१५२५ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण ०९ , १२:३९ बजे

ठेकेदारी प्रथाको यो नमुना !

Image

महेन्द्रनगर । भाँसी–रौटेला सडक गरिएको कालोपत्रे गरेको एक हप्तामै भत्किएको छ । राजिपुरमा निर्माण भईरहेको ३ सय २७ मिटर सडक कालोपत्रे गरिएको हप्तादिनमै भत्किन थालेको हो । भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीका बाबुराम शर्माले गत हप्ता मात्रै कालोपत्रे गरिएको उक्त सडक भत्किन लागेको बताए ।

सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएको उनको आरोप छ । उक्त सडकक निमार्णका साईट ईन्जिनियर सन्तोष भण्डारीले कालोपत्रे  गरिएलगतैसडकमा भारी गाडी चलेकोले सडक भत्किएको बताए । उनका अनुसार सडक कालोपत्रे गरिएपछि ठूला सावरी साधन बन्द गर्नु पर्ने भए पनि वैकल्पिक बाटो नबनाइएकोलेसडक भत्किएको हो । नगरपालिकाले उक्त सडक पास नगर्ने ईन्जिनियर भण्डारीले बताए ।

निर्माणको जिम्मा पाएको ज्ञान निर्माण सेवाका ठेकेदार ज्ञानेन्द्र जोशीले सकड कालोपत्रे गरिएपछि तत्काल ठूला सवारी चलेकाले सडक भत्किएको दावी गरे । उनले सडकमा दैनिक सयौँका संख्यामा लोड गाडी चल्ने र वैकल्पिक बाटो व्यवस्थापन गर्न नसकिएको बताए । उनले कालोपत्रे गरिएको हप्तादिनमै सडक भत्किएको स्वीकार गर्दै भने, ‘नगरपालिकाले डाईभर्सनको उचित व्यवस्था गरेमा फेरि सडक कालोपत्रे गर्न तयार छु ।’

सडक डिभिजन कार्यालय कञ्चनपुरका ईन्जिनियर खगेन्द्र भट्टले कालोपत्रे गर्दा बेस कमजोर भए सडक भत्किने बताए । उनले कालोपत्रे गरिएको सडकमा तत्काल लोड सवारी चले पनि सडक भत्किने बताउदैँ भने, ‘सडकको जग कमजोर भए कालोपत्रे जस्तो गुणस्तरीय भएपनि सडक भत्किन्छ ।’ भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्षले आसेफ कुुवँरले लोड गाडी चलेकै कारण कालोपत्रे सडक भत्किएको बताए ।

उनले उक्त सडकमा दैनिक सयौँ लोड गाडी चुरे क्षेत्रबाट ढुङ्गा, माटो बोक्ने गरेका छन् ।  कालोपत्रे गरिएको सडक सेट नहुँदै गाडी चलेका सडक भत्किएको वडाध्यक्ष कुवँरको भनाई रहेको छ । उनले सडक फेरि कालोपत्रे गरिने बताए । उक्त सडक कालोपत्रेका लागि ज्ञान निर्माण सेवासँग गत भदौमा १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


About Author
-मानसखण्ड