५१७ पटक हेरिएको
प्रकाशित: २०७४ कार्तिक २७ , ०८:१३ बजे

दक्ष जनशक्ति नहुँदा क्रायोथेरापी प्रयोगविहिन

Image

महेन्द्रनगर । नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखामा दक्ष जनक्ति नहुँदा पाठेघरको उपचार गर्ने क्रायोथेरापी प्रयोगविहिन बनेको छ । नेपाल परिवार नियोजन संघ जिल्ला शाखा कार्यालय कञ्चनपुरले पाठेघरको मुखको क्यान्सरको उपचार गर्न ४ महिना अगाडी क्रायोथेरापी मेसिन ल्याएको भएपनि दक्ष जनशक्तिको अभावमा प्रयोग विहिन अवस्थामा रहेको परिवार नियोजन संघ कञ्चनपुरका प्रमुख शिवराज बलायरले बताए 

‘गत असारमा खरिद गरेर क्रायोथेरापी मेसिन लिएका हौं, दक्ष जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन्’ उनले भने । नेपाल परिवार नियोजन जिल्ला शाखा कार्यालय कञ्चनपुरमा क्रायोथेरापी मेसिन चलाउन सक्ने तालिम प्राप्त डाक्टर नहुँदा सञ्चालन गर्न नसकिएको उनले बताए । ‘हामीसँग डाक्टर छन् तर, मेसिन चलाउन सक्ने दक्ष डाक्टर छैनन्, आवश्यक तालिम दिन सकिएको छैन्’ उनले भने ।

आवश्यक तालिमको लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई पत्राचार गर्दा पनि कुनै सुनवाई नभएको उनले बताए । नेपाल परिवार नियोजन संघ जिल्ला शाखा कार्यालय कञ्चनपुरले १ लाखमा धनगडीबाट मेसिन खरिद गरेको बलायरले बताए । ‘मेसिन सञ्चालनमा ल्याउन नसक्दा यहाँ पाठेघरको मुखको परिक्षण मात्र गर्छौ, संकास्पद बिरामीलाई धनगढी पठाउने गरेका छौं’ उनले भने ।

बिरामी चेकजाँच गर्ने क्रममा पाठेघरको मुखको क्यान्सर भएको शंका लागे थप चेकजाँत र उपचारका लागि सेति अञ्चल अस्पताल धनगढी पठाउने गरेको उनले बताए । ‘सेति अञ्चल अस्पताल धनगढीमा थप चेकजाँच गरि पाठेघरको सानो अंश प्रयोगशाला परिक्षणका लागी केन्द्रिय प्रयोगशाला काठमाण्डौं पठाईन्छ’ उनले भने । पाठेघरको मुखको क्यान्सर भएमा प्रयोगशालामा परीक्षण गर्दा संक्रमित अंग पोजेटिभ देखिए उपचार सेती अञ्चल अस्पतालबाट हुने शाखा प्रमुख बलायरले बताए ।

‘परिवार नियोजन संघ शाखा कार्यालय कञ्चनपुरमा क्रायो थेरापी मेसिन सञ्चालनमा आए पाठेघरको मुखको क्यान्सर भएका बिरामीको उपचार कञ्चनपुरमा नै गर्न सकिन्छ’ उनले भने । नेपाल परिवार नियोजन संघ शाखा कार्यालय कञ्चनपुरले प्रत्येक शुक्रबार पाठेघरका बिरामीको चेकजाँच गर्ने गरेको उनले बताए । ‘हप्तामा करिब १ सय जानाले चेकजाँच गराउँछन, जसमा पाठेघरको मुखको क्यान्सर भएका शंकास्पद १० जना बिरामी हुन्छन्’ उनले भने ।

गत आर्थिक वर्षमा कञ्चनपुरमा ७ जना बिरामीमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको उनले बताए । पाठेघरको मुखको क्यान्सरको उपचार गराउदा सरकारी स्वास्थ्य संस्थामा २५ सय रुपैयाँ र निजि स्वास्थ्य संस्थामा ३५ देखि ४० हजार रुपैयाँ सम्म खर्च लाग्ने शाखा प्रमुख बलायर बताए ।