९७३ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०४ , १०:१४ बजे

कर्मचारीको कार्यशैली देखेर आपूर्ति राज्यमन्त्री नै हैरान

Image

धनगढी । दशैतिहारको मुखैमा धनगढीमा बजार अनुगमन गर्न निस्केका आपूर्तिमन्त्री कर्णबहादुर विक अनुगमनसँग सम्बन्धित कार्यालयका कर्मचारीको कार्यशैली देखेर हैरान भएका छन् ।

बजार अनुगमनका क्रममा आवश्यक पर्ने उपकरण र कागजात बिना नै कर्मचारी अनुगमनमा आएपछि राज्यमन्त्री विक हैरान भएका हुन् । अनुगमनमा कर्मचारीको चरम लापरवाही देखिएपछि विषयगत कार्यालयका कर्मचारीलाई राज्यमन्त्रीले झपारेका छन् । धनगढी पुगेका राज्यमन्त्री विकसहित आपूर्ति मन्त्रालयको अनुगमन शाखाले बजार क्षेत्रमा अनुगमन गरेको थियो ।

अनुगमनमा विषयगत कार्यालयका कर्मचारी आवश्यक कागजात र उपकरण बिना नै सहभागी भएपछि राज्यमन्त्री कर्मचारीप्रति आक्रोशित भएका थिए । अनुगमनमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र क्षेत्रीय नापतौल कार्यालयका कर्मचारीको लापरवाही देखाएका थिए ।

सरकारी कार्यालयका प्रमुखसँग मंगलबार धनगढीमा भएको छलफल कार्यक्रममा चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन दिएपछि आपूर्ति राज्यमन्त्री विक अनुगमनमा निस्केका थिए । क्षेत्रीय नापतौल कार्यालयका प्रमुख प्रेमदत्त कलौनीलाई ढक तराजुको तौल ठिक भए/नभएको जाँच गर्न भनेपछि कार्यालय प्रमुख कलौनीले ढक तराजु नाप्ने यन्त्र नल्याएको बताउँदा राज्यमन्त्री विक र कलौनीबीच चर्काचर्की नै भएको थियो ।

खाद्य उद्योगमा गरिएको अनुगमनमा ढक तराजुको तौल सही भए/नभएको जाँच गर्नका लागि आवश्यक सबै उपकरण लिएर आउन जिल्ला बजार अनुगमन समितिले सबै विषयगत कार्यालयलाई जानकारी गराएको थियो । तर, अनुगमन समितिको बैठकमा सहभागी भएर बजार अनुगमनमा निस्कँदा उपकरण नभएपछि राज्यमन्त्रीले आक्रोश पोख्दा क्षेत्रीय नापतौल कार्यालयका प्रमुख प्रेमदत्त कलौनी जानकारी नभएको भन्दै पन्छिएका थिए ।

अनुगमनका क्रममा शंकास्पद चामल फेला परेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको तर्फबाट सहभागी खाद्य निरीक्षक कृष्णदत्त लेखकलाई चामलको नमूना लिन राज्यमन्त्री विकले निर्देशन दिँदा खाद्य निरीक्षक लेखकले मुचुल्का बनाउनका लागि आवश्यक पर्ने काजगात नभएको भनेपछि फेरि राज्यमन्त्री विक आक्रोशित भएका थिए ।

विषयगत कार्यालयका कर्मचारीको मिलेमतोको आशंकामा अनुगमन गरिने स्थानको पूर्वजानकारी दिइएको थिएन । ‘विषयगत कार्यालयका तर्फबाट अनुगमनका लागि आवश्यक सबै प्रक्रिया पुग्ने गरी आउन भनिएको थियो । तर, कर्मचारीको लापरवाहीले निराश हुनुप¥यो,’ राज्यमन्त्री कर्ण विकले भने ।

 


About Author
-मानसखण्ड