१५४९ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०२ , ०७:३८ बजे

सुदूरपश्चिमले कार्यकारी नेतृत्व पाएपनि विकास पाएन : पूर्वसञ्चारमन्त्री पोखरेल

Image

धनगढी । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सुदूरपश्चिम क्षेत्रका नेताले पञ्चायतकालदेखि अहिलेसम्म राज्यको नेतृत्व गरिरहेको भएपनि सुदूरपश्चिमको विकास हुन नसकेको बताएका छन् ।

सुदूरपश्चिम क्षेत्रमै जन्मिएका नेता धेरै पटक देशको कार्यकारी प्रमुख भइसक्दा पनि नागरिकले अपेक्षा गरेअनुरुप विकास हुन नसक्नु विडम्बना भएको उनले बताए । आईतबार धनगढीमा आयोजित रेडियो सुदूर सन्देश १०४ मेघाहर्जको पाँचौ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वसञ्चार मन्त्री पोखरेलले समयको माग अनुरुप सुदूरपश्चिम क्षेत्रले विकासमा गति लिएको समेत बताए । ‘पर्यटन, कृषि तथा जडीबुटीमा अथाह सम्भावना रहेको क्षेत्रको विकास हुन यसको सिंगो देशलाई नै फाइदा पुग्नेछ,’ उनले भने ।

समाज परिर्वतनको मेरुदण्डको रुपमा रहेका सञ्चारमाध्यम संवेदनशील तथा जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । कतिपय संवेदनशील राष्ट्रिय मुद्दामा नेपालका राजनीतिक दलसँगै मिडिया समेत विभाजित हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘यसले देशलाई राष्ट्रिय रुपमै ठूलो असर पार्छ ।’

राष्ट्रिय मुद्दामा संवेदनशीत तथा जिम्मेवार भएर काम गर्न उनले सञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापा, सांसद कृपा राना, धनगढी उपमहानगरपालिका मेयर नृप ओड, अग्रज पत्रकार चित्राङ्ग थापाले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमालेका कैलाली जिल्ला सचिव रणबहादुर चन्द, नेपाली कांगेसका प्रतिनिधि टेकबहादुर रैका, नेकपा माओवादी केन्द्र कैलालीका जिल्ला प्रवक्ता रमेश धामी, अग्रज पत्रकार खेम भण्डारी, सामुदायिक रेडियो प्रसारण संघका ७ नम्बर प्रदेश संयोजक दीर्घराज उपाध्याय, वानका सुदूरपश्चिम संयोजक गोविन्द रोस्यारा, सुदूरपश्चिम बस व्यवसायी संघका अध्यक्ष टेकराज जोशी, नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट, लायन्स क्लब इन्टरनेसनल ७ नम्बर प्रदेश एरिया चिफ कैलाश दाहाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टले शुभकामना मन्तव्य राखेका थिए ।

रेडियो सुदूर सन्देशकी निर्देशक टिका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियोका प्रबन्ध निर्देशक हेमन्त पौडेलले गरेका थिए भने स्वागत मन्तव्य सुदूर सन्देश दैनिकका कार्यकारी सम्पादक सुशील ढुंगानाले राखेका थिए ।

विभिन्न ६ जना सम्मानित
रेडियो सुदूर सन्देश १०४ मेघाहर्जले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा विभिन्न ६ जनालाई सम्मानित गरेको छ । रेडियो स्थापना लगायत क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दैै व्यवसायी झपट बोहरा, ओमप्रकाश अग्रवाल, समाजसेवी गजेन्द्रविर चन्द र शाही हस्पिटल हल्द्वानीका प्रवन्ध निर्देशक डा. मोहन सती, सक्सेना अस्पताल पलियाका सञ्चालक एके सक्सेनालाई सम्मानित गरेको छ । पत्रकारिता क्षेत्रमा मार्गनिर्देश गरेको भन्दै वरिष्ठ पत्रकार खेम भण्डारीलाई सम्मानित गरेको छ ।


About Author
-मानसखण्ड