७७४ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०५ , १३:१४ बजे

गोलचक्करमा सिटी हल निर्माण

Image

– पाँचौ पटकको म्याद सकिएपनि निर्माण कार्य सकिएन
– म्याद सकिएको ३ महिना बित्यो, म्याद नथपेरै निर्माण कार्य हुँदै

महेन्द्रनगर । पटक–पटक विवाद र चर्चामा आउने गरेको महेन्द्रनगर नगर विकास समितिको महत्वपूर्ण भौतिक निर्माण अन्तर्गत रहेको सिटी हल निर्माण कार्य गोलचक्करमा परेको छ ।

महेन्द्रनगरस्थित सिटी हल निर्माणका लागि ५ पटक म्याद थपेर जेठमा सक्ने अन्तिम लक्ष्य भएपनि म्याद सकिएको ३ महिना बित्दा पनि निमार्ण कार्य सम्पन्न हुन सकेको छैन । पाँचौ पटक थपेको म्याद अनुसार २०७४ जेठ महिनाभित्र निर्माण सक्ने समयावधि तोकिएको थियो । तर, ठेकेदार कम्पनीको लापरवाही र नियामक निकायको कमजोरीले गर्दा हालसम्म निमार्ण कार्य नसकिएको महेन्द्रनगर नगर विकास समितिका नायव सुब्वा पुष्पराज भट्टले बताए । ‘नगर विकास समति, ठेकेदार र सरकारी निकायको लापरवाहीले निर्माण कार्य समयमा सकिएन,’ उनले भने, ‘नगर विकास समितिको कार्य सरकारले पटक–पटक बन्द गर्‍यो, समितिले पूर्णता पनि पाएको छैन ।’

सिटी हल निर्माणको कार्य १५ प्रतिशत मात्र बाँकी रहेको उनले बताए । ‘ग्ल्याबिङ (आल्मुनियम) को कार्य, पेन्टिङ भइरहेको छ र झ्यालढोका लगाउने कार्य मात्र बाँकी छ, ठेकेदार कम्पनीले छिटोछरितो काम हुन्छ भनेर झ्याल र ढोका काठमाडौंबाट बनाएर ल्याउँदैछ,’ उनले भने, ‘मंसिर महिनाभित्र निर्माण कार्य सम्पन्न हुन्छ, स्थानीय जनप्रतिनिधीले पनि चासो लिएका छन्, नगर विकास समितिले पनि पूर्णता पाउने तयारीमा छ ।’ २०६५ सालमा साढे २ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ निर्माण थालिएको सिटी हल सरकारी उदासिनता र ठेकदारको लापरवाहीले पूरा हुन नसकेको नायब सुब्बा भट्टले बताए ।

महेन्द्रनगर सिटी हलमा सभाहल, बाल्कोनी, मिनी हल, स्टेज लगायतका हल रहेका छन् । इन्जिनियर मोहनदेव भट्टले श्याम सुन्दर गौरी पार्वती जेभी निर्माण कम्पनीको लापरवाहीका कारण निर्माणमा ढिलाइ भएको बताए । उनका अनुसार निर्माण कम्पनीले सुरुमा राम्रै काम गरेपनि २०६८ सालपछि ढिलासुस्ती र लापरवाही गरेकोे हो । ‘सुरुमा निर्माण कम्पनीले राम्रै काम गर्‍यो, बिचमा आएर ढिलासुस्ती गर्‍यो, पाँचौ पटक म्याद थपेदखि अहिले राम्रै काम गरिरहेको छ,’ उनले भने, ‘अहिले सिटी हलभित्र निर्माण भएका संरचनामा रंगरोगन भइरहेको छ, विद्युत् जडान गरिसकेको छ, मार्बल लगाउने कार्य पनि अन्तिम चरणमा छ ।’

नगर विकास समितिलाई समयमा रुपैयाँ भुक्तान गर्न नसक्नाले पनि ठेकेदार कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती गरेको नगर विकास समितिका नायव सुव्वा पुष्पराज भट्टले बताए । ‘नगर विकास समितिले पूर्णता पाएन, सरकार सकिने बित्तिकै समिति पनि फेरबदल हुन्छ, अहिले पनि समितिले पूर्णता पाएको छैन, समितिले पूर्णता नपाउँदा म्याद थप पनि भएको छैन,’ उनले भने । सहरी विकास मन्त्रालयले समयमै बजेट निकासा नगर्दा निर्माण कम्पनीलाई रकम भुक्तान गर्न नसकिएको नगर विकास समितिको कार्यालयका नायव सब्बा पुष्पराज भट्टले बताए ।

