

शुक्लाफाँटामा पर्यटक बढ्दै

Image

महेन्द्रनगर, २४ फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष निकुञ्जमा स्तरोन्नतिपछि स्थानीय र राज्यकोतर्फबाट प्रचारप्रसार हुँदा पर्यटकको संख्यामा बृद्धि भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । उनका अनुसार बाह्रसिंगा, बाघ, गैंडा र चरा अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक शुक्लाफाँटा घुम्न आउने गरेका छन् ।

‘अहिले स्थानीय, होटल व्यवसायी संघ र राज्य पक्षले पनि प्रचार प्रसार गरिरहेका छन्, कञ्चनपुरका स्थानीय तहका प्रमुखहरुले पनि निकुञ्जको प्रचार प्रसार गर्ने प्रतिबद्धता गरेका छन्,’ निमित्त प्रमुख घिमिरेले भने । विगतमा फाटफुट रूपमा मात्रै देखिने विदेशी पर्यटक समेत आउने क्रम बढेको घिमिरेले बताए । उनका अनुसार दैनिक ७/८ जना विदेशी पर्यटक निकुञ्जमा आउने गरेका छन् ।

चालु आर्थिक वर्षदेखि माघसम्म विदेशी पर्यटक र आन्तरीक पर्यटक गरि २ हजार ९३ जनाले शुक्लफाँटा निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्ज कार्यालयका अनुसार सार्क राष्ट्रका १ सय ४३ जना, विदेशी पर्यटक ९६ जना र नेपाली १ हजार ८ सय ५४ जना पर्यटक शुक्लफाँटा घुमेका छन् । त्यस्तै गत आवमा १ हजार ९ सय २० पर्यटकले शुक्लफाँटाको अवलोकन गरेका थिए ।
जसमा नेपाली १ हजार ६ सय ५० जना, विदेशी १ सय ७५ जना र सार्क राष्ट्रका ९५ जनाले पर्यटक शुक्लफाँटा घुमेका थिए ।

यसैगरी कार्यालयका अनुसार चालु आव २०७१/७२ मा ८ सय २४ जना स्वदेशी, विदेशी र सार्क राष्ट्रका पर्यटक निकुञ्ज घुमेका थिए । जसमध्ये १ सय ४ जना सार्क राष्ट्रका पर्यटक, १ सय १२ विदेशी र ६ सय ८ जना स्वदेशी पर्यटक शुक्लाफाँटा घुम्न आएका थिएरु। ‘अब सिजन सुरु भएको छ, यस वर्ष शुक्लफाँटामा आउने पर्यटको संख्या ५ हजार पुग्ने अनुमान गरेका छौं ।’ निमित्त प्रमुअ घिमिरेले भने । बाघ र गैंडाको संख्या बढ्दै गएपछि यसले समेत पर्यटकलाई आकर्षण गरेको घिमिरे बताए ।

बाघका तस्वीर क्यामेरामा कैद
ट्रयापिङ विधिबाट शुक्लाफाँटामा रहेका बाघका तस्वीर क्यामेरामा कैद गरिएका छन् । शुक्लाफाँटा–लालझाडी–जोगबुडा करिडोर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र ब्रह्मदेव, लालझाडी जैविक मार्गलगायत जोगबुडा आसपासको क्षेत्रलाई एक ब्लकमा राखी क्यामरा ट्रयापिङबाट बाघका तस्वीर क्यामेरामा कैद गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए ।

‘यहाँ बाघको संख्या बढ्ने सम्भावना देखिएको छ, अहिले १७ वटा बाघ छन्, बढेर २० सम्म पुग्ने सम्भावना छ,’ उनले भने ।बाघका तस्वीर क्यामेरामा कैद गरिएको भएपनि गणना गर्न ३ महिना लाग्ने निमित्त प्रमुख घिमिरेले बताए । उनका अनुसार कञ्चनपुर माघ २१ गतेदेखि बाघ गणना सुरु गरिएको थियो ।

१६ क्यामेरा गायब
बाघ गणना गर्न जडान गरिएका १६ वटा क्यामेरा विभिन्न क्षेत्रबाट हराएका छन् । निकुञ्ज कार्यालयका अनुसार लालझाडी क्षेत्रबाट ४ जोर, कृष्णपुर नगरपलिका वडा नम्बर १ को दोमिल्लाबाट २ जोर र डडेल्धुराको जोगबुढा क्षेत्रको आलितालबाट १ जोर र नौलामा जडान गरिएका क्यामेरा मध्येबाट १ क्यामेरा हराए ।बाघ गणना ४ वर्षको अन्तरमा हुने गरेको निमित्त प्रमुख घिमिरेले बताए । यसअघि २०७० सालमा बाघ गणना भएको थियो ।


सम्बन्धित