२०७५ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०१ , ००:४७ बजे

जनज्योतिमा घमासान

Image

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित जनज्योति आधारतभूत विद्यालयमा ४ वर्षअघि सुरु भएको सामान्य विवाद घमासान लफडामा परिणत भएको छ ।

२०७० सालमा विद्यालय प्रशासन र १ जना शिक्षकबीच भएको विवाद बढ्दै गएर जिल्ला शिक्षा कार्यालय समेत विवादमा मुछिएको छ । शिक्षकको तलब निकासा विवादले विद्यालयको खाता बन्द हुँदा अन्य शिक्षकले समेत तलब पाउनबाट वञ्चित हुनुपरेको छ । विद्यालय प्रशासनसँग विवादमा रहेका शिक्षक विरेन्द्रप्रसाद भट्टले राजीनामा दिएपनि निवृत्तिभरणका लागि आवश्यक पर्ने कागजात विद्यालयले दिइरहेको छैन । आवश्यक कागजात नपाउँदा राजीनामा दिएका शिक्षकको निवृत्तिभरण प्रक्रिया समेत रोकिएको छ ।

तत्कालीन प्रधानाध्यापक विरेन्द्रप्रसाद भट्ट मदिरा खाएर विद्यालय आउने गरेको कारण देखाउँदै निमित्त प्रधानाध्यापक सरिता चौधरीले २०७० सालदेखि विद्यालय प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको भट्टले बताए । ‘त्यतिबेलादेखि विद्यालयमा हाजिर लगाउन पनि दिएनन्, तलब पनि दिएनन्,’ भट्टले भने, ‘विद्यालयमा प्रवेश गर्न र काम गर्न नदिएपछि लामो समय जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा आएर बसे, यतै आफ्नो गुनासो राखे ।’ जिल्ला शिक्षा कार्यालयले समस्या समाधान गर्न खोज्दा पनि विवाद समाधान हुन नसकेको भट्टले बताए ।

विवाद नमिलेपछि सरुवा
जनज्योति आधारभूत विद्यालयमा शिक्षक भट्टको विवाद नमिल्ने देखेपछि जिल्ला शिक्षा समितिको २०७२ जेठ २४ गतेको निर्णयले शिक्षक विरेन्द्रप्रसाद भट्टलाई राष्ट्रिय मावि पहरियामा सरुवा गरियो । जिल्ला शिक्षा कार्यालयले २०७२ असार १ गते शिक्षा समितिको निर्णय अनुसार प्राथमिक तहको दरबन्दी मिलानको क्रममा सरुवा पदस्थापन गरिएको जनाएको छ ।

शिक्षक सरुवापछि जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनज्योति आधारभूत विद्यालयलाई नियमानुसार रमाना दिन र राष्ट्रिय मावि पहरियालाई नियमानुसार हाजिर गराई जानकारी दिनुपर्ने व्यहोराको पत्र लेख्यो ।जनज्योति आधारभूत विद्यालयबाट रमाना माग गर्दा पनि नदिएको शिक्षक भट्टले बताए । ‘विद्यालयका प्रधानाध्यापक सरिता चौधरीले जिल्ला शिक्षा कार्यालयले सरुवा गर्दाखेरी हामीलाई सोध्नुपथ्र्यो, हामीलाई किन सोधेन ? रमाना दिँदैनौं भन्ने गरे,’ उनले भने ।

विद्यालयले रमाना नदिएपनि जिल्ला शिक्षा कार्यालयले सरुवा गरेपछि २ महिना राष्ट्रिय मावि पहरियामा काम गरेको भट्टले बताए । ‘२ महिना त राष्ट्रिय माविले रमाना बिना पढाउन दियो, पछि रमाना भएको कागज नभएपछि हाजिर लाउन पाएन । जनज्योतिले रमाना नदिने, राष्ट्रियमा रमाना बिना हाजिर लगाउन नपाइने भएपछि २०७३ मंसिर १३ गते शिक्षक पदबाटै राजीनामा दिए,’ उनले भने ।

जिल्ला शिक्षा अधिकारी मुछिने विवाद
शिक्षक विरेन्द्रप्रसाद भट्टले २०७३ मंसिरमा राजीनामा दिएपनि तत्कालीन जिल्ला शिक्षा अधिकारी अमर भट्टले उनलाई २०७० मंसिर १८ गतेको मितिमा राजीनामा गर्न लगाए । ‘जिल्ला शिक्षा अधिकारीले भनेपछि विवादबाट मुक्त हुन पूरानै मितिमा राजीनामा दिए,’ शिक्षक भट्टले भने । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले २०७० मंसिर १८ गतेदेखि लागू हुने गरी २०७३ मंसिर १३ गते राजीनामा स्वीकृत गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले नै २०७२ सालमा सरुवा गरेका शिक्षकलाई २०७० सालदेखि लागू हुने गरी भनेर राजीनामा गराएपछि विषय झन् विवादित बनेको छ । ‘शिक्षकको हाजिरी कुनै विद्यालयमा नभएकाले शिक्षा विभागसँग सल्लाह गरेर पूरानो मितिमा राजीनामा गर्न लगाएको हुँ,’ जिल्ला शिक्षा अधिकारी अमर भट्टले भने ।

