५९५ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०३ मंगलबार, ०७:०७ बजे

बल्ल खुल्यो विश्वविद्यालयको ताला

Image

महेन्द्रनगर । विगत १ महिना ७ दिनदेखि ठप्प रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको प्रशासनिक काम कारवाही सोमबारदेखि सुचारु भएको छ ।

विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको प्रशासन शाखामा तालाबन्दी गरेको नेविसंघका माग विश्वविद्यालयले सम्बोधन गर्ने भएपछि तालाबन्दी खुलेसँगै ठप्प रहेका नियमित कामकाज सुचारु भएका हुन् ।

संगठनले उठान गरेका माग सम्बोधन गर्न विश्वविद्यालयका पदाधिकारी सकारात्मक देखिएपछि तालाबन्दी खोलिएको नेविसंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक कैलाश चन्दले बताए । उनका अनुसार नेविसंघले उठान गरेका मागका विषयमा छलफल गर्न आईतबार होटल ओपेरामा विश्वविद्यालयका विभिन्न संकायका डीन र विद्यार्थी नेताको बैठक बसेको थियो ।

नेविसंघले गत साउन २४ गते विभिन्न माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान संकायको प्रशासन शाखामा तालाबन्दी गरेको थियो । उसले त्यतिबेला विज्ञान तथा प्रविधि संकायको वातावरण विज्ञान विषयमा प्रक्रिया मिचेर तर्कराज जोशीलाई नियुक्त गरिएको भन्दै तत्काल नियुक्ति खारेजी गर्न माग गरेको थियो ।

नेविसंघले विश्वविद्यालय ऐन २०६७ को दफा ३ को २ पूर्णताका लागि आवश्यक पहल गर्नुपर्ने, विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्नुपर्दा वरिष्ठता र योग्यतालाई प्राथमिकता दिनुपर्ने दोहोरो प्राध्यापन अन्त्य गर्नुपर्ने लगायतका माग गरेको थियो ।


About Author
-मानसखण्ड