२५०७ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २१ , ०८:०१ बजे

मेयर नै निरिह !

Image

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकमा मापदण्ड विपरीत २ वटा क्रसर उद्योग खुलिरहेका छन् । कृष्णपुर नगरपालिकासँग समेत समन्वय नगरेर वडा नम्बर १ बन्ड र वडा नम्बर ५ को वनदेवीमा क्रसर उद्योग खुल्न लागेको नगर प्रमुख कर्ण हमालले बताए । उनका अनुसार निर्माण व्यवसायीले आवश्यक प्रक्रिया पूरा नगरी उद्योग खोलिरहेका छन् । ‘सरकारी मापदण्ड विपरीत खुल्दै छन्,’ उनले भने ।

सन्तोषी थेगिम जेभी धनगढीले निर्माण गरिरहेको क्रसर निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेपनि कुनै पहल नभएको नगर प्रमुख हमाले बताए । उनका अनुसार वडा नम्बर १ मा सन्तोषी थेगिमले क्रसर निर्माण सुरु गरेपछि स्थानियले गाउँको बीचमा क्रसर उद्योग खोल्न लागीएको भन्दै नगरपालिकासँग रोक्न माग गरेको थियो । ‘स्थानीयले माग गरेपछि निर्माण कार्य रोक्न जिल्ला प्रशासनलाई अनुरोध गरेका छौं, अहिलेसम्म कुनै सुनवाई भएको छैन्,’ प्रमुख हमालले भने ।

उनले मानव वस्तीका बीचमा उद्योग संचालनले स्थानीयको स्वास्थ्य र वातावरणीय हिसावले पनि उपयुक्त नभएको बताए । नगर प्रमुख हमालका अनुसार सरकाले तोकेको मापदण्ड भन्दा वाहिर गएर काम गर्ने जोसुकैलाई कानुनी कारवाही गर्ने बताए । कानुनी प्रक्रिया मिचेर क्रसर उद्योग निर्माण गरिए कारबाही गर्ने नगर प्रमुख हमालले बताए ।

क्रसर निर्माण भइरहेको स्थान उद्योग खोल्न उपयुक्त नभएको महाकाली ईलाका वन कार्यालयका रेन्जर अज रावलले बताए । उनका अनुसार बन्ड र वनदेवीमा अस्थाई रुपमा समेत क्रसर उद्योग खोल्न पाइदैन् । ए लेभलका ठेकेदारले प्रारम्भिक वातावरण परीक्षण (आइइई) गरेर अस्थाई रुपमा सीमित अवधिका लागि आफ्नो ठेक्का साईडमा सहजताका लागि क्रसर उद्योग खोल्न पाईने प्रावधान भए पनि सन्तोषी थेगिमले मानव वस्ती र खोला छेउ नजिकै क्रसर निर्माण गरिरहेकाले निर्माण कार्य गर्न नदिने रेन्जर रावलले बताए ।

निर्माण कम्पनीले कालिका माध्यामिक विद्यालय र मानव वस्ती नजिकै उद्योग अस्थाई रुपमा खोली रहेकाले स्थानीयले बिरोध जनाएको स्थानीय शुशिल शाहले बताए । ‘बस्ती नजिकै उद्योग खोल्दा मानव स्वास्थ्य असर पर्छ, क्रसर खोल्न निर्माण कम्पनीले स्थानीयसँग समेत समन्व गरेको छैन्,’ उनले भने ।

कलुवापुर–बेलौरी सडक र वाणी–देखतभूली सडक निर्माणका लागि आवश्यक पर्ने समाग्री उत्पादनका लागि अस्थायी रुपमा क्रसर उद्योग खोल्न लागिएको सन्तोषी थेगिम जेभीका म्यानेजर दमन जोशी बताए । उनका अनुसार डिभिजन सडक कार्यालय कञ्चनपुरको अनुमति अनुसार क्रसर खोल्न लागिएको हो । ‘डिभिजन सडक कार्यालयले कृष्णपुर नगरपालिकालाई सञ्चालनको लागि आवश्यक सहयोग गर्न पत्राचार गरेको छ । तर, कृष्णपुर नगरपालिकाले खोल्ने अनुमति दिएको छैन्,’ उनले भने ।

क्रसर उद्योग अस्थायी रुपमा ३ वर्षको लागि खोल्न लागिएको म्यानेजर जोशीले बताए । ‘कानुनी प्रक्रिया थाहा नहुँदा सबैसँग समन्वय गर्न सकेनौं, अब प्रक्रिया पुर्‍याउँछौं,’ जोशीले भने । थेगिम जेभिले डिभिजन सडक कार्यालयबाट क्रसर खोल्न अनुमति लएको बताए पनि सडक डिभिजन कार्यालयका सूचना अधिकारी खजेन्द्र शाहीले खोल्ने अनुमति नदिएको बताए । ‘निर्माण कम्पनीले सडक कालोपत्रे गर्नका लागि गिट्टी, बालुवा, आवश्यक पर्ने हुँदा क्रसर मेसिन जडान गर्न सम्बन्धित निकायलाई सिफारिस गरि पाउँ भनि निवेदन दिएको थियो, निवेदन दिएपछि नगरपालिकालाई आवश्यक सहयोगको लागि पत्राचार मात्रै गरेका हौं,’ उनले भने ।

सरकारी मापदण्ड अनुसार स्थायी रुपमा ‘खानी तथा क्रसर उद्योग चुरे क्षेत्रबाट एक किलो मिटर, राजमार्ग, खोला नदी किनार र पक्की पुलबाट ५ सय मिटर टाढा, हाइटेन्सन लाइनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष तथा घना बस्तीबाट २ किलो मिटर भित्र क्रसर सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।