१३७८ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०६ , १७:५७ बजे

म्याद गुज्रेका सामान भेटिएपछि शुभलाभ सप्लायर्समा सिल

Image

महेन्द्रनगर । म्याद गुज्रेका सामान भण्डारण गरेर राखेको भेटिएपछि आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक नेतृत्वको बजार अनुगमन टोलीले भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित शुभलाभ ट्रेड एण्ड सप्लायर्समा सिल गरेको छ ।

शुक्रबार बजार अनुगमन क्रममा शुभलाभ ट्रेड एण्ड सप्लायर्समा म्याद नाघेका कस्मेटिक सामग्री बिक्री गर्नका लागि म्याद भएका सामग्रीमा मिसाएको पाएपछि सिल गरिएको आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले बताए । उनका अनुसार सप्लार्यसले साबुन, स्याम्पु तथा क्रिमहरू मिसावट गरेर राखेको थियो ।

कञ्चनपुर कालोबजारी हुने अड्डा
कञ्चनपुरमा कालोबजारी बढी हुने गरेको पाइएको आपूर्ति राज्मन्त्री कर्णबहादुर विकले बताएका छन् । बिहीबार र शुक्रबार महेन्द्रनगरमा गरिएको अनुगमनबाट कालोबजारी र उपभोक्ता ठगीको समस्या कञ्चनपुरमा देखिएको उनले बताए ।

‘महेन्द्रनगरका जुत्ता पसल, खाद्य पसल, किराना पसल लगायत पसलमा अनुगमन गर्दा कृत्रिम अभाव देखाई कालोबजारी गर्ने, मुल्यसूचि नराख्ने गरेको पाइयो,’ उनले भने । कालोबजारी र उपभोक्ता ठग्नेले शुक्रबार बजार बन्द गरेर अनुगमन प्रभावित गर्न खोजेको उनले बताए ।

‘कालोबजारी गर्ने केही व्यक्ति बजार बन्द गर्नुपर्छ भन्दै बजारमा आए, अनुगमनमा जसरी साथ दिनुपर्ने थियो, त्यो सहयोगको भावन व्यापारीमा देखिएन,’ उनले भने । कालोबजारी र उपभोक्ता ठग्नेलाई कडा कारवाही गरिने उनले बताए ।

‘कालोबजारी र ठग्नेलाई कारबाही हुन्छ, अनुगमन निरन्तर हुन्छ,’ उनले भने । अनुगमन गरिएका पसलमा मुल्यसूचि राख्ने, न्यून विलिङ गरेर सामान खरिद नगर्ने, म्याद गुज्रेका वस्तुको उचित व्यवस्थापन गर्ने तथा आफ्ना कमी कमजोरी सुधार गर्न निर्देशन दिएको उनले बताए ।