१३८४ पटक हेरिएको
प्रकाशित: २०७४ पौष १२ बुधबार, ११:१० बजे

छाडा चौपाया विकराल समस्या बन्दै !

Image

महेन्द्रनगर। ७ नम्बर प्रदेशको तराईका जिल्लामा छाडा चौपायाको समस्या जटिल बन्दै गइरहेको छ । यस प्रदेशका प्रायः सबै नगरपालिका र गाउँपालिका अहिले छाडा छोडिएका गाई गोरुका कारण तनावमा छन् । प्रदेशका मुख्य सहरी क्षेत्र धनगढी, महेन्द्रनगर, टीकापुर मात्रै होइन साना बजार तथा गाउँहरूमा समेत छाडा चौपायाका कारण किसानहरूको निंन्दां राम भएको छ ।

छाडा चौपायाको समस्या साझै स्थानीय तहको टाउको दुखाई बनेको छ । ८ महनिाअघि निर्वाचित स्थानीय सरकारहरूको क्षमताले यो समस्या हल गर्न नसकिने देखिएको छ । हजारौंको संख्यामा छाडिएका गाइगोरुको व्यवस्थापनमा करोडौं रुपिया लाग्ने देखिन्छ । स्थानीय तहले विनियोजन गरेको रकम भने बढीमा ५० लाख रुपैयाँ रहेको छ ।

भीमदत्त नगरपालिकामा मात्रै अहिले ५ हजार गाई गोरु छाडा भएको अनुमान गरिएको छ । ती सबैको व्यवस्थापन गर्ने हो भने गोठ तथा चरन व्यवस्थापनबाहेक प्रतिदिन कम्तीमा ५ लाख रुपैयाँ खर्च हुने देखिन्छ । अर्थात्, मासिक डेढ करोड रुपैयाँ नभएसम्म अहिलेको संख्यामा रहेका छाडा चौपायाको व्यवस्थापन नहुने देखिएको हो ।

अहिलेका छाडा चौपाया व्यवस्थापन गरेर मात्रै समस्या समाधान गर्ने हो भने पनि समस्या झन् चर्केर नजाला भन्न सकिन्न । अहिलेसम्म गोठमा बाँधिएका थप चौपाया सडकमा नपुर्‍याइएलान् भन्ने अवस्था पनि छैन । नगरपालिकाले छाडा चौपाया व्यवस्थापन थालेको समाचार सार्वजनिक हुनेवित्तिकै सडकमा सयौं चौपाया छोड्ने गरिएको छ । स्थानीय तहको निर्वाचनलगत्तै ठूलो संख्यामा चौपाया छाडा छोडिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि त्यो संख्या झन् बढेर गएको छ ।

नगरपालिका तथा गाउँपालिकाहरूलेले छाडा चौपाया व्यवस्थापनका लागि काम गरिरहेका पनि छन् । तर, विनियोजित रकमले खोर मात्रै बनाउन सकिने देखिन्छ । ती चौपायाको भरणपोषण गर्ने हो भने भीमदत्त नगरपालिकाले वार्षिक कम्तीमा ३० करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । करिब एक अर्ब रुपैयाँ बजेट भएको सो नगरपालिकाले यो समस्याका लागि मात्रै ३० प्रतिशत रकम खर्च गरेमा विकास निर्माण अवरुद्ध हुने प्रष्ट छ । अन्य नगरपालिका तथा गाउँपालिकाको पनि अवस्था लगभग उस्तै देखिन्छ ।

गाउँघरबाट चौपाया डोर्‍याएर नगरपालिका तथा खुला स्थानमा छोडिदिने क्रम जारी छ । व्यवस्थापनको लागि स्थानीय तहले कदम चालेको समाचार सार्वजनिक हुनेवित्तिकै यो क्रम झन् बढ्ने गरेको छ । छाडा चौपायाका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रका किसानहरू जाग्राम बस्नु पर्ने अवस्था आएको छ । कतिपय स्थानमा छाडा गाईबस्तुले बालीनाली सखाप पारेका छन् ।

समस्याको मूल जरो !
कैलाली र कञ्चनपुरमा छाडा चौपाया विकराल समस्याको कारण छिमेकी राष्टू भारतमा गाईगारुको खरिद बिक्री, ओसारपसारमा लगाइएको प्रतिवन्ध मुख्य देखिन्छ । भारतको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको सरकार बनेपछि त्यहाँ गाईगोरु ओसारपसारमा रोक लगाइएको छ ।

मेरठ र मोरादावादमा रहेका वधशालाा पनि बन्द गरिएका छन् । ती वधशालामा काटिने गाईगोरुको मासु निर्यात गरेर भारतले उल्लेख्य आम्दानी गर्दै आएको थियो । उत्तरप्रदेशमा गाईगोरु ओसारपसार समेत प्रतिवन्ध गरिएपछि नेपालबाट निकासी पनि रोकिएको हो ।

