४४१ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०२ , ०७:११ बजे

विश्वविद्यालयको केन्द्रीय कार्यालय खोल्न अनेरास्ववियूको माग

Image

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विगत १ महिनादेखि यथावत् रहेको तालाबन्दी यथाशीघ्र खोल्ने वातावरण बनाउन माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियू कञ्चनपुरले उपकुलपति भुषण श्रेष्ठलाई आईतबार ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियूले बुझाएको १८ बुँदे ज्ञापनपत्रको पहिलो बुँदामा सम्बन्धी आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट समाधान गरी करिब १ महिनादेखि विज्ञान संकाय र केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दी यथाशीघ्र खोल्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

अनेरास्ववियूले विद्यार्थीको साझा संस्था स्ववियूको निर्वाचन गर्न, यथाशीघ्र विश्वविद्यालयको आफ्नै पाठ्यक्रम र शैक्षिक निर्देशिका लागू गराउनुपर्ने, शैक्षिक क्यालेण्डर निर्माण गरी सोही बमोजिम लागू गरिनुपर्ने माग गरेको छ ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष ओम बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीले छात्रावास लगायतका सेवासुविधा पाउनुपर्ने, केन्द्रीय कार्यालयमा इ–लाइब्रेरीको व्यवस्था गरिनुपर्ने, विश्वविद्यालयको आधिकारिक वेवसाइट तत्काल सञ्चालन गर्नुपर्ने, अन्य विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।

अनेरास्ववियूले विश्वविद्यालयका गाडीको दुरुपयोग रोक्दै विश्वविद्यालयको पहिचान हुने व्यवस्था तत्काल गर्न, सम्पर्क कार्यालय तत्काल बन्द गरी उपकुलपति र रजिस्ट्रारले केन्द्रीय कार्यालयबाट नै कार्य सञ्चालन गर्नुपर्ने, विश्वविद्यालय नियमावली विपरीत केही प्राध्यापक र कर्मचारी अन्य शिक्षण संस्थामा प्राध्यापन गरिरहेको कार्यलाई तत्काल बन्द गरिनुपर्ने तथा भवनहरू सम्झौता समयमै निर्माण गरिनुपर्ने लगायतका माग गरेको छ ।

अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेत सहितको टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि उपकुलपति भुषण श्रेष्ठलाई आईतबार ज्ञापन बुझाएको हो । 


About Author
-मानसखण्ड

सम्बन्धित