३८८ पटक हेरिएको
प्रकाशित: २०७४ मंसिर १६ , ११:०५ बजे

भीमदत्तमा छाडा चौपाया व्यवस्थापनका लागि संरचना निर्माण सुरु

Image

महेन्द्रनगर। पछिल्लो समय प्रमुख समस्याका रुपमा देखिएको छाडा चौपायाको व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले भौतिक संरचना निर्माणको कार्य सुरु गरेको छ । भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि वडा नम्बर १९ को बागफाँटामा जग्गा भाडामा लिएर संरचना निर्माणको कार्य सुरु गरेको हो ।

नगरपालिकाले बागफाँटामा ८ विगाहा निजी र १२ विगाहा सरकारी जमिनमा छाडा व्यवस्थापनका लागि तारबार लगाउन सुरु गरेको भीमदत्त नगरपालिकाको १९ नम्बर वडाका वडाध्यक्ष दामोदर महराले बताए । उनका अनुसार भौतिक संरचना निर्माणको लागि सुरुवाती चरणमा तारबारको काम सुरु भइसकेको र लगत्तै गौशाला निर्माणका कार्य थालिने छ ।

छाडा पशु चौपाया व्यवस्थापन तथा संरचना निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले छाडा पशु चौपाया व्यस्थापनका लागि जग्गा नपाइएकाले चौपाया व्यवस्थापनमा केही ढिलाइ भएको बताए ।

उनले जग्गा प्राप्तिसँगै संरचना निर्माण सुरु भइसकेकाले अबको केही दिनमै छाडा चौपायाको समस्या समाधान हुने बताए । उनका अनुसार नगरपालिकाले छाडा चौपाया व्यवस्थित गरी व्यावसायिक रुपमा पशुपालन योजना रहेको छ ।
त्यसका लागि आवश्यक जनशक्ति र नीतिको समेत व्यवस्था भइसकेको छ । छाडा चौपायालाई व्यवस्थित गरेर त्यसबाट दुध तथा मल उत्पादन गरी बिक्री गरिने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका निजी क्षेत्रबाट जग्गा भाडा लिन गत कात्तिक १७ गते गरिएका १७ बोलपत्र अनुसार वडा नम्बर १९ का स्थानीयले जग्गा भाडामा दिन तयार भएका थिए । वडाध्यक्ष महराका अनुसार बागफाँटाका ४ जना स्थानीय जग्गाधनीबाट ८ विगाहा जमिन लिजमा प्राप्त भएको भएको छ ।

सो जमिनसँग करिव १२ विगाहा सरकारी जग्गा जोडिएकाले छाडा चौपाया व्यवस्थापनका लागि पर्याप्त जग्गा उपलब्ध भएको उनले बताए । प्रतिविगाहा वार्षिक २० हजार रुपैयाँ भाडा दिने गरी सम्झौता गरिएको अध्यक्ष महराले बताए ।


नगर प्रमुख विष्टले खुला सीमानाका कारण अन्य स्थानीय तहबाट पनि भीमदत्तमा चौपाया आउन सक्ने भएकाले सम्बन्धित सबै नगरपालिकाले यसको दीगो व्यवस्थापनका लागि योजना बनाउनुपर्ने बताए । नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गरिरहेका बेला थप गाईवस्तु छोडेमा व्यवस्थापनमा चुनौति थपिने नगरपालिकाको अनुमान छ ।

गौशाला बनेसँगै अबका केही सातापछि भीमदत्त नगरपालिकाका करिव १ हजार २ सय छाडा चौपायाको व्यवस्थापन हुनेछन् । भीमदत्त नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पाएसँगै छाडा चौपाया व्यवस्थापनका लागि कञ्चनपुर र कैलालीका स्थानीय तहसँग छलफल समेत गरेको थियो ।

व्यवस्थापनका लागि सामुदायिक वनसँग आवश्यक जग्गा माग गरिएपनि झन्झटिलो कानुनी प्रक्रियाका कारण जग्गा उपलब्ध हुन सकेको थिएन ।  शुक्रबार भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट लगायत कञ्चनपुरका पत्रकारले सो क्षेत्रको स्थलगत अनुगमन समेत गरेका छन् ।


सम्बन्धित