नेपालमा पनि अतिहिन्दुवादी र तथाकथित गोरक्षा अभियानका कारण समस्या आएको छ । गाइृलाई पवित्र मान्ने तर दुध दिन छाडेपछि सडकमा छोडिदिने प्रवृत्ति पनि दोषी देखिएको छ । अर्कोतर्फ जग्गाजमिन नभए पनि गाई पाल्ने प्रवृत्ति पनि यो समस्याको लागि जिम्मेवार देखिएको छ ।

सहरबजारमा डेरा गरी बस्नेले पनि दुधका लागि गाई पाल्ने र गाई थाकेपछि सडकमा छाडिदिने घटना पनि पाइएका छन् । सहरी क्षेत्रका धनाढ्य तथा बुद्धिजीविले समेत दुधका लागि गाइपाल्ने गरेका छन् । उनीहरू बाच्छाबाच्छी घरमा बाँध्छन्, गाई छाडा छोड्छन् । विहान र बेलुका दुध दुहुने तर गाईको पालनपोषणमा कुनै कुनै किसिमको ध्यान नदिने गरेको पाइएको छ ।

कहाँ हराए गोरक्षक ?
केही वर्षअघि गारक्षा आन्दोलन चलाएर नेपालका गाईगोरु निकासी हुन नदिने तथाकथित धार्मिक समूह अहिले वेपत्ता अवस्थामा छ । चिसो तथा आहारा /पानीको अभावले गाईगोरु मर्ने क्रम जारी रहे पनि कहिंकतै कुनै पनि समूहले गाईगोरुको अवस्थाप्रति चिन्ता देखाएको छैन ।

महेन्द्रनगरको हेल्प नेपाल नाम संस्थाले प्रयास थाले पनि आर्थिक तथा क्षमतागत सीमितताले मरणासन्न गाईगोरुको समेत हेरचाह गर्न सकेको छैन । गोरक्षा तथा हिन्दी धर्मको दुहाई दिने संघ(गंठन यतिबेला फरार जस्तै छन् । सामाजिक तथा धार्मिक स्तरबाट गाईको रक्षाका लागि कुनै पहल भएको देखिन्न ।

राजनीति गरिंदै !
छाडा चौपाया अहिले स्थानीय राजनीतिको विषय बनेको छ । सानै रुपमा भए पनि यो समस्या धेरै पहिलेदेखि विद्यमान थियो । तर, स्थानीय तहको निर्वाचन भएपछि बढेको छ । स्थानीय तहमा हारेका दलले जितेका दलका जनप्रतिनिधिलाई समस्यामा फसाउन हल्ला फिजाएर गोठमा चौपाया सडकमा ल्याउन उक्साएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि यो क्रम जारी छ । जुन स्थानमा जो हारेको छ उसले जित्नेविरुद्ध मुद्दा बनाउन चौपाया छाडा बनाउने क्रियालाई उक्साएका छन् ।

निष्कर्ष :
छाडा चौपाया राजनीतिक तथा धार्मिक कारणले समस्या बने पनि अहिले यो आर्थिक(सामाजिक समस्या बनेको छ । स्थानीय तहले यसको व्यवस्थापन गर्ने हो भने अर्बौ रुपैयाँ लाग्ने देखिन्छ । विकासका सबै काम रोकेर यो समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी छैन किनभने दुध आउञ्जेल पाल्ने थोपछि वा थारो भएपछि सडकमा धपाउने प्रवृत्ति अन्त्य हुन्छ भन्ने ग्यारेन्टी छैन ।

अहिले गोठमा रहेका लाखौं गाईगोरु भोलि छाडा बनाइन्नन् भन्ने सुनिश्चितता पनि छैन । यो समस्या नियन्त्रण गर्नका लागि स्थानीय तहमा बजेट पनि छैन । भीमदत्त नगरपालिकाले सबै वडाका एक–एक घरको सर्वेक्षण गरी गाईबस्तुको लगत लिइसकेको छ । तर, कुन गोठबाट कहिले कति चौपाया हराए भन्ने अनुगमन गर्न सजिलो छैन । गर्ने हो भने यसैमा पनि करोडौं खर्च हुन्छ ।

सारमा यो समस्या व्यक्तिसँग जोडिएको छ । दुधका लागि गाई पाल्ने थाके वा थारो भए छोड््ने प्रवृत्तिको अन्त्य नभएसमम यो समस्या सकिने देखिन्न । हो, गाई प्रजाति नै सकिने खतरा छ किनभने अब समाजमा गाई पाल्नु फाइदा होइन घाटाको काम मान्न थालिएको छ ।


About Author
-मानसखण्ड