११६३ पटक हेरिएको
प्रकाशित: २०७४ मंसिर १५ , २३:५४ बजे

‘दैजीमा औद्योगिक क्षेत्र र कैलालीमा विशेष औद्योगिक क्षेत्र’

Image

–राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर - पूर्वमन्त्री एवं नेकपा(एमाले) पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले राष्ट्र निर्माणको अभियान सञ्चालन गरी देशलाई समृद्ध बनाउनका लागि वाम गठबन्धनको आवश्यकता परेको बताएका छन् । शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीमा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनको दुई तिहाइको सरकार गठन गरी देशमा राजनीतिक स्थायित्व, दीर्घकालीन विकास र रोजगारीको अवसर सिर्जना गरिने जिकिर गरे ।

बन्द अवस्थामा रहेको औषधि लिमिटेड सञ्चालन गर्ने निर्णय आफ्नै पालामा भएको जिकिर गर्दै उनले भने, ‘अहिले नवीन्द्रराज जोशी मैले सञ्चालन गर्न लागेको भन्दै छन् । अर्थमन्त्री डा रामशरण महतसँग कुरा गरेर सरकारी लगानीका उद्योग खोल्नुपर्छ भनेर प्रक्रिया अगाडि मेरै पालादेखि अगाडि बढेको हो ।

’ दैजीमा औद्योगिक क्षेत्र खोल्नका लागि प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै उहाँले कैलालीमा विशेष औद्योगिक क्षेत्र(सेज) बनाउन राखिएको प्रस्ताव पनि वाम गठबन्धनले अगाडि बढाई सयौँ युवालाई रोजगारी दिने बताए । ‘प्रदेश नं ७ मा वाम गठबन्धनको सरकार गठन भएमा खेलकुदमा नेपाललाई चिनाउनका लागि खेल विज्ञान विषयमा पढाइ प्रारम्भ गर्ने, खनिजशास्त्रको पढाइ सञ्चालन गर्ने र पाँच लाख बढीलाई रोजगारी दिई आत्मनिर्भर बनाउन चाहन्छौँ,’ उनले भने ।

स्वस्थ्य समाज निर्माण गर्नका लागि योग शिक्षालाई अनिवार्य बनाइने र माथिल्लो कर्णाली, पञ्चेश्वर र पश्चिम सेती जलविद्युत् आयोजना सञ्चालन गरी प्रदेश नम्बर ७ लाई विद्युत्मा आत्मनिर्भर बनाउन चाहेको उनले बताए । सोही कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर धामीले वाम गठबन्धनको सरकार गठन भएमा समाजिक सुरक्षाभत्ताको रकम २ हजारबाट ५ हजारमा पुर्‍याई ज्येष्ठ नागरिकलाई सम्मान गरिने बताए ।

प्रदेशसभाका उम्मेदवार लालबहादुर खड्काले प्रमाणपत्र धितो राखी विनाब्याज युवालाई ऋण उपलब्ध गराई रोजगार दिन र भोगचलन गर्दै आएको जग्गा बसेकै ठाउँमा नापनक्सा गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन तत्पर रहेको बताए

निर्माणाधीन पुल समयमा पूरा गरिने

वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार डा दीपकप्रकाश भट्टले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको डिजाइन संशोधन गरी तोकिएको समयमा पूरा गरिने बताएका छन् । गठबन्धनले आज ब्रह्मदेवमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले दोधारा–चाँदनीका बासिन्दालाई सिँचाइ सुविधा पुर्‍याउन पुलको डिजाइन फेरेर पश्चिमपट्टि ब्यारेज र हेड थप्ने प्रस्ताव गरिएको जानकारी दिए ।

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा महाकालीको पुलका लागि बजेट विनियोजन गरिएको हो, अहिले निर्माण थालिएको छ,’ उनले भने ‘दोधारा–चाँदनीमा सिँचाइ सुविधा पुर्‍याउन डिजाइन फेर्ने कुरा गरिएको हो । नहर पनि लैजान्छौँ, तीन वर्षमा पुल पनि बनाउँछौँ ।’

एकीकृत महाकाली विकास सन्धिअनुसार शारदा ब्यारेजबाट पाउनुपर्ने ३ सय ५० क्युसेक पानी दोधारा–चाँदनीले अहिलेसम्म नपाएकाले पुल पश्चिममा ब्यारेज बनाएर सिँचाइ सुविधा पुर्‍याउने कार्यसूची अघि सारिएको डा भट्टले बताए । जीवनमा एक पटक कैलाश मानसरोवर पुग्ने इच्छा हुने सबैका लागि ब्रह्मदेव– टिंकर सडक सहज हुने भएकाले धार्मिक पर्यटक र आर्थिक व्यापार विस्तार गरिने उनको भनाइ छ ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।