१५४८ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २४ , ०७:५५ बजे

पर्यटकबाट अवैध असुली गर्ने सईलाई कारबाही

Image

महेन्द्रनगर । शसस्त्र प्रहरीले गड्डाचौकीस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका सई नारायण थापालाई विभागीय कारबाही गरेको छ ।

सई थापाले सिमा नाका गड्डाचौकीमा भारतीय पर्यटकबाट अवैध रकम असुली गरेको प्रमाणित भएपछि थापालाई कारबाही गरिएको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद पाण्डेयले बताए । उनका अनुसार सई थापालाई विभागीय कारबाहीस्वरुप नसियत दिइएको छ । ‘अब थापाको बढुवा हुँदैन्, विदेश जान पाउँदैन्, अन्य पाउने सेवा सुविधा समेत पाउँदैन्,’ प्रहरी नायव उपरीक्षक पाण्डेयले भने ।

थापाले गड्डाचौकीमा अवैध रकम असुली गरेको प्रमाणित भएपछि सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट थापाको दरबन्दी रहेको स्थान सुक्लाफाँटा नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारी पठाएको नायव उपरीक्षक पाण्डेयले बताए । उनका अनुसार प्रहरी ड्यूटीमा खटिए बेला सई थापाले गत माघ २५ गते दिउसो सिमा नाका गड्डाचौकीमा भारतीय पर्यटकबाट अवैध रकम असुल गरेका थिए ।

भारतीय पर्यटकबाट नेपाल प्रहरी र सशस्त्र  प्रहरीले प्रति गाडी १/१ सय भारतीय रुपैयाँका दरले २ गाडीको ४ सय भारतीय रुपैयाँ लिएका थिए । गत माघ २५ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीले इन्ट्री फिस भनेर रुपैयाँ मागेको नैनीताल टुर एण्ड ट्राभल्सका अध्यक्ष विजयमोहन सिंह खातीले दैनिक मानसखण्डको कार्यालयमा आएर जानकारी दिएपछि समाचार सार्वजनिक भएको थियो ।


About Author
-मानसखण्ड