३७७ पटक हेरिएको
प्रकाशित: २०७४ माघ २४ बुधबार, ०८:२५ बजे

किन गम्भीर छैनन् स्थानीय सरकार ?

Image

महेन्द्रनगर । नागरिकलाई राज्यले सहज सेवा प्रदान गर्ने उदेश्यले सरकारी कार्यालय अगाडी सबैले देख्ने र बुझ्ने भाषामा कार्यालयले प्रदान गर्ने सुवा सुविधा उल्लेखित बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, कञ्चनपुरका स्थानीय तहले बडापत्र राखेका छैनन् ।  कञ्चनपुरमा ९ वटा स्थानीय तह रहेका छन् ।

सबै स्थानीय तहले बडापत्र राखेका छैनन् । कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, माहाकाली नगरपालिका, बेलौरी नगरपालिका पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले बडापत्र राखेका छैनन् । नगरपालिका तथा गाउँपालिकाले कार्यालयमा बडापत्र नराख्दा
नगरपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सेवा र कुनै पनि सेवा लिन आवश्यक पर्ने कागजातका बिषयमा सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नगरपालिका तथा गाउँपालिबाट प्रदान गरिने अधिकांस सेवा सुविधा वडा कार्यालयबाट गरिन थालिएका छन् । तर, सर्व सधारण नागरिकले नगरपालिका र वडा कार्यालयबाट के कस्ता सेवा प्रदान गरिन्छ भन्ने विषयमा अनविज्ञ छन् ।यस्तो अवस्थामा नगरपालिकाले बडापत्र नराख्दा सर्व सधारण नगरिक झन अल्मलमा पर्ने गरेका छन् ।

भीमदत्त नगरपालिका र भीमदत्त नगरपालिकाका सबै वडा कार्यालयको बडापत्र निर्माण भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । ‘नगरपालिकाको कार्यविधि तयार गर्दा बडापत्र राख्न ढिला भएको हो, बनिरहेको छ, २/३ दिनमा बडा पत्र वडा कार्यालय र नगरपालिकामा राख्छौं,’ नगर प्रमु्ख विष्टले भने । बेदकोट नगरपालिकाले वडा कार्यालयमा बडा पत्र राखे पनि
नगरपालिकाको कार्यालयमा बडापत्र नराखेको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्दले बताए ।

दैनिक काम काज सबै वडा कार्यालयमा हुने भएकोले वडा कार्यालयमा बडापत्र राखिएको बताए । ‘नगरपालिकामा बडापत्र राख्ने तयारी गरेको छौं, अहिले नगरपालिकामा पुरानै बडापत्र छ,’ नगर प्रमुख चन्दले भने । महाकाली नगरपालिकामा ५/६ दिनभित्र बडापत्र बनाएर राख्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख बीरबहादुर सुनारले बताए ।

उनका अनुसार नगरपालिका र वडा कार्यालयमा बडापत्र राखिएको छैन् । ‘नगरपालिकाको अन्य काम र जनशक्तिको अभावमा बडापत्र राख्न ढिला भयो,’ उनले भने । कृष्णपुर नगरपालिकामा भएको बडापत्र हावाले उडाएको नगर प्रमुख कर्ण हमालले बताए । बडापत्र नयाँ संरचना अनुसार बनाउनुपर्ने भएकोले बडापत्र राख्न ढिलाई भएको कृष्णपुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रेम बोगटीले बताए । ‘३/४ दिनमा बडा पत्र बनाएर वडा कार्यालय र नगरपालिकामा राख्छौं,’ उनले भने ।

लालझाडी गाउँपालिको भवन मर्मत भइरहेकोले बडापत्र नराखिएको गाउँपालिका प्रमुख मदन बडायकले बताए । ‘कार्यलय मर्मत गरिरहेका छौं, मर्मत गर्न १/२ महिना लाग्छ, त्यपछि राख्छौं, वडा कार्यालयमा २/३ दिनभित्र बनाएर राख्छौं,’ गाउँपालिका प्रमुख बडायकले भने । बेलडाँडी गाउँपालिकामा पुरनो बडापत्र भएपनि नयाँ संरचना अनुसारको बडापत्र नभएको गाउँपालिका प्रमुख धनबादुर थापाले बताए । ‘नगरपालिका वडा कार्यालयको चाडै बडापत्र बनाएर लगाउँछौं’ उनले भने ।

बेलौरी नगरपालिकामा पनि बडा पत्र राखिएको छैन् । नगरपालिको अन्य काममा व्यस्त भएकोले बडापत्र राख्न ढिला भएको पोतीलाल चौधरीले बताए । ‘४/५ दिनमा नगरपालिका र वडा कार्यालयमा बडापत्र राख्छौं,’ उनले भने । ४/५ महिनाको लागि भवन भाडामा लिएर नगरपालिका र वडा कार्यालय सञ्चालन गरिरहेकोले बडापत्र नराखिएको शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐरले बताए ।

उनका अनुसार नगरपालिकाको आफ्नो भवन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले कार्यालय सार्ने तयारी भएकोले बडापत्र राख्न ढिलाइ भएको हो । ‘माघ २६ गते नगरपालिका आफ्नै भवनमा नगरपालिका कार्यालय सार्ने तयारी गरेका छौं, नयाँ बनिरहेको कार्यालयमा बडापत्र बनाइरहेका छौं,’ नगर प्रमुख ऐरले भने ।


About Author
-होम योगी