६५७ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०१ , १८:५३ बजे

पहिचान खबर पत्रिकाको वार्षिकोत्सवमा रक्तदान

Image


महेन्द्रनगर । कञ्चनपुरको झलारीबाट प्रकाशित हुने पहिचान खबर नेपाली दैनिकले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

पत्रिका प्रकाशनको तेस्रो वर्ष पूरा भएको अवसरमा पहिचान खबर दैनिकको आयोजना र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको प्राविधिक सहयोगमा आईतबार झलारीमा रगत संकलन गरिएको हो । कार्यक्रममा न्यू झलारी क्लीनिकका बालकृष्ण देवकोटा र तपेन्द्र बुढा, नेपाल बंगलादेश बैंकका शाखाका प्रबन्धक तर्कबहादुर साउँद, शुक्लाफाँटा नगरपालिकाको ५ नम्बर वडाका अध्यक्ष कमलराज गिरी, बैजनाथ माध्यमिक विद्यालय कसरौलका अध्यक्ष चक्रबहादुर साउँद, गुडलक फाउन्डेसनका भीम ठकुल्ला र सोनिया व्यूटी पार्लरकी प्रमिला राना गरी ७ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमबाट ७ प्रिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका रक्त संकलन प्रमुख नरेन्द्रदेव जोशीले बताए । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा निष्पक्ष र धाँधलीरहित तवरले समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘निडर र निष्पक्ष भएर समाचार संकलन सम्प्रेषण गर्नुहोस्, नगरपालिका पत्रकारलाई सधै सहयोग गर्न तयार छ,’ उनले भने, ‘शुक्लाफाँटा नगरपालिकाका नकारात्मक पक्षलाई पनि समाजमा पुर्‍याइदिनुहोस्, हामीलाई पनि आफ्ना कमीकमजोरी सुधार गर्न सहज हुन्छ ।’


पहिचान खबर दैनिक ३ वर्ष पहिले जन्मेर हुर्किसकेकाले अब निरन्तर अगाडि बढ्ने नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णुदत्त अवस्थीले बताए । ‘धेरै पत्रिकाको जन्म हुन्छ, मर्छन् । तर, यो पत्रिका हुर्किसकेको छ,’ उनले भने, ‘मानिस र राजनीतिक व्यक्तिको चाहना मिडियाले सधै मेरो प्रशंसा गरोस् भन्ने हुन्छ, कुनै गलत समाचार लेख्यो भने यो हाम्रो विरोधी रहेछ भन्ने गर्छन्, कतिपय अवस्थामा लेखेकै भरमा डरधम्की आउँछन् । तर, यस्तो हुनु हुँदैन ।’

पत्रकारले डरधाकमा समाचार लेख्न छोडे समाजमा विसंगति बढ्दै जाने ८ नम्बर वडाका वडा अध्यक्ष बहादुरसिंह महराले बताए । ‘कसैको डरधम्की नमानेर समाचार संकलन सम्प्रेषण गर्नुपर्छ, पत्रिकाले विगतदेखि समाजमा भएका विसंगतिको बारेमा लेख्दै आएको छ, आगामी दिनमा पनि लेख्नुहोला,’ उनले भने । कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाकी उपप्रमुख तुलसी हमाल, नेकपा एमालेका जिल्ला सहसचिव रणबहादुर महरा, झलारीपिपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


About Author
-मानसखण्ड