१७७६ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन १० , ०७:३१ बजे

कलुवापुरमा मृत गाई गन्हाउँदै, व्यवस्थापन कसले गर्ने ?

Image

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार नजिकै छाडा गाई मरेर बजार क्षेत्रमा गन्हाइरहेको छ ।
मरेको गाई व्यवस्थापन हुन नसक्दा बजार नै दुर्गन्धित बनेको छ ।

४ दिन अगाडि कलुवापुर बजार नजिकै रहेको वसन्त सामुदायिक वनमा मरेको गाई व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको स्थानीय व्यापारी लक्ष्मी अवस्थीले बताइन् । ‘घर नजिकै गाई मरेको छ, नगरपालिका र वडा कार्यालयलाई व्यवस्थापन गरिदिन अनुरोध गरेपनि व्यवस्थापन गरिदिएको छैन, घर नजिकै भएकाले दुर्गन्धले खाना खान समेत असहज भएको छ, न त खान पाएका छौं, न त व्यापार गर्न पाएका छौं,’ उनले भनिन् ।

नगरपालिका सरसफाई गर्ने कर्मचारीलाई वयवस्थापन गरिदिन अनुरोध गरेपनि व्यवस्थापन नगरिदिएको उनले बताइन् । ‘नगरपालिकाका कर्मचारीले खाडलमा हालेर व्यवस्थापन गर्छु, पछि आउँछौ भनेर गएको तर पछि फर्केर आएनन्,’ उनले भनिन् । मरेको गाईको व्यवस्थापन गरिदिन आईतबारदेखि शुक्लाफाँटा नगरपालिकाको ११ नम्बर वडाका अध्यक्ष र नगरपालिकालाई जानकारी गराएको भएपनि व्यवस्थापन नगरिदिएको वडा सदस्य विष्ना लुहारले बताइन् ।

सोमबार मरेको गाईको व्यवस्थापन गर्न नगरपालिकाको गाडी र कर्मचारी पठाएको वडाध्यक्ष दिलबहादुर बुढाले बताए । ‘सोमबार मात्रै नगरपालिकाका सरसफाई गर्ने कर्मचारी पठाएको हो, उनीहरूले मरेको गाई भेट्टाएनन्, सरसफाई गर्ने कर्मचारीले मरेको गाई नपाएको बताएका छन्, भोलि व्यवस्थापन गर्छौ,’ उनले भने ।

गाई मरेको विषयमा जानकारी नभएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘गाई मरेर दुर्गन्धित भएको जानकारी मलाई आएको छैन, यसलाई बुझेर व्यवस्थापन गर्छु,’ उनले भने ।