६२० पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन १० , ०७:३८ बजे

जयपृथ्वी नगरपालिकामा स्वच्छता प्राथमिकतामा, ४० करोड बजेट पारित

Image

बझाङ । नगर सभाबाट बझाङको जयपृथ्वी नगरपालिकाले स्वच्छता अभियानलाई प्राथमिकतामा राखेको छ ।
नगरका मेयर विरेन्द्र खड्काले प्रस्तूत गरेको कार्यक्रममा नगर भित्रको पर्यटन, शिक्षा, स्वास्थ्य, आयआर्जन र सीप विकासमा जोड दिएको छ ।

नगरपालिकालाई मध्यपान धुम्रपान न्यूनिकरण गर्ने पनि लक्ष्य रहेको मेयर विरेन्द्र खड्काले जानकारी दिए । नगर सभा उद्घाटन सभामा सांसद लालबहादुर रावल, अफिलाल ओखेडासहित अन्य अथितिले योजना दीगो र पारदर्शी हुनुपर्नेमा जोड दिए । जयपृथ्वी नगरपालिकाले करिब ४० करोड रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट नगर सभामा पेश गरेको छ । सोमबार भएको नगर सभामा नगर प्रमुख विरेन्द्र खड्काले बजेट प्रस्तूत गरेका हुन् ।

नगर सभाको उद्घाटन सत्रमा पेश गरिएको नीति तथा कार्यक्रममा नगर भित्रका विषयगत निकायको पनि बजेट पेश गरिएको थियो । नगरपालिकाको लागि चालू अनुदान पुँजीगत अनुदान, शशर्त अनुदान र निःशर्त अनुदान गरी विभिन्न शिर्षकमा अख्तियारी प्राप्त भई आएको समानीकरण बजेट १८ करोड ५३ लाख ७७ हजार रुपैयाँ तथा अन्तर सरकारी वित्तीय हस्तान्त्रण अनुदान १३ करोड ८७ लाख ८९ हजार रुपैयाँ गरी ३२ करोड ४१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

सभाले कृषि तर्फको १ करोड १९ लाख ३६ हजार रुपैयाँ, पशु विकास तर्फको ४० लाख १३ हजार ४ सय रुपैयाँ, सिँचाइतर्फ १८ लाख रुपैयाँ, भूसंरक्षणतर्फ ५ लाख ७५ हजार रुपैयाँ बजेट रहेको छ । नगरपालिकाले प्रशासनिक एवम् पूजीगत खर्चमा १६ करोड ७० लाख ५२ हजार ६ सय रुपैयाँ छुट्याएको छ । शिक्षातर्फ ६ करोड ३२ लाख ३६ हजार रुपैयाँ बजेट रहेको छ । आयुर्वेद सेवातर्फ ३८ लाख २५ हजार रुपैयाँ र स्वास्थ्यतर्फ ४ करोड ११ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।