९१६६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २८ , ०७:१० बजे

महाकाली पुल शिलान्यासको शिलालेख कलहको शिकार

Image

महेन्द्रनगर । महाकाली नदीमा निर्माण हुने ४ लेनको पुल शिलान्यास गरिएको २ साता पनि नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा अनावरण गरिएको शिलालेख उप्काइएको छ ।

झण्डै साढे ३ अर्ब रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको कुमार सीएसइभी जेभी नामक कम्पनी स्वयंले शिलालेख उप्काएको हो ।भीमदत्त नगरपालिका–१२ ओदालीमा भदौ १५ गते प्रधानमन्त्री देउवाले शिलान्यास गर्दा जडान गरिएको शिलालेख ‘सुरक्षाको कारण’ भन्दै उप्काएर ठेकेदार कम्पनीको महेन्द्रनगर जानकीटोलस्थित कार्यालयमा ल्याएर थन्क्याइएको छ ।

ठेकेदार कम्पनीका कर्मचारीले ‘अरु कसैले शिलालेख तोडफोड गर्ने आशंका भएकोले’ शिलालेख उप्काएर ल्याइएको बताएका छन् । नेपाल सरकारको आफ्नै लगानीमा बन्न लागेको ४ लेनको पक्की पुल निर्माणको प्रधानमन्त्री देउवाले भदौ १५ गते सिलान्यास गरेका थिए ।

सोमबार दिउँसो पुल निर्माणको ठेक्का लिएको कम्पनीका कामदारले शिलालेख उप्काएर ल्याएका हुन् । ठेकेदार कम्पनीका लेखापाल विक्रम थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको निर्देशनमा शिलालेख उप्काइएको बताए । उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयसँगको पूर्वसहमति अनुरुप शिलालेख उप्काइएको बताए ।

‘शिलालेखमा जथाभावी ढुंगा हान्ने, केरमेट गरिने भन्ने हिसाबले निकालेर राखेका हौं, पुल निर्माण भएपछि शिलालेखलाई फेरि त्यही राखिने छ ।’ शिलालेख सामान्य मार्बलबाट बनेको छ । अहिले शिलालेखलाई कुमार श्रेष्ठ निर्माण सेवाको कार्यालय महेन्द्रनगरको १ कोठामा टेबलमा राखिएको छ ।

महाकाली नदीमा ८ सय मिटर लामो ४ लेनको पुल निर्माण हुनेछ । पुल २३.८ मिटर चौडाइको हुनेछ । महाकाली नदीसँगै ७.८ किलोमिटरको ४ लेन निर्माण हुनेछ । सरकारले पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये १० करोड रुपैयाँ पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको छ ।

भित्री कुरो यस्तो !
ठेकेदार कम्पनीले सुरक्षाको कारण दर्शाएपनि सो शिलालेख उप्काउनुका पछाडि नेपाली कांग्रेसभित्रको कलह रहेको जानकारी प्राप्त भएको छ । शिलालेखमा प्रधानमन्त्री शेरबहादुर देउवा, भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायर र पूर्वमन्त्री रमेश लेखकको नाम अंकित छ । कञ्चनपुरको ४ नम्बर निर्वाचन क्षेत्रका सांसद लेखक लेखकको नाम अंकित भएकै कारण शिलालेख उप्काउनु परेको स्रोतको दावी छ ।

सांसद तथा पूर्वमन्त्री लेखकको नाम अंकित भएपछि कञ्चनपुरकै अर्का सांसद तथा कांग्रेस नेता एनपी सावदको समूह आक्रोशित भएको थियो । बिना कारण लेखकको नाम अंकित भएपछि सावद समूहले शिलालेख हटाउन प्रधानमन्त्री र मन्त्री बलायरलाई दबाब दिँदै आएको थियो ।

