१०१४ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण १० बिहीबार, १३:१९ बजे

जनप्रतिनिधिको लडाईंमा ढुकुटी स्वाहा हुँदै

Image

महेन्द्रनगर । कार्यालय राख्ने तमाम् विकल्प हुँदाहुदै जनप्रतिनिधिबीच कुरा नमिल्दा महाकाली नगरपालिकाको कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ । तत्कालिन दोधारा गाविसबाट निर्वाचित जनप्रतिनिधिले दोधाराभित्र र चाँदनी गाविस क्षेत्रबाट निर्वाचित जनप्रतीतनिधिले चाँदनीतर्फ नगरपालिका कार्यालय राख्न खोजेपछि अन्योलको अवस्था उत्पन्न भएको छ ।

नगरपालिका कार्यालय राख्ने स्थानका बारेमा जनप्रतिनिधिबीच सहमति नभएपछि नगरपालिकाले माकि ३० हजार रुपैयाँ भाडा तिरेर बस्नु परेको छ । नगरपालिकासँग दोधारा र चाँदनी दुबै क्षेत्रमा पर्याप्त जग्गा र पूर्वाधार भए पनि दुबै षेत्रका जनप्रतिनिधिको खिचातानी साम्य पार्न मध्यभागमा पर्ने हेल्थपोष्टमा भाडाको घर लिइएको हो ।

नगरपालिका केन्द्र राख्न जनप्रतिनिधिबीच खिचातानी जारी रहेको नगर प्रमुख बिरबहादुर सुुनारले बतााए । उनका अनुसार जनप्रतिनिधिले आ–आफ्नो पायक पर्ने स्थानमा नगरपालिका कार्यालय राख्न खोजेपछि भवन भाडामा लिएर सञ्चालन गरिएको हो ।

वडा नम्बर ४ चाँदनीमा नगरपालिकासँग ४ विघा जमिन भएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मानबहादुर कुँवरले बताए । उनका अनुसार चाँदनीमा नगरपालिकाका २ वटा भवन रहेका छन् । ‘अहिले नगरपालिकाको कार्यालयका लागि २ घर भाडामा लिएका छौं, एउटा जनप्रतिनिधि आउनुअघि लिएका थियौ’, कुँवरले भने ।

उनका अनुसार नगरपालिकाले प्रति भवनको १५ हजार रुपैयाँका दरले मासिक भाडा तिर्ने गरेको छ । नगरपरिषद्बाट भवन निर्माणका लागि १ करोड रुपैयाँ छुटाइएको वडा नम्बर १ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले बताए । उनले जनप्रतिनधिको खिचातानीका कारण भवन बनाउने स्थान तोक्न सकिएको छैन् । ‘सबै जनप्रतिनिधिले आफ्नो नजिक नगरपालिका कार्यालय होस् भन्ने चाहना राखेका छन्, त्यसैले निर्माण गर्न सकिएको छैन्,’ वडा अध्यक्ष भट्टले भने ।

साविकको चाँदनी गाविस रहेको स्थानमा २ वटा भवन रहेका वडा अध्यक्ष भट्टले बताए । उनका अनुसार एक भवनमा हलसहितका ५ कोठा छन् भने अर्को भवनमा ४ कोठा छन् । ‘हलसिहतको भवनमा १ देखि ५ नम्बरसम्मका संयुक्त वडा कार्यालय राखेका छौं, अर्को भवन खाली छ, जनप्रतिनिधको बीचमा कुरा मिले त्यसमा नगरपालिकाको कार्यालय राख्न सकिन्छ,’ वडा अध्यक्ष भट्टले भने ।

वडा नं. १० का वडा अध्यक्ष नरबहादुर सुनारले नगरपालिका कार्यालय सिंगो दोधारा–चाँदनी क्षेत्रका जनतालाई पायक पर्ने ठाउँमा हुनुपर्ने बताए । उनले हेल्थपोष्ट क्षेत्र नै सबैका लागि पायक भएको दावी गरेका छन् ।

एकै भवनमा ५ वटा वडा कार्यालय
वडा कार्यालयमा आवश्यक पर्ने समाग्री तयार पारिएको भएपनि कर्मचारीको अभावमा वडा कार्यालय स्थापना गर्न नसकिएको महाकाली नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत कुँवरले बताए । ‘वडा कार्यालयका लागि कम्प्युटर, कुर्ची खरिद गरेर राखेका छौं, कर्मचारी छैनन्, २ जना वडा सचिवको भरमा १० वटा वडा चलिरहेका छन्,’ उनले भने ।

८ वटा वडा कार्यालय सञ्चालन गर्न कर्मचारीको अभाव भएको निमित्त कुँवरले बताए । उनका अनुसार सबै १० वडाको काम हेर्न २ जना वडा सचिव र २ जना कार्यालय सहयोगी रहेका छन् । १ देखि ५ वडाको काम एउटा कार्यालय साविकको चाँदनी गाविस भवनमा रखिएका छन् भने र ६ देखि १० वडा कार्यालय सँयुक्त वडा कार्र्यालय तात्कालिन दोधारा गाविसको भवनमा चलिरहेका छन् ।

जनप्रतिनिधिले स्थानीय चुनावमा सिंहदरबारको अधिकार गाउँ–गाउँबाट प्रदान गरिने नारा लगाएका भएपनि सर्वसाधारण नागरिकलाई प्रभावकारी सेवा दिन सकेका छैनन् । नगर प्रमुख सुनारले हेल्थपोष्ट नजिकै रहेको महामाया पविमा नगरपालिका कार्यालय राख्ने निर्णय भए पनि सो विद्यालयको स्वामित्व हस्तान्तरणमा कानुनी अडचन आएको बताए ।

 


About Author
-होम योगी