५६८ पटक हेरिएको
प्रकाशित: २०७४ कार्तिक २९ , ०७:३८ बजे

कञ्चनपुर दिशामुक्त घोषणाको तयारीमा

Image

महेन्द्रनगर। कञ्चनपुरलाई खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकालाई मंगलबार एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त नगरपालिका घोषण गरिएसँगै कञ्चनपुरलाई खुला दिसामुक्त जिल्ला घोषण गर्ने अभियान अन्तिम चरणमा पुगेको हो ।

भीमदत्त नगरपालिकाका सबै घरधुरीमा पक्की तथा कच्ची शौचालय निर्माण भएपछि भीमदत्त नगरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको छ । भीमदत्त नगरपालिका खुल्ला दिशामुक्त घोषण गरिएसँगै कञ्चनपुर जिल्ला खुल्ला दिशामुक्त जिल्ला भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महेन्द्रनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बुले बताए ।

‘कञ्चनपुरका सबै घरधुरी शौचालय बनेका छन, कञ्चनपुरका २ गाउँपालिका र ६ नगरपालिकालाई यसअघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको थियो, बाँकी रहेको भीमदत्तलाई पनि मंगलबार खुल्ला दिशामुक्त घोषण गरेका छौं, सबै स्थानिय तह खुल्ला दिशामुक्त क्षेत्र भएका छन्, अब कञ्चनपुरलाई औपचारीक रुपमा मात्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न बाकी छ’ उनले भने । कञ्चनपुरका सबैै स्थानीय तह खुला दिशामुक्त घोषण भईसकेकाले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यय समितीलाई निरीक्षण गर्न पत्राचार गरिने उनले बताए ।

‘क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समितिले निरिक्षण गर्छ, त्यसपछि कञ्चनपुरलाई खुल्ला दिशामुक्त घोषण गरिन्छ,’ उनले भने । कञ्चनपुरका सबै स्थानिय तहमा पुनः सरसफाई कार्यक्रम अन्तर्गत निरीक्षण गरिने उनले बताए । ‘कार्यक्रम अनुसार बसाईसरी आएका, छुट्टीएका परिवार तथा कच्ची शौचालय भएका घरहरुमा शौचालय निमार्ण गरिन्छ’ उनले भने । क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यय समितीले निरिक्षण गरेर जिल्लालाई खुल्ला दिशामुक्त घोषण गर्न स्वकृति दिएपछि जिल्ला खुल्ला दिशामुक्त घोषण गरिने उनले बताए ।

‘हामीले मंसिर १० गतेसम्ममा कञ्चनपुरलाई खुल्ला दिशामुक्त घोषणा गर्ने योजना बनाएका छौं’ उनले भने । कञ्चनपुरमा सन् २०११ देखि सरसफाई कार्यक्रम सञ्चालन गर्दैै आएको खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले २०१५ अर्थात् २०७२ पुसभित्र कञ्चनपुरलाई खुलादिसामुक्त घोषणाको लक्ष्य लिएको थियो । तर, सो लक्ष्य पूरा नहुँदा २०७२ चैतभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने नयाँ लक्ष्य तोकिएको थियो ।

२०७२ चैतभित्र पनि खुल्ला दिसामुक्त घोषणा हुन नसकेपछि समितिले सन् २०१६ अर्थात् २०७३ पुसभित्र कञ्चनपुरलाई खुल्ला दिसामुक्त घोषणा गरिसक्ने लक्ष्य निर्धारण गरेको थियो ।फेरि पनि लक्ष्य पूरा गर्न असफल भएपछि समितिले २०७३ फागुनभित्र खुलादिसामुक्त घोषणा गर्ने नयाँ लक्ष्य निर्धारण गरेका थिए । भीमदत्त नगरपालिकाका ६ वडाका ७३ घरमा शौचालय निर्माण नहुदा कञ्चनपुरलाई खुल्ला दिशामुक्त घोषण गर्न सकिएको थिएन् ।

कञ्चनपुरमा सुकुम्बासी, आरक्ष पीडित, मुक्तकमैया र अति विपन्नता भएका परिवार बढी भएकाले तोकिएको समयमा खुला दिशामुक्त घोषणा हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महेन्द्रनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बुले बताए । उनका कञ्चनपुरका ८७ हजार ८ सय ९७ घर परिवार रहेकोमा सबै घर परिवारले पक्की तथा कच्ची शौचालय निमार्ण गरेका छन् ।


सम्बन्धित