शिलान्यास कार्यक्रममा अरु पूर्वमन्त्री समेत उपस्थित भएको अवस्थामा रमेश लेखकको नाम मात्रै शिलालेखमा समावेश भएपछि विवाद भएको थियो । ‘दबाब थेग्न नसकेपछि मन्त्री बलायरले शिलालेख नै उप्काउन निर्देशन दिएका हुन्,’ नेपाली कांग्रेसको जानकार स्रोतले भन्यो ।

मन्त्री लेखकले सन्दर्भ र औचित्य पुष्टि हुन नसक्ने किसिमले शिलालेखमा आफ्नो नाम अंकित गराएपछि महेन्द्रनगरमा समेत त्यो चर्चाको विषय बनेको थियो । कांग्रेसभित्रको असन्तुष्टि बढ्दै जाँदा सामान्य मार्बलमा लेखिएको शिलालेख ‘सुरक्षाको कारण’ भन्दै उप्काइएको हो ।

‘त्यो शिलालेखको अर्को प्रतिलिपि बनाउन सकिन्थ्यो,’ एक जिम्मेवार स्रोतले भन्यो, ‘सुरक्षा नै गर्नुपर्ने खालको शिलालेख थिएन ।’ सुरक्षाको कारण देखाउँदै शिलान्यासको शिलालेख यसरी उप्काइएको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।

पुल निर्माण कार्यमा ढिलाइ हुने सम्भावना
निर्वाचन आचारसंहिता लागू भएकै दिन प्रधानमन्त्री देउवाद्वारा शिलान्यास गरिएको महाकाली पुलको निर्माणमा ढिलाइ हुने संकेत पाइएको छ । प्रधानमन्त्री तथा उनको दल नेपाली कांग्रेसले चुनावी मुद्दा बनाउन हतारमा हचुवा तरिकाले पुल शिलान्यास गरेको आरोप लाग्न थालेको छ ।

निर्माण कम्पनी कुमार सीएसइभी जेभीका एक उच्च अधिकारीले मानसखण्डसँग सरकारले पुलसम्म जोडिने राजमार्गको मुआव्जा वितरण भएर सडकको रेखाङ्कन नभएसम्म निर्माण कार्य अगाडि बढ्न नसक्ने बताएका छन् । उनले मुआव्जा वितरण तथा रेखाङ्कनको जिम्मेवारी सरकारको भएको बताए ।

सरकारले मुआव्जाका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको भएपनि जग्गा अधिग्रहणको प्रक्रिया नै थालेको छैन । मुआव्जा वितरणमा जति ढिलो भयो, त्यति नै पुल निर्माण कार्य लम्बिने ती अधिकारीले बताए ।

‘पुल निर्माणका लागि आवश्यक उपकरण र सामग्री निर्माणस्थलसम्म लैजान अहिले उपलब्ध सडकबाट सम्भव छैन,’ उनले भने, ‘गड्डाचौकीबाट निर्माणस्थलसम्मको ७.८ किलोमिटर सडक नबनाएसम्म पुल निर्माणको खास काम सुरु गर्न सम्भव छैन ।’

अर्कोतर्फ निर्माण कम्पनीले पुलको दुबैतर्फ २ वटा ठूला क्रसर स्थापना गर्नुपर्ने र सोका लागि जग्गा उपलब्ध हुन नसकेको ठेकेदार कम्पनीका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार क्रसर स्थापनाका लागि जग्गाको प्रबन्ध सरकारले गरिदिनुपर्ने भएपनि हुन सकेको छैन । स्थानीयको जग्गा भाडामा लिएर क्रसर स्थापना गर्दा हुने प्रदूषणले स्थानीय वासिन्दा आन्दोलित हुने आकलन पनि ठेकेदार कम्पनीको छ ।

सडक र क्रसर स्थापनाको व्यवस्था नहुँदै पुलको शिलान्यास गरिएको र काम सुरु गर्न अझै केही समय लाग्ने देखिएकाले स्थानीयको आक्रोश शिलालेखमाथि पर्न सक्ने आकलन गरी शिलालेख उप्काइएको हुन सक्ने ओदाली क्षेत्रका वासिन्दाको अनुमान छ ।