९२७ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २० , १०:५९ बजे

निकम्मा प्रहरी, उद्दण्ड समाज

Image

महेन्द्रनगर। महाकाली अञ्चल अस्पताल फेरि तनावग्रस्त भएको छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै फेरि एक चिकित्सक मरणासन्न हुने गरी पिटिएका छन् । करिब १ घण्टा भीडले ताण्डव मच्चाएपछि प्रहरी अस्पताल पुग्यो तर कुनै नियन्त्रणकारी कदम उठाएन ।

अस्पताल परिसरमैं प्रहरीको पोष्ट भए पनि कार्यरत चिकित्सक कुटिएका छन् । प्रहरीले अस्पताललाई भीडको आक्रेशबाट सुरक्षित राख्न कुनै किसिमको प्रयास नगरेको अस्पताल कर्मचारीको आरोप छ । भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलाका वर्ष ४६ की कलावती सार्कीको शनिबार बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तको एक हुलले अस्पतालमा आक्रोश पोखेका थिए ।

अस्पतालको लापरवाहीका कारण सार्कीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित थिए । पीडित पक्ष भन्दै अस्पतालमा आएको भीडले चिकित्सकसमेतलाई आक्रमण गरेपछि अस्पताल प्रशासनले अस्पतालबाट प्रदान गरिने सबै सेवा बन्द गरेको छ । अस्पतालकोे इमेरजेन्सी सेवा समेत बन्द गरिएको छ ।

मृतकका आफन्तले दोषीलाई कारवाही गर्नुपर्ने र पीडितले क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै अस्पतालबाट शव नउठाएको अस्पतालका एक कर्मचारीले बताए । उनका अनुसार पीडित पक्षले शब अस्पतालबाट नउठाएपछि अस्पताल प्रशासनले इमेरजेन्सी सेवा बन्द गरेको थियो । मृतकका आफन्तले अस्पताल प्रशासन वार्तामा नआएसम्म शब नउठाउने बताएका छन् । साथै उनीहरुले अस्पतालमा धर्नामा समेत दिएका छन् ।

मृतक सार्कीको गत साता आइतबार महाकाली अञ्चल अस्पतालमा पाठेघरको अप्रेशन भएको उनका देवर बलराम सार्कीले बताए । अप्रेशन गरेको ३ दिनपछि बिरामी ठिक भईसकेको भन्दै अस्पताल प्रशासनले डिस्चार्ज गरिएको थियो । ‘बिरामीले आफूलाई सन्चो नभएको र केहि दिन अस्पतालमै उपचार गरिदिन आग्रह गरेपछि अस्पताल लगेका थियौं,’ उनले भने ।

सार्कीलाई दोस्रो  पटक उपचारका लागि शुक्रबार राति ११ बजे बिरामीलाई अस्पताल पुर्‍याइएको थियो । बिरामीको अवस्था नाजुक भएकाकाले रगत बाहिरबाट मगाए पनि नचढाइएको र चिकित्सकलाई पनि बिरामीका बारेमा जानकारी नगराइएको आफन्तको भनाई छ ।

पटक–पटक अप्रेशन गर्ने डाक्टरलाई बोलाउन आग्रह गर्दा पनि डुयुटीमा बसेका कर्मचारीले आफनो कुरा नसुनेको मृतकका आफन्तले बताए । ‘डाक्टरले हेरेको भए चित्त बुझाउने बाटो हुने थियो, समयमै यहाँ हुँदैन भनेको भए उपचारको लागि अर्को स्थानमा लगेर उपचार गर्ने थियौं’ मृतकका देवरले भने । यस बारेमा अस्पताल प्रशासन तथा चिकित्सक लागी सम्पर्क गर्दा फोन उठेन ।
अस्पतालमा वितण्डा
अस्पतालको कमजोरीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा वितण्डा मच्चाएका छन् । उनीहरुले अस्पतालका केही कर्मचारीसहित स्त्रीरोग विशेषज्ञ डा. हरिप्रसाद श्रेष्ठमाथि पनि आक्रमण गरेका छन् । आक्रमणबाट श्रेष्ठ घाइते भएका छन् । उपचारमा अस्पतालका कर्मचारीले लापरवाही गरेको र समयमा डाक्टरलाई खबर नगरिदिएको भन्दै आफन्तले अस्पतालमा आक्रमण नै गरेका थिए ।

प्रहरीको चरम लापरवाही
घटनाक्रम सुरु भएको करिब १ घण्टापछि अस्पताल पुगेको प्रहरीले वितण्डा शान्त पार्न प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरी पुग्नुअघि नै डा. श्रेष्ठ र कर्मचारी आक्रमणमा परिसकेका थिए । तर, सिंगो प्रकरणका बारेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले आफूलाई कुनै जानकारी नभएको गैरजिम्मेवार उत्तर दिएका छन् । उनले दुवै पक्षसँग आईतबार वार्ता हुने बताउँदै मानसखण्डको प्रश्नप्रति झारा टार्ने जवाफ दिए ।