१००३ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २३ बुधबार, १४:४० बजे

बगरमा भारतीय नागरिकको मनोमानी

Image

महेन्द्रनगर। कञ्चनपुरका विभिन्न नदीका बगरमा तरकारी फलाउने  प्रायः भारतीय नागरिक नै छन् । सरसर्ती हेर्दा उनीहरुले अनुमति लिएर खेति गरिरहे जस्तो देखिए पनि त्यो सत्य होइन । वास्तवमा बगरखेतीमा सक्रिय भारतीय नागरिकले मनोमानी काम गरिरहेका छन् ।

उनीहरुले मौसमी उद्यम गरेर लाखौं कमाइरहेका भएपनि सरकारलाई सुको तिर्दैनन् । बगर खेती गर्ने अधिकांश भारतिय नागरिकले सम्बन्धित निकायसँग समन्वय नगरि खेती गर्ने गरेका छन् । कञ्चनपुरमा विभिन्न नदी तथा बगर नजिकका बस्तीमा बस्ने नेपाली नागरिकले भारतीय नागरिकलाई बगरखेतीका लागि सार्वजनिक जमिन समेत भाडामा दिने गरेका छन् ।

आफ्नो व्यक्तिगत फाइदाको लागि नदि नजिकका स्थानीयले भारतीय नागरिकलाई भाडामा नदी किनार दिने गरेको शुक्लाफाँटा नगरपालिका कृषि विभाग शाखाका प्रमुख बिरबहादुर कुँवरले बताए । उनका अनुसार शुक्लफाँटा नगरपालिका लगायत अन्य नगरपालिकामा पनि भारतीय नागरिकले बगर खेती गर्दै आएका छन् । ‘भारतीय नागरिक बगर लिजमा लिएर खेती गर्छन्, नदि नजिक बस्ने स्थानीयले नदी किनारको खाली ठाउँलाई भाडामा दिने गरेका छन्,’ उनले भने ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० सुनबरा नदी किनार, कलुवापुरको स्याली नदी, दोदा नदी नौखरी लगायतका क्षेत्रमा भारतीय नागरिकले बगरखेति गर्दै आएका छन् । बगरखेतीका लागि भारतीय नागरिकले शुक्लफाँटा नगरपालिकासँग अनुमति लिएका छैनन् । 

भारतीय नागरिकले वर्षैदेखि नदी किनारमा बगरखेती गर्दा बर्खामा कटानीको समस्या बढेको स्थानीय महेश विष्टले बताए । ‘यसलाई रोक्नेतर्फ स्थानीय सरकारले समेत ध्यान दिएको छैन्, जनप्रतिनिधिलाई जानकारी दिएपनि चासो देखाएन,’ विष्टले भने ।

भारतीय नागरिकले सुनबरा लगायतका नदि किनारमा प्रत्येक वर्ष तरकारी खेती गर्ने गरेको शुक्लफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरका स्थानीय जगन्नाथ जोशीले बताए । ‘भारतीय नागरिकले लामो समयदेखि तरकारी खेती गर्दै आएका छन्, २÷४ महिना तरकारी खेती गर्छन्, स्थानीय तहलाई कर समेत बुझाउदैनन्’ जोशीले भने ।

शुक्लफाँटा नगरपालिका वडा नम्बर १० का स्थानीय शुनिल भट्टका अनुसार कतपय स्थानमा भारतीय नागरिकले नदि किनारका खाली जमिन अतिक्रमण गरि तरकारी खेती गर्दै आएका छन् । ‘भारतीय नागरिकले तरभूजा, लौका, काक्रा लगायतका तरकारी लगाउने गर्छन्, खेती गर्नका लागि नगरपालिकासँग अनुमिति लिएका छैनन्,’ भट्टले भने ।

नगरपालिका क्षेत्रका नदिहरुको अनुगमन गरि नदि किनारमा बगरखेती गरिरहेका भारतीय नागरिक र सावजनिक जमिन भाडामा लगाउने स्थानीयलाई कानुन अनुसार कारबाहीे गरिने शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का अध्यक्ष लालबहादुर ऐरले बताए ।

उनका अनुसार सुनबरा नदीको १/२ स्थानमा भारतीय नागरिकले तरकारी खेती गरिरहेका छन् । तर, खेती गर्दै आएपनि नगरपालिकाबाट अनुमति नलिएको अध्यक्ष ऐरले बताए । ‘शुक्लफाँटा नगरपालिका वडा नम्बर १० मा भारतीय नागरिकले तरकारी खेती गरिरहेका थिए, स्थानीयको बिरोधपछि रोकेका छौं,’ ऐरले भने ।

अध्यक्ष ऐरका अनुसार वडा नम्बर १० स्थीत सुनवरा नदिमा भारतीय नागरिक छोटलेु बगरखेती गर्ने तयारी गरिरहेका थिए । झलारीका स्थानीय नरेन्द्ररबहादुर ऐरलाई सोधेर नदि किनारमा तरकारी खेती गर्ने तयारी गरेको भारतीय नागरिक छोटुले बताए । ‘नगरपालिकासँग अनुमति लिनु पर्छ भन्ने थहा थिएन्, गत वर्ष पनि स्थानीयलाई सोधेर तरकारी खेती गरेका थियौं,’ उनले भने ।

