१४७८ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २३ , १४:५९ बजे

गौरक्षाका लागि मुख्य मन्त्रीलाई जगत गुरुले बुझाए ज्ञापन पत्र

Image

महेन्द्रनगर । गौरक्षाका लागि जगत गुरु मोहनशरण देवाचार्यले ७ नम्बर प्रदेशका मुख्यमन्त्री चिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार जगत गुरुले मुख्यमन्त्री भट्टलाई धनगढीमा ज्ञापन पत्र बुझाएका हुन् । जगत गुरुले सुदूरपश्चिममा गौमाता माथी भईरहेको दुव्र्यवहार र पीडा मुक्त गर्नका लागि ९ बुँदे ज्ञापन पत्र बुझाएको जगत गुरुका प्रवक्ता विक्रम धामीले बताए ।

उनका अनुसार जगत गुरुले मुख्यमन्त्री भट्ट सहित ७ नम्बर प्रदेशका उप सभामुख निर्मला बडाल  जोशीलाई पनि ज्ञापन पत्र बुझाएका छन् । प्रदेश सदनमा समेत गाई रक्षाका लागि विधेयक बनाउनका लागि भन्दै उप सभामुख जोशीलाई ज्ञापन पत्र बुझाएका थिए ।

जगत गुरुले मुख्य मन्त्री र उपसभामुखलाई सम्बन्धीत निकायबाट घरमा पालिएका गाईलाई संकेत चिन्ह प्रदान गरि गाई छाड्ने काम निरुत्साहित गरिनुपर्ने र दण्डित गर्नका लागि कानुन व्यवस्था गर्नुपर्ने, वेवारिसे अवस्थामा छाडिएका गाई बस्तुको सम्बन्धीत स्थानीय तह मार्फत पुर्नस्थापना गरिनुपर्ने, गाई पुर्नस्थापना गर्ने किसानलाई पुरस्कार प्रदान गरिनुपर्ने, सरकारी निकाय मार्फत गाई पुर्नस्थापित गरि गाईको दुध, गोबर मुत्र जस्ता पदार्थ खरिदका लागि सरकारीस्तरबाट आवश्यक व्यवस्था मिलाउनुपर्ने माग अघि सारेरका हुन् ।

त्यस्तै किसानलाई गाईको मलको उपयोगिता बारे शिक्षा प्रदान गर्ने, सामुदायिक वन, सार्वजनिक जमिनमा गौशाला तथा चरनको व्यवस्था मिलाईनुपर्ने, गाईको आध्यात्मिक तथा धार्मिक महत्वबारे शिक्षाको व्यवस्था गरिनुपर्ने, गोबर ग्याँस प्लान्टमा गाईको गोबर उत्तम हुने स्वाथ्यका लागि हितकार हुने भएकाले जनचेतनाका कार्यक्रम संचालन गर्न लगायतमा माग अघि सारेर ज्ञापन पत्र बुझाएका छन् ।

जगत गुरुले कैलाली कञ्चनपुरमा गाईको दर्दनाथ अवस्था भएको भन्दै दुख समेत व्यक्त गरेका छन् । विभिन्न स्थानीय तहले छाडा गाईबस्तु संरक्षणका लागि ठुलो बजेट विनियोजन गाई मर्न लागेर र व्यवस्थापन नभएको भन्दै मुख्यमन्त्रीको गम्भिर ध्यानाकर्षण समेत गराएका छन् । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले ७ नम्बर प्रदेशमा गाईबस्तुको व्यवस्थापनमा प्रदेश सरकार गम्भिर रहेको र योजना बनाएर व्यवस्थापन गरिने आवश्वासन दिएका थिए ।

गाईमाताको वेहाल पारिएको भन्दै जगत गुरुले गाईको सम्मानजनक व्यवस्थापन भएरसम्म जागरणका कार्यक्रम संचालन गर्ने बताएका छन् । जगत गुरुकै अगुवाईमा कञ्चनपुरका विभिन्न स्थानमा गौ–रक्षा अभियान समेत संचालन भएका छन् ।
गाईको महत्वबारे जानकारी दिदै छाडिएका गाईलाई पुनः घर फर्काउने अभियान थालिएको छ ।

दुधदिन छाडेपछि घरबाट छाडिएका गाईबस्तुका कारण खेतबारीदेखि राजमार्गसम्म समस्या निम्तिएको छ । राजमार्ग क्षेत्रमा दुर्घटना र पाक्नै लागेको अन्नबाली नष्ट गरिदिने भएकाले किसान र यात्रु बढि मारमा परेका छन् ।


About Author
-मानसखण्ड

सम्बन्धित