२०५१ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण ११ , १०:५१ बजे

जो अगुवा त्यहि बाटो ........!

Image

महेन्द्रनगर। कञ्चनपुरका सरकारी कार्यालय तथा निजी निवास, पसल जतातै सीसीटीभी छन् । युग अनुसार सीसीटीभी जडान गर्नु सामान्य हो । तर, नेपालको कानुनले अनुमतिविना ती क्यामेरा जडान गर्नु अवैधानिक भन्छ । सामान्य जनतालाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को अनुमतिविना सीसीटीभी जडान गर्नु अपराध हो भन्ने थाहा नहुन सक्छ । तर, आश्चर्य नमान्नुस् कञ्चनपुरको प्रशासनलाई समेत त्यो थाहा छैन ।

सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ लागु गाराउने जिम्मेवारी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । तर, कार्यविधिबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का अनभिज्ञ छन् । सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ बारे आफुलाई जानकारी नभएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘यस विषयमा मलाई जानकारी छैन्, सरकारी कार्यालयले सम्बन्धित विभागमा जानकारी दिनु पर्छ होला, कार्यविधि हेर्छु’ सीडीयो खड्काले भने ।

सीसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ लाई कार्यन्यवन ल्याउने जिम्मेवारी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । सरकारी कार्यालय, संघसंस्था र व्यक्तिले सीसीटीभी क्यामेरा जडान गर्दा अनिर्वाय जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने गृह मन्त्रालयका सह प्रबक्ता उमेशकुमार ढकाले बताए । उनका अनुसार अनुगमन र नियम विपरीत सीसीटीभी जडान भए/नभएको हेर्ने तथा कार्यान्वयन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको हुन्छ । ‘यसको अनुगमन जिल्ला प्रशासनले गर्नुपर्छ,’ उनले भने ।

कञ्चनपुरमा अहिलेसम्म ३ बैंकले मात्र जिल्ला प्रशासन कार्यालयबाट सीसीटीभी जडानको अनुमति लिएका छन् । एनएमबी बैंक, सिदार्थ बैंक र एसबिआइइ बैंकले मात्र अनुमति लिएर सीसीटीभी क्यामेरा जडान गरेको जिल्ला प्रशासन कार्यालयका स्थानीय प्रशासनफाँटका नायब सुब्बा मञ्जु विष्टले बताइन् । उनका अनुसार अन्य बैंक, सरकारी कार्यालय, पसल सञ्चालकले सीसीटीभीटी जडान लागि जिल्ल प्रशासन कार्यालयले अनुमति लिएका छैनन् ।

सरकारी कार्यालयले मौखिक रुपमा सीसीटीभी जडान गर्ने जानकारी दिएपनि सञ्चालनको लागि अनुमति नलिएको जिल्ला प्रशासन कार्यालयका मुद्धाफाँटका नायब सुब्बा पदमराज भट्टले बताए । उनका अनुसार भीमदत्त नगरपालिका, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, आन्तिरिक राजश्व कार्यालय, नापि कार्यालय र जिल्ला अदालत कार्यालयमा अनुमति बिना सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

कञ्चनपुरका अधिकांस सकारी कार्यालय, बैंक तथा निजी पसल, घरमा सीसीटिभी जडान गरिएका छन् । कार्यविधि २०७२ ले सीसीटीभी क्यामेरा जडानलाई प्रभावकारिता लागि जिल्ला प्रशासन कार्यालयलाई अनुगमनको जिम्मेवारी दिएको छ । तर, जिल्ला प्रशासन कार्यालयले अहिलेसम्मय जिल्ला कति सरकारी कार्यालय, संघ संस्था र व्यक्तिले सीसीटीभी क्यामेरा प्रयोग गरेका छन यसको तथ्याङ्क समेत राख्न सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालय अहिलेसम्म अनुगमन नगरेको स्वीकार मुद्धा फाँटका नायव सुब्बा भट्ट बताए । ‘अहिलेसम्म अनुमगन गरेका छैनौं, यसको बारेमा जानकारी नहुँदा गरिएन्,’ उनले भने । कञ्चनपुरको महेन्द्रनगरका अधिकांश सरकारी कार्यालय, बित्तिय संस्था, व्यापारिक प्रतिष्ठान, पसल, ब्यक्ति तथा संघसंस्थाले कानून बिपरीत सिसिटिभी/क्यामरा जडान गरि अबैध रुपमा प्रयोग गर्दै आएका छन् ।

सीसीटीभी क्यामेरा कार्यविधि विपरीत जडान तथा सञ्चालन गरेको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गरिने गृह मन्त्रालयका सहप्रबत्ता ढकालले बताए ।