भारतीय नागरिक छोटुले आफुलाई तरकारी खेती गर्ने विषयमा नसोधेको नरेन्द्रबहादुर ऐरले बताए । ‘छोटुले सुनबरा नदि किनारमा तरकारी खेती गर्ने तयारी गरिहेको थियो अहिले नगरपालिकाले रोकेको छ, नदि किनारसँग मेरो जमिन जोडिएकाले मेरो नाम लिएको होला,’ उनले भने ।

सार्वजनिक जमिन अतिक्रमण गरि तरकारी खेती गर्ने नेपाली नागरीक तथा भारतीय नागरिक दुबैलाई तरकारी खेती गर्न नदिन वडा अध्यक्षहरुलाई निर्देशन दिएको शुक्लफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘अबैध रुपमा तरकारी खेती गर्ने कार्य रोक्न वडा अध्यक्षलाई जिम्मेवारी दिएको छु,’ नगर प्रमुख ऐरले भने ।

बगरखेती गर्ने भारतीय नागरिकले आवश्यकता भन्दा बढी विषदी प्रयोग गर्ने गरेको कृृषि विभाग शाखा प्रमुख कुँवरले बताए । ‘अन्धाधुन्ध बगरखेती गर्दै आएका छन्, भारतबाट विषदी लिएर तरकारी बाली हाल्ने गरेका छन्,’ कुँवरले भने । भारतीय नागरिकले उत्पादन गरेका तरकारी खादा उपभोत्ताले सजग हुनुपर्ने शाखा प्रमुख कुँवरले बताए । ‘विषदीले मानव स्वास्थ्य र वातावरण असर पार्छ, सबैले कृषकले विषादी प्रयाग गर्ने कार्य रोक्नु पर्छ’ उनले भने ।

कृष्णपुर नगरपालिकमा भारतीय नागरिकले नदि किनार अतिक्रमण गरि खेती कार्य जनप्रतिनिधि आएपछि रोकिएको स्थानीय अर्जुन साउँदले बताए । उनका अनुसार गत वर्षसम्म भारतीय नागरिकले बनहरा र मछलिया नदिमा तरकारी खेती गर्दै आएपनि चालु आर्थिक वर्षमा भारतीय नागरिकले तरकारी खेती गर्न छोडेका छन् । ‘अहिले स्थानीय कृषकले तरकारी खेती गरिरहेका छन्,’ उनले भने ।

कृषकहरुले समुह बनाएर बगरखेति गरिरहेका नगर प्रमुख कर्ण हमालले बताए । उनका अनुसार स्थानीय कृषकले बनहरा नदिको किनार, देखतभूली, वडा नम्बर २ को मुक्त बस्ती, वडा नम्बर ९ को राजघाट मोहना नदिको किनारमा बगर खेती गर्दै आएका छन् । ‘अहिलेसम्म भारतीय नागरिकले तरकारी खेती गरिरहेको खबर पाएका छैनौं, २/३ दिनमा अनुगमन गर्छौं, भारतीय नागरिकले तरकारी खेती गरेको पाए कारबाही गछौं,’ नगर प्रमुख हमालले भने ।

भारतीय नागरिकले उत्पादन गर्ने तरकारी खान योग्य नहुने गरेको नगर प्रमुख हमालले बताए । ‘विषदी धेरै प्रयोग गरेका हुन्छन्, उनिहरुको नेपाली कृषकले पनि सिको गरिरहेका छन्, यसमा रोक लगाउँछौं,’ उनले भने । भारतीय नागरिकले महाकाली नगरपालिकामा पनि नगरपालिकाबाट ठेक्क लिएर तरकारी खेती गर्दै आएका छन् ।

नगरपालिकाले निश्चत मापदण्ड नबानई भारतीय नागरिकलाई ठेक्का दिने गरेको महाकाली नगरपालिका वडा नम्बर ६ हेल्थपोष्टका बिरेन्द्र खड्काले बताए । उनका अनुसार भारतीय नागरिकले तरकारीमा बिषादीको धेरै प्रयोग गर्ने गरेका छन् । ‘फाइदको लागि विषादी प्रयोग गर्छन, बिषादी प्रयोग बढि गर्दा मानव स्वास्थ्य र वातावरणमा समेत असर परिरहेको छ,’ खड्काले भने ।

भारतीय नागरिकले तरकारी बालीमा बिषादी बढी प्रयोग गर्ने गरेको  नगर प्रमुख बिरबहादुर सुनार बताउँछन् । ‘तरकारीमा बिषादी धेरै नै प्रयोग गरेको हुन्छ, यसलाई अब नियन्त्रण गर्छौ,’ उनले भने ।  भारतीय नागरिकले महाकाली नदि किनार र जोगबुढा नदि किनारमा तरकारी खेती गर्दै आएका छन् । मापदण्ड बनाएर भारतीय नागरिकलाई जमिन लिजमा दिने नगर प्रमुख सुनारले बताए ।


About Author
-होम योगी

सम्बन्धित