१५९९ पटक हेरिएको
प्रकाशित: २०७४ पौष ०८ , १६:१८ बजे

चिसोले छाडा चौपाया मर्दै

Image

हल्लाले भीमदत्त नगरपालिका हैरान महेन्द्रनगर ।
महेन्द्रनगर । भीमदत्त नगरपालिका छाडा चौपाया नियन्त्रणको कामको अन्तिम चरणमा पुगेका बेला फेरि गाउँघरबाट गाई–गोरु बजार ल्याएर नगरपालिका अगाडि छोड्ने क्रम बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै वडाहरुमा चौपाया नगरपालिका पुर्‍याए पैसा पाइने हल्ला चलेको बताइएको छ ।

नगरपालिकामा दिनहुँ दर्जनौंको संख्यामा विभिन्न वडाबाट गाइगोरु ल्याई छोड्ने गरिएको छ । नगरपालिकाका कर्मचारीहरुका अनुसार पुर्‍याउन आउनेहरुले एउटा गाई वा गोरुको २ सय रुपैयाँ पाइने सुनेकाले गाउँघरका छाडा चौपाया ल्याउनेको संख्या बढिरहेको बताएका छन् ।

भीमदत्त–५ बाट ४ वटा गाई ल्याएर आएकी एक महिलाले पनि पैसा पाउने हल्ला चलेपछि आफूले गाई ल्याएर आएको बताइन् । तर, नगरपालिकाले भने गाउँका छाडा चौपाया ल्याए कुनै पैसा पाइने हल्ला गलत भएको बताएको छ । भीमदत्त नगरपालिकाले वडा नम्बर १९ मा छाडाचौपाया व्यवस्थापनका लागि निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।
मर्न थाले गाईगोरु
कञ्चनपुरमा चिसो बढेसँगै छाडा रुपमा छोडिएका गाईगोरु चिसोका कारण मर्न थालेका छन् । कृष्णपुर नगरपालिकामा रहेका छाडा पशु चौपाया चिसोका कारण मर्न थालेको स्थानीयले बताएका छन् । कृष्णपुर नगरपालिकाले अस्थायी रुपमा कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका छाडा चौपाया हाउसमा व्यवस्थापन गरेपनि छाडा गाई गोरु मर्न लागेको कृष्णपुर नगरपालिका ५ गुलरीयाका राजेश भट्टले बताए ।

‘नगरपालिकाले अस्थायी रुपमा खोर बनाएर नगर क्षेत्रका २/३ सय छाडा चौपाया व्यवस्थापन गर्‍यो, चिसोबाट बचाउन नसक्दा मर्न लगेका छन्’ उनले भने । १०/१५ दिन मै ६/७ वटा गाईगोरु मरेको उनले बताए । ‘गाईगोरु मर्दै छन्, झन् आजभोली चिसो बढेको छ’ उनले भने । ‘छाडा चौपायाको लागि खाना, पानी, व्यवस्थापन गरेको छैन्, खुल्ला ठाउँमा रोडको छेउमा तारबार लगाएर राखेको छ,’ उनले भने ।

रोडमा मरेका छाडा चौपायको समेत व्यवस्थापन नभएको उनले बताए । ‘नजिकका बस्तीमा बस्न समेत गाह्रो भएको छ,’ उनले भने । नगर क्षेत्रमा रहेका सबै छाडा चौपायाको व्यवस्थापन नहुदा गहु बाली नष्ट भईरहेको स्थानीय दिपक जोशीले बताए ।  नगरपालिका क्षेत्रमा रहेका ६ सय छाडा चौपाया पहिलो चरण अन्तर्गत व्यवस्थापन गरिएको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण हमालले बताए । ‘नगर क्षेत्रका ६ सय छाडा चौपाया अस्थायी काञ्जी हाउस निर्माण गरेर व्यवस्थापन गरेका छौं, अरुलाई व्यवस्थापन गर्छौं’ उनले भने ।

एक हप्तामा अस्थायी गौशाला बनाएर काञ्जी हाउसमा रहेका छाडा चौपायालाई व्यवस्थापन गर्ने बताए । ‘अहिले काञ्जी हाउसमा खुल्ला ठाउँमा  राखेका छौं, एक हप्तापछि चारवटै काञ्जी हाउसका गाई गोरु अस्थायी गौशालामा
राख्छौं’ उनले भने । चिसोका कारण छाडा चौपाया मरिरहेको उनले बताए । ‘खुल्ला स्थानमा राखेका छौं, बुढा पाका गाईगोरु मरिरहेका छन्’ उनले भने ।

मेयर हमालका अनुसार कृष्णपुर नगरपालिका ५ मा रहेको वनदेवि सामुदायिक वन, वाणीमा १, वंकमा १ र एकता समुदायिक वनमा १ काञ्जी हाउस निर्माण गरेर प्रत्येकमा १/१ सय छाडा पशु राखिएका छन् । त्यस्तै शुक्लाफाँटा नगरपालिकामा पनि काञ्जी हाउँसमा राखिएका पशु चौपाया मर्न थालेका छन् । दैनिक ५/६ वटा पशु चौपाया मरिरहेको वडा नम्बर १ का वडा सदस्य उत्तरदत्त भट्टले बताए ।

‘नगरपालिकाले बनहरा पुल नजिकमा तारबार लगाएर खोरमा राखेको छ, चिसोले मरिहरेका छन्,’ उनले भने । स्थायी गौशाला बनाउने भने पनि नगरपालिकाले कुनै तयारी सुरु नगरेको उनले बताए ।  ‘क्लबको जिम्मा दिएर निर्माण गर्दै छौं भनेको छ नगरपालिकाले, अहिलेसम्म कुनै तयारी भएको छैन्, नगरपालिका प्रमुखले वडा नम्बर ११ का वडा अध्यक्षलाई छाडा पशुचौपाया व्यवस्थापन गर्ने जिम्म दिएको छ’ उनले भने ।

चौपायालाई चिसोबाट बचाउने प्रयासमा लगेको नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘शीतबाट बचाउँन त्रिपालको व्यवस्थापन गरिरहेका छौं,’ उनले भने । स्थायी रुपमा व्यवस्थापन गर्नको लागि न्यू राईजिङ युवा क्लबसँग सम्झौता भएको उनले बताए । ‘कल्बसँग व्यवस्थापन गर्ने सहमति भएको छ, कल्वले स्टमेट तयार पारिरहेको छ, केही दिनमा नै काम सुरु हुन्छ’ उनले भने ।

उनका अनुसार कल्बले ४ सय छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा लिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १०, ५ र ११ का स्थानीय पशु चौपाया छोडिरहेको उनले बताए । ‘जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरिहरेका छौं, छोड्नेलाई कारबाही समेत गर्ने चेतावनी दिएका छौं’ उनले भने ।