४४३ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०२ , २०:०३ बजे

प्रदेशका सञ्चारमाध्यम सशक्त हुनुपर्नेमा जोड

Image

महेन्द्रनगर। रेडियो महाकालीले महेन्द्रनगरमा आयोजना गरेको ‘संघीय संरचनामा प्रादेशिक मिडियाको आवश्यकता’ विषयक विचार गोष्ठीमा सहभागी अधिकांश वक्ताले प्रदेशका सञ्चारमाध्यम सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका सहभागीले राज्यका अन्य निकाय प्रादेशिक संरचनामा गइरहेको अवस्थामा प्रदेशका मिडिया सशक्त हुनुपर्ने बताएका छन् । देश संघीयतामा गएसँगै शासन प्रणालीलाई जवाफदेही बनाउन मिडियाको प्रादेशिक संरचनामा आवश्यकता रहेको पूर्वसञ्चारमन्त्री शंकर पोखरेलले बताए । ‘देश संघीयतामा जाँदैछ, प्रदेश सरकारलाई नीति नियम बनाउने अधिकार हुन्छ, अधिकारको दुरुपयोग हुन नदिन सञ्चारमाध्यमको आवश्यकता पर्छ,’ उनले भने, ‘प्रदेशमा शासनको पारदर्शिता कायम गर्न पनि मिडियाको आवश्यकता छ, संविधान कार्यान्वयनमा पनि मिडियाले भूमिका खेल्नुपर्छ, अब सञ्चारमाध्यमले अर्थतन्त्रलाई केन्द्रविन्दु बनाउनु आवश्यक छ ।’

राष्ट्रको रक्षामा सबै राजनीतिक दल लाग्नुपर्ने उनले बताए । ‘राष्ट्रको पक्षमा नेकपा एमाले लागेको छ, प्रतिपक्षको रुपमा रहेका राजनीतिक दल शक्तिमा देखिएका छन्, शक्तिमा रहेका शक्ति प्रतिपक्षमा देखिएका छन्,’ उनले भने, ‘नेपालको रक्षा नेकपा एमालेले गर्दै आएको छ, राष्ट्रको रक्षामा सबै लाग्नुपर्छ, संशोधनको नाम संविधान फिर्ता हुने थियो, एमालेको अडानले संविधान बनेको हो ।’ ७ नम्बर प्रदेशलाई व्यवस्थित बनाउन प्रादेशिक संरचनामा मिडियाको आवश्यकता रहको नेकपा एमाले कञ्चनपुरका सहसचिव रणबहादुर महराले बताए ।

‘स्थानीय तहले जनप्रतिनिधि पाइसकेको छ, स्थानीय तहलाई व्यवस्थित गर्नतिर जनप्रतिनिधिको ध्यान गएको देखिएको छैन, यसमा पनि मिडियाले चासो लिनुपर्ने देखिन्छ, अब बन्ने प्रदेश सरकारले बनाउने नीति नियम बनाउँदा पनि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने । प्राकृतिकरुपमा भरिपूर्ण रहेको ७ नम्बर प्रदेशलाई विकास र समृद्धि गर्न मिडियाको आवश्यकता रहेको व्यवस्थापिका संसद सदस्य कृपाराम रानाले बताए । ‘जनताको आवाज मिडियाले बोल्नुपर्छ, समाजका हरेक समस्या, विकृति हटाउन मिडियाको आवश्यक छ,’ उनले भने ।

समाजमा हुने सामाजिक विभेद, क्षेत्रीयताको विभेद, भूगोलको विभेद लगायतका विभेदमा मिडियाले खबरदारी गर्नुपर्ने युवा संघ नेपालका सचिव वचनबहादुर सिंहले बताए । ‘७ नम्बरका समस्या र विकृति उजागर गर्न पनि मिडियाको प्रादेशिक संरचनामा आवश्यक छ,’ उनले भने । प्रादेशिक संरचनामा मिडियाको विकास गर्न राजनीतिक दल, बृद्धिजीवी र पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने नेपाल पत्रकार महासंघका केन्दीय सदस्य श्याम भट्टले बताए । ‘यसमा सरकार उत्तरदायी हुनुपर्छ,’ उनले भने ।


प्रदेश सञ्चालन र सशक्त बनाउन प्रदेश संरचनामा मिडियाको आवश्यकता रहेको नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष विष्णुदत्त अवस्थीले बताए । ‘प्रादेशिक संरचनामा मिडिया सशक्त र स्वतन्त्र हुनपर्छ,’ उनले भने । नेपाल संघीयमा गइरहेकाले मिडियामा दक्ष सञ्चारकर्मी उत्पादन गर्नुपर्ने आवश्यकता रहेको वरिष्ठ पत्रकार चित्राङ्ग थापाले बताए । ‘स्थानीय विभिन्न भाषीले बुझ्ने सरल तरिकाले मिडियाले बुझाउन सक्नुपर्छ, भोलिका दिनमा भाषाका समस्या मिडियाले ध्यान दिँदै सुधार गर्नुपर्छ,’ उनले भने ।

प्रदेश स्तरमा रहेका मिडियालाई सरकारले नीति नियम बनाएर सशक्त बनाउनुपर्ने आवश्यकता रहेको रेडियो सुदूर सन्देशका सञ्चालक हेमन्त पौडेलले बताए । दलगत विभाजनले सञ्चार क्षेत्रमा खेल्नुपर्ने भूमिका खेल्न नसकेको नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताए । ‘राजनीतिकरणबाट बाहिर लागेर स्वच्छ रुपमा पत्रकारिता गर्न सकिन्छ,’ उनले भने ।

मिडियाले सामाजिक सद्भाव खल्बलाउने खालको कार्य गर्न नहुने नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर ज्ञवालीले बताए । ‘कतिपय मिडियाबाट सामाजिक सद्भावमा खल्ल पुग्ने, समाजमा विभेद पैदा हुने कार्य हुन्छन्, यस्तो हुनु हुँदैन,’ उनले भने । रेडियो महाकाली अध्यक्ष खेम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसञ्चारमन्त्री शंकर पोखरेल प्रमुख अतिथि रहेका थिए ।