३६५ पटक हेरिएको
प्रकाशित: २०७४ पौष ०८ , १५:३१ बजे

महेन्द्रनगरमा माघ ५ र ६ गते विराट सत्संग समारोह हुने

Image

महेन्द्रनगर। आगामी माघ ५ र ६ गते महेन्द्रनगर खुलामञ्चमा नेपाल मानव धर्म सेवा समितिले विराट सत्संग समारोह गर्ने भएको छ । महेन्द्रनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै समितिले समारोह आयोजना हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोदकुमार शर्माले समारोहबाट आध्यात्मिक जागरण र प्रेरणा मिल्ने बताए । ‘विराट सत्संग समारोहको तयारीका लागि काम भइरहेको छ,’ उनले भने । समारोहमा मानव धर्मका प्रणेता सतपाल जी महाराजसहित सय बढी सन्तमहात्मा र हजारौं भक्तजनको सहभागिता हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा वितरित समारोह मूल समिति संयोजक महात्मा गिरी वाइजी र महाकाली अञ्चल आश्रम अध्यक्ष गणेशप्रसाद भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा समारोहमा अनुमानित ६० हजार भक्तजनको सहभागिता हुने उल्लेख छ । ‘समाजमा आध्यात्मिक जागरण विस्तार गर्दै आत्मज्ञानको प्रचारप्रसार गर्नु मानव धर्मको प्रमुख उद्देश्य हो ।

मानव धर्मले वैदिक सनातनदेखि चलिआएका अनेक धर्मको सार तत्वबारे जानकारी गराउँदै धार्मिक एकता र एकरुपताका लागि भूमिका निर्वाह गर्दै आएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘आध्यात्मिक जागरण अभिबृद्धिकै लागि महेन्द्रनगरमा विराट सत्संग समारोह हुन लागेको हो ।’ नेपाल मानव धर्म सेवा समितिका केन्द्र प्रमुख महात्मा चमेली वाइजी मूल संयोजक रहेको ५७ सदस्यीय मुल समारोह समिति गठन गरेर तयारीको काम भइरहेको अञ्चल आश्रम अध्यक्ष गणेशप्रसाद भट्टले बताए ।

उनका अनुसार मूल समारोह समिति मातहत मूल व्यवस्थापन समिति, समारोह अनुमति व्यवस्थापन, समारोह सचिवालय, कोष व्यवस्थापन, मिडिया विभाग, सूचना केन्द्र, होटल तथा धर्मशाला व्यवस्थापन, सवारीसाधन व्यवस्थापन, दिव्य सवारी व्यवस्थापन, ईन्धन व्यवस्थापन, सवारी पार्किङ्ग, कार्यक्रम सञ्चालन, व्याक स्टेज व्यवस्थापन, उपदेश व्यवस्थापन, प्रवेशपत्र वितरण, साउण्ड सिस्टम व्यवस्थापन, मञ्च तथा पण्डाल निर्माण, दिव्य आवास निर्माण, सन्त महात्मा व्यवस्थापन, शौचालय निर्माण तथा सञ्चालन/व्यवस्थापन, स्वयंसेवक दल कार्यालय, युवा संगठन कार्यालय, ट्राफिक व्यवस्थापन, सरसफाई व्यवस्थापन, कार्यक्रम स्थल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन, पिउने पानी तथा सरसफाई व्यवस्थापन लगायतका ६२ समितिले तयारीको काम गरिरहेका छन् ।

‘समारोहमा अनुमानित ६० हजार भक्तजनको सहभागिता हुने भएकाले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण जिल्लावासी दाजुभाई दिदीबहिनीको सक्रिय सहभागिता र सहयोग आवश्यक पर्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘समारोहलाई सफल पार्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायी, सामुदायिक संघसंगठन तथा सञ्चारमाध्यमले आवश्यक सहयोग गर्ने छन् भन्ने आशा गरेका छौं ।’

समारोहमा भक्ति संगीत, सांस्कृतिक कार्यक्रम, प्रवचन, भगवत् चर्चा लगायत कार्यक्रम हुने महात्मा चाँदना वाइजीले बताइन् । मानव धर्मले आत्मज्ञानको प्रचारप्रसार सँगसँगै शिक्षा, सरसफाई, रक्तदान अभियान लगायतका सामाजिक काम समेत गर्दै आएको केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोदकुमार शर्माले बताए ।

विराट सत्संग समारोह हुँदा धार्मिक कार्यक्रम सँगसँगै पर्यटन, ब्यापार क्षेत्रलाई समेत फाइदा पुग्ने शर्माले बताए । ‘हजारौं भक्तजन महेन्द्रनगरमा आउँदा आर्थिक कारोबार र ब्यापार हुन्छ,’ शर्माले भने, ‘नेपालका विभिन्न जिल्ला तथा भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट हजारौं भक्तजन कार्यक्रममा सहभागी हुन आउने छन् ।’

माघ ५ र ६ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म औपचारिक कार्यक्रम र प्रवचन हुने जनाइएको छ । कार्यक्रममा अनुमानित ३५/ ४० लाख रुपैयाँ खर्च हुने अध्यक्ष गणेशप्रसाद भट्टले बताए । उनका अनुसार कार्यक्रमको तयारीका लागि सोमबार महेन्द्रनगरमा सर्वपक्षीय बैंठक गरिँदैछ । कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष यज्ञराज भट्टले गरेका
थिए ।


About Author
-मानसखण्ड