९२१ पटक हेरिएको
प्रकाशित: २०७४ मंसिर १६ , ११:१४ बजे

मृत्यु भएका र कतार गएका मतदाताको मत कसरी खस्यो ?

Image

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ को मतदाता क्रम संख्या नम्बर ७ सय १६ का लोकेन्द्र भारती कतार गएको २ वर्ष भयो । तर, मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा लोकेन्द्रको नामबाट सायलको सारेदेउ बुथ केन्द्रबाट मत खसेको छ ।

आफ्नो नामबाट कसले मत खसायो भन्ने उनलार्ई पत्तो छैन । बुढीगंगा नगरपालिका–६ को मतदाता क्रम संख्या १३ का आइते सार्कीको मृत्यु भइसकेको छ । उनको नाममा पनि सोही बुथबाट मत खसेको छ । उनी लगायतका केही मृतकको नाममा पनि मत खसेका छन् ।

मतदाता क्रम संख्या नम्बर ८६७ का शिद्धराज जैशी मष्टेश्वरी मावि मतदान केन्द्रका मतदान अधिकृत थिए । तर, उनको नाममा पनि मतदान भएको छ । मतदाता क्रम संख्या ४७५ का पे्रमराज जैशी पनि निर्वाचनमा खटिएका थिए । मतदाता क्रम संख्या नम्बर ९ सय ५ का हिक्मतबहादुर शाह पनि निर्वाचनमा खटिएका थिए । तर, उनको नाममा पनि मत खसेको छ भने मतदाता क्रम संख्या ७ सय ७२ का शेरबहादुर थापा लगायतका व्यक्ति सशस्त्र प्रहरीमा कार्यरत भई जिल्ला बाहिर छन्, उनका नाममा पनि मतदान भएको छ ।

मतदाता क्रम संख्या नम्बर ३ सय ३२ का धर्मराज जैशी पशुपंक्षि मन्त्रालयमा कार्यरत छन् । उनको नाममा पनि बाजुराको सारेदेउ बुथमा मतदान भएको छ । मतदाता क्रम संख्या ४ सय ७५ का पे्रमराज जैशी पनि ‘पिस क्रेटर जोन एकेडमी’ पाण्डुसैनको सहायक मतदान अधिकृतमा थिए, उनको नाममा मतदान भएको छ । ‘हामी खाना खाएर मतदान गर्न सारेदेउ गयौं, हामी पुग्दा आफ्नो नाममा सबै मत खसाएको भेटायौं, हाम्रो पनि मतदान गर्ने अधिकार छ भनि झगडा गरेपछि अर्काकै नाममा भएपनि मत खसाएर आए,’ बेलकाटीयाकी १ महिला मतदाताले भनिन्, ‘सबैका नामावलीमा २–४ जनाले मतदान गरे, यस्तो चुनाव कहिल्यै भएन ।

सायलमा ९ सय २० मतदाता संख्यामा ९ सय १२ मत खसेका छन् । १७ जना सरकारी कर्मचारी छन्, ती सबै निर्वाचनमा खटिएका छन् । कतिपय विदेश छन् भने केही मरेका छन् । मरेका–जिउदा सबैको नाममा केही व्यक्तिले एकलौटी मतदान गरेको स्थानीय मतदाताले बताएका छन् । एउटै बुथमा यस्तो भएको बेला जिल्लाका १ सय मतदान केन्द्रबाट कति फर्जी मत खसे होलान् ? अनुमान गर्न सकिन्छ ।

साविकको ब्रह्मतोला गाविसका प्राविधिक सहायक वसन्त थापा निर्वाचनमा खटिएका थिए, उनको नामबाट पनि मतदान भएको छ । त्रिशक्ति माविको मतदान केन्द्रमा १ जनाले ५० पटक मत हालेको खुलेको छ । सर्वाधिक बुथ कब्जा हुने भनिएको थुमा माविका बुथमा भने यसपालि विगत जस्तो बुथ कब्जा गर्न नसके तापनि केही फर्जी मत खसेको आरोप छ ।

‘वाम गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश शाह थुमा माविको बुथमा गएर बसेपछि फर्जी मत न्यून रह्यो,’ एक मतदाताले भने । कुनै दलका एजेण्ट मौन बस्नु र कुनै दलको एजेण्टले मतदाताको हातबाट मत खोसेर मत हाल्नुले यस्तो परिस्थिति आएको मतदान अधिकृतको भनाई छ । ‘एजेण्टबाट ओके भएर आएपछि हामीले मत खसाल्न दिनैपर्‍यो,’ एक जना मतदान अधिकृतले भने । मतदानमा खटिएका कर्मचारीले बाजुराको जस्तो मतदान कहीकतै नदेखेको गुनासो गरेका छन् ।

बाजुराका झण्डै ७६ प्रतिशत मतदाताले मतदान गरेका छन् । देशकै विकट तथा विकास सूचकाङ्कको पुछारमा परेको
बाजुरामा सबैभन्दा बढी मत खसेको छ । मतदानस्थलमा मतदाता संख्या पातलोे देखिन्थ्यो । तर, खसेको मत संख्या हेर्दा देशमै बढी देखिन्छ । जिल्लाका विभिन्न स्थानमा अधिकतम फर्जी मत खसाएको तथ्य फेला परेका छन् । साविकको ब्रह्मतोला गाविसको भवनको केन्द्रमा पनि अधिकतम फर्जी मत खसेको बताइएको छ ।

निर्वाचनमा खटिने कर्मचारी व्यबस्थापन निर्वाचन निर्देशिका–२०७४ अनुसार नभएको भन्दै निर्वाचन आयोगमा यसअघि रिट हालेको कांग्रेसका जिल्ला सचिव दिपकविक्रम शाहले बताए । ‘यसको प्रभाव निर्वाचनमा देखियो,’ सचिव शाहले भने । मुख्य निर्वाचन अधिकृत पुुष्पराज थपलियाले भने, ‘मतदान केन्द्रमा के कसरी मतदान भयो आफूलाई थाहा नभएपनि यसलाई गम्भीर अपराधका रुपमा मानिन्छ ।’

अनुसन्धानका लागि निर्वाचन आयोगमै जानकारी  गराउनुपर्ने मुख्य निर्वाचन अधिकृत थपलियाले बताए । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार मंसिर १० गते सम्पन्न निर्वाचनमा २७ हजार ८ सय ७२ महिला मतदाताले मतदान
गरेका थिए भने २५ हजार ७३ पुुरुष मतदाताले मतदान गरेका थिए ।  बाजुरामा झण्डै ७६ प्रतिशत मत खसेको थियो ।