११८८ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०६ , ०८:०४ बजे

अधिकांश पसलमा म्याद गुज्रेका सामान

Image

महेन्द्रनगर । महेन्द्रनगर बजारका अधिकांश पसलमा म्याद गुज्रिएका सामान बिक्री हुने गरेको पाइएको छ ।

बिहीबार महेन्द्रनगरमा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक लगायत विषयगत कार्यालयका कर्मचारी सहितको टोलीले अनुगमन गरिएका अधिकांश पसलमा म्याद नाघेका वस्तु खरिद बिक्री हुने गरेको पाएको छ । अनुगमन गरिएका ७ पसलमध्ये ३ वटा पसलमा म्याद गुजे्रका वस्तु बिक्री गर्ने गरेको पाइएको छ ।

महेन्द्रनगरको २ नम्बर गल्लीमा रहेको गौरव खाद्य स्टोर एण्ड सप्लायर्समा म्याद सकिएका ३ बोतल र १० प्याकेट तोरीको तेल पाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । ‘गौरव खाद्य स्टोरलाई मूल्यसुचि राख्न, म्याद नाघेका तथा लेबल नभएका खाध्य वस्तु बिक्री वितरण नगर्न निर्देशन दिएका छौं,’ उनले भने ।

महेन्द्रनगरको गल्ली नम्बर २ स्थित गुप्ता किराना पसल दर्ता नै नगरी सञ्चालमा रहेको पाएको घरेलु तथा साना उद्योग महेन्द्रनगरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीले बताए । ‘नयाँ पसल खोलेको रहेछ, दर्ता गर्न निर्देशन दिएका छौ,’ उनले भने ।

गुप्ता पसलले सूर्तिजन्य पदार्थ खरिदबिक्रीको लाइसेन्स बिना नै सूर्तिजन्य पदार्थ खरिदबिक्री गर्ने गरेको पाइएको आन्तरिक राजश्व कार्यालय कञ्चनपुरका नायव सुव्वा डिलबहादुर गिरीले बताए । ‘आजभोलि सूर्तिजन्य पदार्थ खरिद बिक्री गर्न लाइसेन्स लिनुपर्छ, सूर्तिजन्य पदार्थ बिक्री तथा राख्ने ठाउँ अलग हुनुपर्छ, पसल सञ्चालकलाई प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

मेनरोडमा रहेको मालिका टेड्र सेन्टरमा साबुन, स्याम्पु लगायतका सामग्रीमा दररेट, उत्पादन मिति नभएको, म्याद सकिएका सामग्री पाइएको थियो । राज्यमन्त्री विकले म्याद गुज्रेका सामग्री नष्ट गर्न निर्देशन दिएको बताए । ‘म्याद नघेका वस्तु अलग्गै राखेको थियो, हटाएर नष्ट गर्न निर्देशन दिएका छौं,’ उनले भने ।  मेनरोडमा रहेको टप सपका सञ्चालकलाई शुक्रबार बिहान १० बजेभित्र खरिद बिल र बिक्री बिल पेश गर्न राज्यमन्त्री विकले निर्देशन दिएका छन् ।

‘शुक्रबार बिहान १० बजे सर्ट, जुत्ता लगायतका सामग्रीको खरिद गरेको मूल्य र बिक्री गरेको बिल तयार पारिराख्नु, पेश गर्न नसके पसल सिल हुन्छ,’ उनले भने । न्यू मिथिला सुनचाँदी गहना पसलले १२.५ प्रतिशतसम्म ‘जर्तिकट्टि’ गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ । अनुगमन समितिले गहना पसल सञ्चालकलाई मूल्यसूचि राख्न र जर्तिकट्टि गर्ने कार्य नगर्न निर्देशन दिएको छ ।

गल्ली नम्बर २ मा रहेको वरदान ट्रेडर्स एण्ड सप्लायर्समा अखाद्य पेय पदार्थ फेला परेको छ । बरदान ट्रेडर्समा फ्रूटीमा लेदो पदार्थ फेला परेको हो । पसल सञ्चालकलाई मूल्यसूचि वस्तुको मूल्य सही राख्न, फ्रुटी नष्ट गर्न निर्देशन दिएको छ।

अनुगमन समितिले घटाल मेडिसिन डिस्ट्रिब्यूटर्स र विपिन इन्टरप्राइजेजमा समेत अनुगमन गरेको थियो । विपिन इन्टरप्राइजेज सुरक्षाको दृष्टिकोणले सही नभएको राज्यमन्त्री विकले बताए । ‘इन्टरप्राइजेजका सञ्चालकले घेरबार लगाउनुपर्ने र पानी ट्याङ्की राख्नुपर्ने देखिन्छ,’ उनले भने ।

देशभरि नै अनुगमन गर्ने क्रममा कञ्चनपुरमा पनि अनुगमन गरिएको राज्यमन्त्री कर्णबहादुर विकले बताए । ‘अनुगमन मौसमी हुन्छ भन्ने जनगुनासो बढेको छ, अनुगमनलाई निरन्तरता दिनलाई पनि अनुगमन गरिएको हो,’ उनले भने ।

राज्यमन्त्री विकसहित आपूर्ति मन्त्रालयको अनुगमन शाखाले बजार क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमनमा विषयगत कार्यालयका कर्मचारी सहभागी थिए । अनुगमनअघि राज्यमन्त्री विकले जिल्ला प्रशासन कार्यालयमा विषयगत कार्यालयका कर्मचारीसँग छलफल गरेका थिए ।

‘बजार अनुगमनलाई तीव्रता’
आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महंगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताएका छन् । बिहीबार कञ्चनपुरको झलारीमा उपभोक्तासँगको भेटघाट कार्यक्रममा उनले कालोबजारी गर्ने र उपभोक्ता ठग्नेमाथि कडा कारबाही हुने बताए ।


राज्यमन्त्री विकले आम उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तुहरू उपलब्ध गराउन सुपथ मूल्यका पसल खोलिएको बताउँदै काठमाडौं र कैलालीको धनगढी बजारमा अनुगमनका क्रममा कम मूल्यका वस्तुहरू बढी मूल्यमा बेचेको पाइएको बताए । ‘उपभोक्ता ठग्नेमाथि कारबाही हुन्छ,’ उनले भने, ‘चाडपर्वका बेला आपूर्ति सहज बनाउनका लागि व्यवसायी र उपभोक्तासँग छलफल गर्ने कार्यसमेत भइरहेको छ ।’

 


About Author
-मानसखण्ड