९५४ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०८ आइतबार, ०८:१४ बजे

कञ्चनपुरमा चाडपर्व लक्षित कडा सुरक्षा व्यवस्था

Image

महेन्द्रनगर । दशैंतिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर गर्दै कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

सम्भावित घटना हुन सक्ने क्षेत्रमा नागरिक सहायता कक्ष र चेक प्वान्टको स्थापना एवम् थप गस्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । 

उनका अनुसार जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी र महेन्द्रनगर बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ भने अन्य स्थानमा पनि आवश्यकता अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

चाडपर्वका बेला भारतीय रिक्सा तथा टाँगा व्यावसायीबाट भारतबाट फर्किने कामदार ठगिँदै आएको दृष्टान्तलाई मध्यनजर गर्दै यात्रुको सहजताको लागि गड्डाचौकीमा नागरिक सहायत केन्द्र स्थापनाका साथै प्रहरीको गस्ती बढाइएको प्रहरी नायव उपरीक्षक सेटीले बताए ।

केही दिन पहिले मात्र टाँगा व्यावसायीले बनवासबाट शारदा ब्यारेजसम्म पुर्‍याएको ५ सय रुपैयाँ भाँडा लिने गरेको व्यापक गुनासोपछि भारतीय सीमा सुरक्षा बललाई नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरिएको उनले बताए । 

महेन्द्रनगर बसपार्कमा खडा गरिएको नागरिक सहायता कक्षमा परिचालन गरिएको प्रहरीले समस्यामा परेका यात्रुको आवश्यकता अनुसारको सहयोग एवम् परामर्श दिँदै आइरहेको प्रहरी नायव उपरीक्षक सेटीले बताए ।

केही दिन पहिले ब्रहमदेवमा भारतबाट फर्किने क्रममा सँगैका साथीले बेहोस पारेर ३ जना मजदुरको साथबाट रकम लुटेकोबाहेक हालसम्म थप घटना नभएको उनले जानकारी दिए । तर, भारतबाट फर्किने नेपालीले सीमा नाकामा लुटिने तथा दुःख पाउने नियति रहिआएको छ ।


About Author
-मानसखण्ड