१११० पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०४ , १०:०० बजे

सिद्धनाथ विज्ञान क्याम्पसमा हरेक वर्ष लापरवाही

Image

महेन्द्रनगर। सिद्धनाथ विज्ञान क्याम्पसको स्नातक तह (बीएस्सी) चौथो वर्ष गणित समूहमा अध्ययनरत विद्यार्थीको कम्प्यूटर प्रोग्रामिङ विषयको प्रयोगात्मक परीक्षाको नम्बर मार्कसिटमा नचढ्दा १३ विद्यार्थी फेल भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजामा क्याम्पसका गणित समूहका सबै विद्यार्थीलाई कम्प्यूटर प्रोग्रामिङ विषयको प्रयोगात्मक परीक्षा अनुपस्थित देखाइएको छ । प्रयोगात्मक परीक्षामा सहभागी हुँदाहुँदै पनि अनुपस्थित देखाइएपछि विद्यार्थीले क्याम्पस प्रशासनलाई दोष लगाएका छन् । तर, क्याम्पस प्रशासनले परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले अनुपस्थित देखिएको जनाएको छ ।

क्याम्पस प्रशासनको लापरवाहीले बीएस्सी चौथो वर्षमा अध्ययनरत गणित समूहका सबै विद्यार्थीले फेल हुनुपरेको विद्यार्थी नवराज अवस्थीले बताए । ‘हामी कम्प्यूटर प्रोग्रामिङको प्रयोगात्मक परीक्षामा सहभागी भएको थियौं, गयल भएको देखाएको छ,’ उनले भने, ‘क्याम्पसको लापरवाहीले गत वर्ष पनि गणित समूहका विद्यार्थीहरू फेल भएका थिए ।’

उनका अनुसार फेल हुनेमा नवराज अवस्थी, रण रोकाया, गोपाल बोहरा, लोकराज जोशी, कृष्ण बुढा, मदन रोकाया, पियुषा रोकाया, विश्वेश्वरप्रसाद भट्ट, कमल रावल, वासुदेव जोशी, वीर ठगुन्ना, सुरेन्द्र साउँद र विशाल चौधरी रहेका छन्।

गत वर्ष पनि क्याम्पसको लापरवाहीले ‘टिचिङ मेथोडोलोजी’को प्रयोगात्मक परीक्षामा अनुपस्थित भएको देखाउँदा गणित समूहकै बिएस्सी चौथो वर्षमा अध्यनरत सबै विद्यार्थीले फेल भएका विद्यार्थी गोपाल बोहराले बताए । ‘गत वर्ष पनि सबै विद्याथीलाई अनुपस्थित देखाएको थियो, यो वर्ष पनि त्यस्तै भएको छ, क्याम्पसले नै प्रयोगात्मक विषयको परीक्षाको रिजल्ट नपठाएको हो,’ उनले भने, ‘पटक–पटक विद्यार्थी गयल भएको देखाउनुमा क्याम्पसको लापरवाही हो भन्ने प्रष्ट हुन्छ ।’

बिएस्सी चौथो वर्षमा अध्ययनरत गणित समूहका विद्यार्थीले कम्प्यूटर प्रोग्रामिङको प्रयोगात्मक परीक्षा दिएको भएपनि गयल भएको देखिएको सिद्धनाथ विज्ञान क्याम्पसका गणित विषयका शिक्षक जयदेव नाथले बताए । ‘गत वर्ष पनि यस्तै भएको थियो, क्याम्पसले नम्बर नपठाएको हुन पनि सक्छ, बाटोमा नै छुटेको हुन सक्छ, के भएको हो, बुझ्छु,’ उनले भने ।

क्याम्पसले प्रयोगात्मक परीक्षाको रिजल्ट (नम्बर) पठाएको गणित विषयका प्राध्यापक कृष्णबहादुर चन्दले बताए । ‘परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई प्रयोगात्मक परीक्षाको रिजल्ट पठाएका हौं, मार्कसिटमा चढाउन छुटेको हुन सक्छ, बुधबार बिहान १० बजे परीक्षा नियन्त्रण कार्यालय बल्खु काठमाडौंलाई मार्कसिट पठाउँछौ, ३/४ दिनमै सुधार भएर आउँछ,’ उनले भने ।