कागजात दिन समेत ढिलाइ
पूरानै मितिमा भएपनि राजीनामा स्वीकृत भएपछि शिक्षक विरेन्द्रप्रसाद भट्टले जनज्योति आधारभूत विद्यालयबाट आवश्यक कागजात माग गरे । अवकाश पछिको सुविधाका लागि विद्यालय शिक्षक किताबखाना काठमाडौंलाई बुझाउनुपर्ने आवश्यक कागजपत्रको लागि निवेदन र पटक–पटक मौखिक जानकारी गराउँदा समेत कागजात दिन ढिलाइ भइरहेको शिक्षक भट्टले बताए ।

विद्यालय प्रशासनलाई बरबुझारत गरेको प्रमाणित पत्र, सेवा प्रमाणित गरेको पत्र, विभागीय सजाय भए/नभएको, अटुट सेवा प्रमाणित वर्ष, महिना, दिन समेत खुल्ने गरी, शिक्षकले खाइपाइ आएको अन्तिम तलब र ग्रेड गरी जम्मा रकम, औषधी उपचार खर्च लिए/नलिएको प्रमाणित, बिरामी बिदा प्रमाणित गरेको पत्र र फाराम प्रमाणित उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयले ५ पटक जनज्योति आधारभूत विद्यालयका नाममा प्रत्राचार गरेको छ । तर, विद्यालय प्रशासनले जिल्ला शिक्षा कार्यालय कञ्चनपुरलाई समेत कागजपत्र बुझाएको छैन । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले २०७३ माघ ९ गते, २०७३ फागुन १ गते, २०७३ चैत १० गते, चैत २० गते र २०७४ बैशाख २० गते कागजपत्र बुझाउन पत्राचार गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले पटक–पटक कागजपत्र बुझाउन पत्राचार गरेपनि विद्यालय प्रशासनले नबुझाएको जिल्ला शिक्षा अधिकारी अमर भट्टले बताए । विद्यालयका प्रधानाध्यापक तथा विद्यालय प्रशासनले विरेन्द्रप्रसाद भट्ट विद्यायलमा नआउँदा शैक्षिक क्षति भएको भन्दै कागजपत्र नदिएको उनले बताए । ‘शिक्षक भट्टले राजीनामा दिनु पूर्व भट्टलाई हाजिर पनि लगाउन दिइएन,’ उनले भने, ‘विद्यालयले विरेन्द्र भट्ट विद्यालय नआउने गरेको भन्दै जानकारी गराएपछि दुबै पक्षको विवाद मिलाउन भट्टलाई लगेर विद्यालयमै गयौं । तर, विरेन्द्रलाई हाजिर लगाउन दिएनन् ।’

विद्यालयको खाता बन्द
विद्यालय प्रशासन, शिक्षक र जिल्ला शिक्षा कार्यालयको कमीकमजोरीले विवाद भइरहेको विद्यालय निरीक्षक देवदत्त पन्तले बताए । ‘विवाद कसरी सुरु भयो भन्ने बुझ्न सकेन । तर, गल्ती सबैले गरेका छन् ।’ जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता चौधरीले २०७० सालदेखि २०७३ मंसिर १३ गते भट्टको राजीनामा स्वीकृत भएसम्मको शिक्षक भट्टको तलब माग गरी प्रयोग गरेकोपछि विद्यालयको खाता बन्द गरिएको जिल्ला शिक्षा कार्यालयका लेखा प्रमुख धर्मानन्द लेखकले बताए ।

‘त्यो अवधिको ५ लाख रुपैयाँभन्दा बढी रकम विद्यालयले माग गरेको छ, माग गरेपछि दिनैप¥यो, रकम अर्काले प्रयोग गरेको पाइएपछि खाता बन्द गरिएको हो, पैसा फिर्ता नगरेसम्म खाता बन्द हुन्छ,’ उनले भने । विद्यालय प्रशासनले माग गरेको रकम निजीस्रोतका शिक्षकलाई दिएको बताएको जिल्ला शिक्षा अधिकारी अमर भट्टले बताए । ‘सरकारी कर्मचारीको तलब निजीस्रोतका शिक्षकलाई दिन मिल्दैन, विद्यालय प्रधानाध्यापक लगायत विद्यालय प्रशासनले आफ्नै ढिपी गर्छन्,’उनले भने ।

जिल्ला शिक्षा कार्यालयले खाता रोक्का गर्दा विद्यालयका शिक्षकले तलब पाएका छैनन् । २ चौमासिकको तलब नपाएको जनज्योति आधारभूत विद्यालयका एक शिक्षकले बताए । ‘तलब पाएका छैनौ, घरखर्च चलाउन समेत समस्या परेको छ, विद्यालयलाई सोध्यो भने जिल्ला शिक्षाले खाता बन्द गरेको छ भन्छन्, शिक्षा कार्यालयमा सोध्यो भने खाता खुल्ला छ भन्छ,’ नाम नखुलाउने सर्तमा एक शिक्षकले भने ।

विवादको विषयमा विद्यालयका प्रधानाध्यापक सरिता चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षीलाल चौधरीले प्रतिक्रिया दिन मानेनन् । ‘फोनमा भन्न सक्दैनौं, हामी जिल्ला शिक्षा कार्यालयमा आउँछौं, पत्रकार सम्मेलन राख्छौं,’ प्राधानाध्यापक चौधरीले भनिन् ।