१६४७ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०८ आइतबार, ०७:५२ बजे

के गर्दैछन् जनप्रतिनिधि ?, छाडा पशुचौपाया समस्या ज्यूका त्यू

Image

– स्थानीय तह र जनप्रतिनिधि बजेट छुट्याएर योजना निर्माणमा संलग्न, व्यवस्थापनमा ढिलाइ
महेन्द्रनगर । स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले छाडा पशुचौपाया नियन्त्रण गर्ने विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका थिए । तर, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै ३ महिना हुनै लाग्दासम्म छाडा पशुचौपाया समस्या ज्यूका त्यू रहेको छ ।

स्थानीय तहले जनप्रतिनिधि पाएको ३ महिना पुग्नै लाग्दा समेत कञ्चनपुरको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापन हुन सकेको छैन । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापन गर्ने अभियान सञ्चालन गरेको भएपनि सुस्त रुपमा अगाडि बढाइरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित भएदेखि नै छाडा पशुचौपायाको विषयले प्राथमिकता दिएको बताएका थिए । तर, हालसम्म छाडा पशु व्यवस्थापन गर्न स्थानीय जनप्रतिनिधिले चासो नलिएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय सरकारका जिम्मेवार व्यक्ति तथा जनप्रतिनिधिले छाडा पशुचौपाया व्यवस्थापनमा चासो नदेखाएको प्रा.डा. मुकुन्द कलौनीले बताए । ‘स्थानीय निर्वाचिन जनप्रतिनिधि र केन्द्रीय सरकारले खासै चासो दिएको देखिँदैन, जनप्रतिनिधिले चासो देखाएको भए त अहिलेसम्म छाडा पशुचौपायको व्यवस्थापन भइसक्थ्यो,’ उनले भने ।

निर्वाचनको क्रममा जनप्रतिनिधिले छाडा पशुचौपाया व्यवस्थापन गर्ने भन्दै भोट मागेपनि व्यवस्थापन गर्न नसकेको उनले बताए । ‘जनप्रतिनिधिले निर्वाचनमा वाचा गरेका थिए, अहिले छाडा पशु व्यवस्थापन गर्नको लागि आवाज उठ्दैन, केन्द्रीय सरकारसँग पहल गर्ने लगायत कार्य गर्न सकेका छैनन्,’ उनले भने ।

प्रधानमन्त्री र मन्त्रीले छाडा पशुचौपायाको समस्यालाई बुझेको भएपनि व्यवस्थापन गर्नतिर केन्द्रीय सरकारले चासो नदेखाएको उनले बताए । ‘मन्त्री, प्रधानमन्त्री धनगढी हुँदै कञ्चनपुर पुगे, बाटोमा छाडा पशु चौपायाले पुर्‍याउने समस्या बुझे होलान् । तर, पहल गरेनन्, केन्द्रीय सरकार र स्थानीय सरकारले छाडा पशुचौपायाको समस्यालाई दीगो व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘सरकारले जंगली जनावरलाई संरक्षण गरेजस्तै घरपालुवा जनावर तथा छाडा पशुचौपायालाई पनि व्यवस्थापन गर्नुपर्छ ।’

छाडा पशुचौपाया सडकमा छाड्नाले कृषि क्षेत्रमा प्रभाव पारेको उनले बताए । ‘नेपाल कृषि प्रधान देशको रुपमा लिइन्छ, कृषकले खेतीपाती गर्छन् । तर, अन्नबाली भित्र्याउन पाउँदैनन्,’ उनले भने, ‘सडकमा रहेका छाडा पशुचौपायाले १ घण्टा पुग्ने ठाउँमा २/३ घण्टा समय लाग्छ, धर्म र समाजका कुरा गर्नेले नै गाईगोरु छाडा छाड्छन्।’

छाडा पशुचौपायाको समस्या समाधानको लागि नगरपालिकाका जनप्रतिनिधिले चासो नदेखाएको कलुवापुरका व्यावसायी जगन्नाथ जोशीले बताए । ‘जनप्रतिनिधिसँग समस्या राख्न खोजेपनि जनप्रतिनिधि सुन्ने गरेका छैनन्, छाडा पशुचौपायाले बजार दुर्गन्धित भएको छ, नगरपालिका ग्रीनसिटीलाई बनाउने योजना बनाएका छन्, बजारमा रहेका छाडा पशुचौपायाको व्यवस्थापन गर्न सकेका छैनन्,’ उनले भने, ‘स्थानीय तहका अधिकांश जनप्रतिनिधि औपचारिक कार्यक्रममा व्यस्त हुने गरेका छन्, जनताको सेवा गर्न गरेका वाचा बिर्संदै गएका छन्।’

लालझाडी गाउँपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्न स्थानीय सामुदायिक वन, स्थानीय व्यक्ति र जनप्रतिनिधिसँग छलफल गरिरहेको लालझाडी गाउँपालिका प्रमुख मदन बडायकले बताए । ‘हाम्रो गाउँपालिकामा छाडा पशुचौपायाको समस्या त छैन, छिमेकी नगरपालिकाबाट ल्याएर हाम्रो गाउँपालिका छाडिदिन्छन्, यसरी छाड्नेलाई कारवाही गर्ने भनेका छौं,’ उनले भने, ‘लालझाडी गाउँपालिका–४ पर्सियामा गाई बृद्धाश्रम छ, त्यसको क्षेत्रफल बढाएर छाडा गाईगोरु व्यवस्थापन गर्ने सोच बनाएका छौं ।’

