३७८ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण ०९ बुधबार, १२:५६ बजे

कक्षा ८ को परीक्षा स्थानीय तहले गर्ने, कञ्चनपुरमा तयारी तीब्र

Image

महेन्द्रनगर  । चालु शैक्षिक सत्रको कक्षा ८ को जिल्लास्तरीय परीक्षा कञ्चनपुरका स्थानीय तह आफैले गर्ने भएका छन् । कञ्चनपुरका ९ वटै स्थानीय तहले कक्षा ८ को परीक्षा स्थानीय तहबाट गर्नको लागि आवश्यक तयारी गरिरहेका छन् । ९ वटै स्थानीय तहले परीक्षा सञ्चालन समिति पनि गठन गरिरहेका छन् । अधिकांश स्थानीय तहले परीक्षा सञ्चालन समिति गठन गरेर तयारी गरिरहेका छन् ।

परीक्षा समिति गठन गरेका स्थानीय तहले कक्षा ८ मा अध्ययनरत विद्यार्थीको तथ्याङ्क संकलन गरिरहेका जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । परीक्षाको सम्पूर्ण तयारी स्थानीय तहले गर्ने छन् भने परीक्षा सञ्चालन समितिलाई जिल्ला शिक्षा कार्यालयले सहजीकरण गर्ने छ । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले परीक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्न नसकिने पत्र पठाएपछि कञ्चनपुरका अधिकांश स्थानीय तहलाई आर्थिक व्यवस्थापन गर्न समस्या भएको बताइएको छ । जिल्ला शिक्षा कार्यालयले परीक्षा सञ्चालनका लागि बजेट दिन नसकिने भन्ने आशयको पत्र पठाएको महाकाली नगरपालिकाका प्रशासकीय अधिकृत मानबहादुर कुँवरले बताए ।

जिल्ला शिक्षा कार्यालयले परीक्षा सञ्चालन गर्छ भन्ने ठानेर बजेट नछुट्याउँटा बजेटको समस्या भएको नगर प्रमुख बीरबहादुर सुनारले बताए । ‘बजेटको अभावले अन्योलमा रहेका छौं, जिल्ला शिक्षा कार्यालयले बजेट नदिए कार्यापालिकाबाट निर्णय गरेर बजेटको व्यवस्थापन गर्छौ’ नगर प्रमुख सुनारले भने । कक्षा ८ को परीक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयलाई १० लाख रुेपैयाँको अख्तियारी आएको छ ।

शिक्षा विभागबाट आएको बजेट जिल्ला शिक्षा कार्यालयले स्थानीय तहललाई दिनुपर्ने बेदकोट नगरपालिका नगर प्रमुख अशोककुमार चन्दले बताए । ‘जिल्ला शिक्षा कार्यालयमा बजेट आएको छ, शिक्षा कार्यालयमा हुने अपारदर्शिता लुकाउन बजेट दिएको छैन्,’ नगरप्रमुख चन्दले भने । जिल्ला शिक्षा कार्यालयले बजेट नदिँदा अन्य शिर्षकबाट बजेट खर्च गर्नु परिहरेको उनले बताए ।
परीक्षा सञ्चालन समिति गठन
कञ्चनपुरका अधिकांश स्थानीय तहले  परीक्षा समिति गठन गरेका छन् । स्थानीय तहले प्रशासकीय अधिकृतको अध्यक्षतामा समति गठन गरिरहेका छन् । महाकाली नगरपालिकाले निमित्त प्रशासकीय अधिकृत मानबहादुर कुँवरको अध्यक्षतामा ५ जनाको परीक्षा सञ्चालन समिति गठन गरिएको छ । सदस्यमा स्रोत व्यक्ति उद्धब ठगुन्ना, शिक्षकको तर्फबाट कृष्णबहादुर चन्द, निजी विद्यालयको तर्फबाट प्रशान्त विष्ट र महिला सदस्यमा दुर्गा मल्ल रहेका छन् ।

बेदकोट नगरपालिकाले नगरपालिकाका प्रशासकीय अधिकृत धर्मराज जोशीको अध्यक्षतामा समिति गठन गरेको छ । लालझाँडी गाउँपालिकाले पनि परीक्षा समिति गठन गरेर तयारी गरिरहेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेमबहादुर सिंहको अध्यक्षतामा समितिको गठन गरिएको गाउँपालिका प्रमुख मदन बडायकले बताए । उनका अनुसार समतिमा स्रोत व्यक्ति हेमराज जोशी, शिक्षक बेदप्रसाद उपाध्याय, रमाकान्त उपाध्याय र गिता बडुसदस्य रहेका छन् । समितिले ५ वटा केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

लालझाडी गाउँपालिकामा फागुन २८ गते परीक्षा सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख बडायकले बताए । पुनर्वास नगपालिकाले विद्यार्थीको तथ्याङ्क संकलन गरिरहेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थी तथ्याङक संकलन गरेर प्रश्नपत्र बनाइने नगर प्रमुख जीवनराज थापाले बताए । ‘परीक्षाको तयारी त गरिरहेका छौं तर बजेट छैन्, शिक्षा विभागबाट आएको बजेट जिल्ला शिक्षा कार्यालय दिएको छैनन्, स्थानीय सरकारले परीक्षा सञ्चालन गर्दा बजेट दिन्न भन्न मिल्दैन’ नगर प्रमुख थापाले बताए ।

शिक्षाका कर्मचारी नहुँदा समस्या
कञ्चनपुरका ३ स्थानीय तहमा शिक्षाका कर्मचारी छैनन् । महाकाली नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा शिक्षाका कर्मचारी छैनन् । शिक्षाका कर्मचारी नहुँदा  परीक्षाको तयारी गर्न समस्या भएको महाकाली नगरपालिका निमित्त प्रशासकीय अधिकृत कुँवरले बताए ।

उनका अनुसार कर्मचारी नहुँदा नगरपालिकामा कक्षा ८ को परीक्षा दिने विद्यार्थी के कति छन् भन्ने विवरण उपलब्ध हुन सकेको छैन् । ‘स्रोत व्याक्तिको सहयोगमा काम गरिरहेका छौं, नगरपालिकाका शिक्षा सम्बन्धी अन्य काम गर्न सकिएको छैन्,’ उनले भने ।

कर्मचारी नहुँदा गाउँपालिका रहेका विद्यालयको अवस्था बुझ्न नसकिएको गाउँपालिका अध्यक्ष बडायकले बताए । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकारले नै परीक्षा सञ्चालन गर्ने उल्लेख भए पनि अधिकांश स्थानीय तहको कार्यालय र कर्मचारीको व्यवस्थापन नभएका कारण यो वर्षका लागि समस्या देखिएको हो । तर पनि सरकारले ऐनमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको हो ।

परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापनका विषयमा जिल्ला समन्वय समितिमा प्रस्तुति गरी समितिबाट हुने निर्णयको कार्यान्वयनमा आफूसँग उपलब्ध भएसम्मको आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्न शिक्षा विभागले सबै जिशिका र क्षेत्रीय शिक्षा निर्देशकलाई निर्देशन दिएको छ ।


About Author
-होम योगी