१७४७ पटक हेरिएको
प्रकाशित: २०७४ माघ ११ , ०९:०८ बजे

टनकपुर लिंकरोडको निर्माण तीव्र

Image

 महेन्द्रनगर । महेन्द्रनगरदेखि टनकपुर जोड्ने टनकपुर लिङ्क रोडको निमार्ण कार्य तीव्र गतिमा भईरहेको छ । सडक डिभिजन कार्यालय कञ्चपुरका ईन्जिनियर किरण सुवेदीले अहिले सम्म लिङ्करोडको ३० प्रतिशत निमार्ण कार्य सम्पन्न भर्ईसकेको बताए । 

गत फागुनबाट निर्माण कार्य भएको टनकपुर सडकको पहिलो चरणको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । ईन्जिनियर सुवेदीका अनुसार सडक निमार्णको पहिलो चरण अन्तर्गत माटो भरान, ग्राभेल, कलभर्ट निर्माण र सडकको बेस निर्माणको कार्य अन्तिम चरणमा छ । त्यस्तै मूल नहरको पुलको निर्माण भईसकेको छ भने तीन वटा पुल निर्माणाधिन रहेको ईन्जिनियर सुवेदीले बताए ।

साढे १२ किलो मिटर लामो उक्त सडक ९ मिटर चौडाई बनाइदै छ । जसमा सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने र एक÷एक मिटर दाँया बाँया सोल्जरीङ् गरिने छ । लामा राजेन्द्र जेभी निर्माण कम्पनीले लिङ्क रोडको निर्माणको जिम्मा पाएको छ । २ करोड ९५ लाख १२ हजार ७ सय रुपैयाँ बजेट रहेको उक्त योजनामा अहिलेसम्म ४ करोड ८१ लाख ५० हजार रुपयाँ खर्च भईसकेको ईन्जिनियर सुवेदीले बताए । उनका अनुसार सडक र त्यसमा बन्ने पुलको छुट्टाछट्टै बजेट विनियोजन गरी निर्माण कार्य भईरहेको छ ।

सो सडकमा पर्ने कामीकाटे खोला–१ मा बन्ने पुलका लागि ३ करोड २१ लाख र कामीकाटे खोला–२ मा बन्ने पुलका लागि २ करोड २१ लाख रुपैयाको ठेक्का सम्झौता भएको छ । त्यस्तै तिलाचौर खोलामा बन्ने पुलका लागि २ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण कार्य
भईरहेको छ ।

ईन्जिनियर सुवेदीले सडक निर्माणका लागि अुनुकूल वातावरण बनेकाले निर्माण तीव्र गतिमा भईरहेको बताए । २०७६ भदौसम्ममा सडकको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनले बताए । उनले कतिपय विद्युतका पोलहरु सडकमा परेकाले निर्माणमा असहजता हुन सक्ने बताउदैँ सुवेदीले भने, ‘सडकमा विद्युतका पोल परेको छन्, पोल हटाउन विद्युत कार्यालयसँग समन्यय गरिरहेका छौँ ।’