८६८ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण १४ , ०८:४६ बजे

कक्षा ८ का विद्यार्थी पुस्तक बिना परीक्षाको तयारीमा

Image

महेन्द्रनगर । कृष्णपुर नगरपालिका वडा नम्बर २ वंक स्थित उदय उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी पुस्तकबिना परीक्षाको तयारीमा छन् ।  कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि सुरु हुँदैछ । तर, विद्यार्थीले अहिलेसम्म पुस्तक पाएका छैनन् । विद्यालयमा कक्षा ८ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

जसमध्ये २०/२५ जनाले पुस्तक नपाएको कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जयनारायण जोशीले बताए । उनका अनुसार विद्यार्थी नेपाली, समाजिक र अंग्रजी विषयको पुस्तक पाएका छैनन् । बुधबार विद्यालयमा अनुगमन गर्नेक्रममा विद्यार्थीसँग पुस्तक नभएको पइएको वडा अध्यक्ष जोशीले बताए ।

‘कक्षा ८ मा अधिकांस विद्यार्थीसँग पुस्तक थिएन्,’ अध्यक्ष जोशीले भने । उनका अनुसार उदय उच्च माध्यमिक यसको एक उदाहरण मात्र हो । शिक्षक र विद्यालय प्रशासनको गैरजिम्मेवारीपनले शिक्षामा समस्या पैदा भएको वडा अध्यक्ष जोशीले बताए । ‘अन्य विद्यालयमा पनि यस्ता समस्या होलान,’ उनले भने ।

विद्यालय निरीक्षणको क्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीको कोर्षसमेत शिक्षकले पूरा नपढाएको भेटिएको वडा अध्यक्ष जोशीले बताए । ‘कक्षा १० सम्म अधिकांश पुस्तकको पाठ्यक्रम पूरा भएको छैन्, अझै २÷३ एकाई पढाउन बाँकी छ,’ अध्यक्ष जोशीले भने । नयाँ शैक्षिक शत्रदेखि वडाका सम्पर्ण विद्यालयलाई व्यवस्थित गर्ने वडा अध्यक्ष जोशीले जानकारी दिए ।

‘प्रत्येक विद्यालयलाई नयाँ शैक्षिक सत्रमा वार्षिक कार्य योजना माग्छौं, कार्य योजना अनुसार काम नगर्ने शिक्षकको तलब रोक्छौं,’ उनले भने । कक्षा ८ मा केहि विद्यार्थी ढिला भर्ना भएकोले पुस्तकको व्यवस्थापन गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नाथले बताए ।

‘१५/२० जना विद्यार्थी ढिला भर्ना भए, शिक्षकहरुले नोट बनाए पढाउँदै छन्,’ उनले भने । पुस्तकालयमा पुस्तक नमिल्दा सबै विद्यार्थीलाई पुस्तक दिन नसकिएको प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए । उनका अनुसार विद्यार्थी ढिला भर्ना हुन तथा विद्यालयबाट पुस्तक हराउदा विद्यार्थीले पुस्तक पाएनन् । ‘कोर्ष बाँकी रहेका शिक्षकहरुले थप कक्षा सञ्चालन गर्छन्, प्रत्येक दिन २÷३ घण्टा समय तथ गरेका छौं,’ प्रअ जोशीले भने ।

जिल्ला शिक्षा कार्यालयले कक्षा १ देखि कक्षा १० सम्मको पुस्तक खरिदको लागि विद्यालयलाई २ लाख ३९ हजार रुपैयाँ दिएको थियो । तर, विद्यालयले २ लाख २५ हजार रुपैयाँको पुस्तक मात्र खरिद गरेको थियो । ‘पुस्तक खरिदका लागि बजेट भएपनि
बजारमा पुस्तक पाएनौं,’ प्रधानाध्यापक जोशीले भने ।