छाडा पशुचौपाया व्यवस्थापन गर्न नगरसभाबाट ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बताए । ‘नगरपालिकाले रकम छुट्याएको छ, वडा अध्यक्षलाई पनि वडाबाट बजेट छुट्याएर घरपालुवा गाईगोरुको लगत लिने, ट्याग लगाउने काम सुरु गर्नु भनेको छु, सामुदायिक वनसँग नि छलफल हुँदैछ,’ उनले भने, ‘सामुदायिक वनबाट जग्गा उपलब्ध भए तिहारपछि छाडा पशु व्यवस्थापन कार्य हुन्छ।’

पुनर्वास नगरपालिकामा छाडा पशुचौपायाको समस्या नरहेको नगरपालिका प्रमुख जीवनराज थापाले बताए । ‘छाडा पशुचौपायाको समस्या छैन, तर सडक र बाटोमा पशुचौपाया बाँध्ने समस्या छ, सडकमा नबाँध्न अनुरोध गरेका छौं, सूचना पनि टासेका छौं,’ उनले भने ।

शुक्लाफाँटा नगरपालिकामा घरपालुवा जनावरको लगत संकलन गर्ने कार्य भइरहेको नगरपालिकाका कार्यकारी शेरबहादुर बुढाले बताए । ‘छाडा पशुलाई व्यवस्थापन गर्नको लागि १/२ दिनमै प्रस्ताव माग गर्छौ, प्रस्ताव के कस्तो आउँछ, त्यो अनुसार अगाडि बढ्छौं,’ उनले भने, ‘छाडा पशु व्यवस्थापन गर्न १/२ ठाउँमा जमिन हेरेका छौं,

शुक्लाफाँटा नगरपालिका–८ को बैजनाथ धाम व्यवस्थापन समितिले व्यवस्थापन गर्ने भनेको छ । तर, निश्चित भएको छैन, ७ नम्बर वडाको कसरौलमा पनि जमिन हेरेका छौं ।’ छाडा पशुचौपाया व्यवस्थापन गर्न नगरसभाबाट ४५ लाख रुपैयाँ रकम विनियोजन गरेको उनले बताए । ‘दशैंपछि व्यवस्थापनको कार्यक्रम अगाडि बढ्छ, सामुदायिक वनसँग पनि छलफल भइरहेको छ,’ उनले भने ।

भीमदत्त नगरपालिकामा घरपालुवा जनवारको लगत लिने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाका योजना अधिकृत पुष्पराज भट्टले बताए । ‘लगत संकलनको कार्य भइरहेको छ, अधिकांश वडाले लगत संकलन गरिसकेका छन्, छाडा गाईगोरुको व्यवस्थापन गर्न सामुदायिक वनसँग छलफल भइरहेको छ,’ उनले भने, ‘जग्गा नपाउँदा ढिलाइ भइरहेको छ, सामुदायिक वनले पनि वनको कार्ययोजनाबाट नै पास गर्नुपर्ने रहेछ, सामुदायिक वनको साधारणसभाबाट पास गरेर दिन पाउने रहेछन् ।’

भीमदत्त नगरपालिकाका सिद्धनाथ सामुदायिक वन, बैजनाथ, झिलमिला, बारकुण्डामा रहेको सामुदायिक वन बेदकोट नगरपालिकामा रहेको बैजनाथ मध्यवर्ति सामुदायिक वनसँग छलफल भइरहेको छ । ‘सामुदायिक वनले जग्गा दिने फाइनल कुरा भएको छैन, दिन्छु भनेका छन्,’ उनले भने, ‘घरपालुवाको लगत संकल भइसकेपछि ट्याग लगाइन्छ । २ महिना अघिदेखि जग्गाको लागि पहल भएपनि पाइएको छैन ।’

बेदकोट नगरपालिकाले घरपालुवा जनावरको लगत संकलन गरिसकेको वेदकोट नगरपालिकाका कार्यकारी अधिकृत हेमराज जोशीले बताए । ‘सबै वडामा लगत संकलन गरिएको छ, ट्याक लगाउने तयारी भइरहेको छ,’ उनले भने । छाडा पशुचौपाया व्यवस्थापनको लागि बैजनाथ मध्यवर्ति सामुदायिक वनमा छाडा व्यवस्थापन केन्द्र बनाउने कार्य अगाडि बढाइएको २ नम्बर वडाका अध्यक्ष नरेन्द्र सिंहले बताए । ‘सामुदायिक वनमा घेरवार लगाउन पिल्लर फालेका छौं, केही दिनमै घेरबार लगाउने कार्य सुरु हुन्छ,’ उनले भने ।

पशुलाई आवश्यक पर्ने पानी, घाँस सबैको व्यवस्थापन गरिने नगर उपप्रमुख सुशिला सिंहले बताइन् । ‘१८ हेक्टर जमिनमा गाईगोरु व्यवस्थापन गरिन्छ, नगरपालिकाले व्यवस्थापनको लागि ५० लाख रुपैयाँ बजेट नगरसभाबाट विनियोजन गरेको छ, तिहारसम्ममा गोठमा छाडा गाईगोरु राखिसक्ने योजना छ,’ उनले भनीन् ।

महाकाली नगरपालिका–४ मा घरपालुवा जनावरको तथ्याङ्क संकलन गरिसकेको नगरपालिका सूचना अधिकारी रघुनाथ भट्टले बताए । ‘जोखिममा रहेका वडामा हामीले घरपालुवा जनावरको लगत संकलन गरेका छौं, लगत संकलन गरिसकेपछि छाडा गाई छोड्ने कार्यमा कमी आएको छ । राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ४ नम्बरमा छाडा गाईगोरुको समस्या देखिएको हो,’ उनले भने, ‘दीर्घकालीन व्यवस्थापनको लागि गौशाला निर्माण गर्ने योजना बनाएका छौं ।’

 


About Author
-होम योगी