‘मन्त्रालयले समयमा रकम दिएन, नगर विकासले पनि ठेकेदार कम्पनीलाई दिन सकेनौं,’ उनले भने । मन्त्रालयमा मन्त्री फेरबदल हँुदा नगर विकासको अध्यक्ष पनि मन्त्रालयमा भएको पार्टीको व्यक्ति हुने हुँदा पनि निर्माण कार्यमा ढिलाइ भएको इन्जिनियर मोहनदेव भट्टले बताए । ‘मन्त्रालय समय–समयमा फेरबदल हुन्छ, मन्त्रालय जसको हुन्छ उसकै पार्टीको मान्छे अध्यक्ष हुन्छ, नगर विकास समितिले समयमा पूर्णता पाउँदैन,’ उनले भने ।

तराई बन्द र आन्दोलनले गर्दा आवश्यक सामग्री आपूर्ति हुन नसक्दा निर्माणमा कार्यमा ढिलाइ भएको उनले बताए । ‘महेन्द्रनगर नगर विकास समितिको आफ्नै आयस्रोतबाट सिटी हल निर्माण भइरहेको छ,’ उनले भने, ‘नगर विकास समितिको जमिन बिक्रीवितरण तथा घर बहालबाट उठ्ने रकमबाट नै सिटी हलको निर्माण भइरहेको हो ।’

सुदूरपश्चिममा सभागृहको आवश्यकतालाई मध्यनजर गरेर २०६५ सालमा नगर विकास समितिका अध्यक्ष कान्तुराम पनेरु नेतृत्वको समितिले सिटी हल निर्माण कार्य सुरु गरेको नायव सुब्बा पुष्पराज भट्टले बताए । उनका अनुसार सिटी हलको निर्माण कार्य सुरु भएपछि पुस्कल चौधरी, मोहन गिरी, पल्टु राना, गोपाल रसाइली, सुरेन्द्रबहादुर विष्टले पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि सुरेन्द्रबहादुर विष्ट नै अध्यक्ष पदमा रहेका छन् ।

भवन निर्माणको काम श्याम सुन्दर गौरी पार्वती जेभी कम्पनीले २०६५ असार ८ गतेदेखि सुरु गरेको थियो । २ वर्ष ६ महिनामा सिटी हलको निर्माण गरिसक्ने लक्ष्य लिइएपनि सम्पन्न हुन नसकेपछि २०६८ जेठ २ गते ६ महिनाको अवधिमा निर्माण गर्ने गरी समय थप गरिएको थियो ।

दोस्रो पटकको समय अवधिमा पनि निर्माण गर्न नसकेपछि तेस्रो पटक २०६८ असोज २९ गते ३ महिना समय थप गरिएको थियो । तर, तेस्रो पटक पनि सिटी हल निर्माण हुन नसकेपछि २०६९ पुस १ गते चौथो पटक समय थप गरिएको थियो । चौथो पटकको लक्ष्य पूरा नभएपछि २०७२ साउन १३ गते समय थप गरियो । तर, निर्माण नसकिएपछि २०७३ कात्तिक २७ गते समय थप गरेर २०७४ जेठ मसान्तमा निर्माण कार्य सक्ने लक्ष्य लिएर निर्माण कार्य भएपनि निर्माण गर्न नसकेको नायब सुब्बा पुष्पराज भट्टले बताए ।

‘सिटी हल निर्माणमा अहिलेस ७ करोड ६३ लाख ३९ हजार रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने । श्याम सुन्दर गौरी पार्वती जेभी निर्माण कम्पनीले ८ करोड ९३ लाख ५२ हजार १ सय २ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । सिटी हलमा १ हजार जना अट्ने एउटा सभागृह, २ सय जना अट्ने बालकोनी, ८ सय जना अट्ने मुख्य हल, २ सय जना अटाउने मिनि हल र ड्रेसिङ रुम लगायतका हल रहेका छन् ।

सिटी हल निर्माण भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सहज हुने अपेक्षा गरिएको छ । अहिले सुदूरपश्चिममा हुने सभा सम्मेलन गर्न तथा औपचारिक कार्यक्रम गर्न सभाकक्षको अभाव छ । तर, सिटी हल निर्माण भएपछि सहज हुने नगर विकास समितिका इन्जिनियर भट्ट बताउँछन् ।

सिटी हललाई कसरी सञ्चालन गर्ने भन्नेबारे अहिलेसम्म नगर विकास समितिले केही नसोचेको भट्ट बताए । ‘नगर विकास समितिले पूर्णता पाएको छैन, समितिले पर्णता नपाउँदा कसले सञ्चालन गर्ने भन्नेमा नगर विकासले केही सोच बनाएको छैन, समितिले पूर्णता पाएपछि कसले कसरी सञ्चालन गर्ने टुंगो लाग्छ,’ उनले भने । समितिले पूर्णता पाएपछि महेन्द्रनगर विकास समितिको बोर्ड बैठकमा छलफल गरिने नायव सुब्बा भट्टले बताए ।

 


सम्बन्धित