१३७६ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०१ , ०८:२८ बजे

असोज १९ गतेदेखि महेन्द्रनगरमा रामलिला हुने

Image

महेन्द्रनगर । रामलिला समिति कञ्चनपुरले असोज १९ गतेदेखि महेन्द्रनगरमा रामलिला आयोजना गर्ने निर्णय गरेको छ ।

रामलिला समिति कञ्चनपुरको दोस्रो वार्षिक साधारणसभाले रामलिला गर्ने निर्णय गरेको हो । शनिबार रामलिला समितिका अध्यक्ष समाजसेवी दानसिंह ठकुराठीको अध्यक्षतामा तथा राधाकृष्ण मुक्तिनारायण मन्दिरका स्वामी श्रीश्री १००८ प्रपन्नाचार्य महाराजको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । साधारणसभाले रामलिलालाई सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिएको छ ।

विगतजस्तै यस वर्ष पनि रामलिला देखाइने र रामलिलालाई अझैं परिस्कृत र सभ्य बनाउनुपर्नेमा साधारण सभामा छलफल भएको छ । साधारणसभाले अध्यक्ष दानसिंह ठकुराठीको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्ने र अन्य विभिन्न उपसमिति बनाउने निर्णय गरेको समितिका महासचिव समरजंगबहादुर चन्दले बताए ।

आर्थिक संयोजकको जिम्मा पुनः घनानन्द लेखकलाई दिने र विभिन्न उपसमिति निर्माण गर्ने जिम्मा सचिवालयलाई दिने सभाले निर्णय गरेको छ । रामलिला समिति कञ्चनपुरको स्मारिका ‘रामलिला मञ्जरी’ प्रकाशन गर्ने र त्यसको विमोचन असोज १९ गते गर्ने निर्णय भएको छ ।

भगवान श्रीरामको आदर्श चरित्रलाई जनमानसमा प्रस्तूत गर्ने र आदर्श समाज निर्माणार्थ लामो समयदेखि अवरुद्ध भएको रामलिला २ वर्षयता निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ । साधारणसभामा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी जिल्लाका सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । रामलिला परिसरमा मादक पदार्थ पूर्णरुपमा निषेध गरिएको छ भने रामलिलास्थल प्रवेश गर्दा मापसे चेकजाँच गरिने भएको छ ।

रामलिलाको तयारी सम्पूर्ण पूरा भइसकेको र पात्रलाई तालिम दिने काम अन्तिम चरणमा पुगेको महासचिव समरजंगबहादुर चन्दले बताए । महासचिव चन्दले संस्कृति र पर्यटनको विकास गर्न रामलिला प्रेरणादायी भएको बताए । साधारणसभामा कोषाध्यक्ष विष्णुदत्त भट्टले वर्तमान अवस्थामा कोषको स्थिति र लेखा परीक्षण प्रतिवेदन प्रस्तूत गरेका थिए ।

साधारणसभालाई ४ नम्बर वडाका वडाध्यक्ष लक्ष्मीदत्त बोहरा लगायतले सम्बोधन गरेका थिए । अध्यक्ष बोहराले पुरानो जानकी कन्या माविमा रामलिला समितिको सचिवालय स्थापना र धर्मशाला बनाउनका लागि नगरपालिकासँग पहल गर्ने प्रतिवद्धता जनाएको महासचिव चन्दले बताए ।

रामलिलाका अध्यक्ष दानसिंह ठकुराठीले समाजका विभिन्न समस्यालाई ध्यानमा राखी रामलिला अवधिमा विभिन्न सामाजिक समस्याको बारेमा विभिन्न संस्था र व्यक्तिसँग अन्तक्र्रिया गरिने बताए । साधारण सभाले बाल अनाथालयका लागि सम्पूर्ण श्रद्धालु भक्तजनमा सहयोगार्थ केही खाद्यान्न सहयोगको अपेक्षा गरेको छ । 

रामलिला आयोजनाको लागि करिब १२ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ भने सहयोगका लागि सबैलाई अपिल गरिएको छ । साधारणसभामा स्वागत मन्तव्य अध्यक्ष दानसिंह ठकुराठीले राखेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष हरिदत्त लेखकले गरेका थिए ।

 


About Author
-मानसखण्ड

सम्बन्धित