९८५ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २७ , २३:५२ बजे

विद्युत् महसुल बक्यौतामा ‘ठूलालाई चैन सानालाई ऐन’

Image

महेन्द्रनगर। सर्वसाधारणले विद्युत् प्राधिकरणमा महसुल नबुझाए ढिलो नगरी लाइन काटिने गर्छ । तर, केही ‘विशेष’ ग्राहकले महसुल बुझाउन जति ढिला गरेपनि प्राधिकरणले लाइन नकाटेर निरन्तर विद्युत् सेवा दिँदै ‘ठूलालाई चैन र सानालाई ऐन’ गरेको छ ।

लामो समयदेखि कञ्चनपुरका ११ वटा संघसस्थाले ५ करोड ७६ लाख ६९ हजार ५ सय ९ रुपैयाँ विद्युत् महसुल बुझाएका छैनन् । जसमध्ये नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले १० वटा ग्राहकको विद्युत् लाइन काटेको छैन ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले विद्युत् महसुल बुझाउन संघसंस्थालाई समय–समयमा पत्राचार गर्दा समेत नबुझाएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका लेखा प्रमुख हर्कबहादुर साउँदले बताए ।

‘लामो समयदेखि विद्युत् महुसुल बुझाउने सम्बन्धी पत्राचार गर्दै आएका छौं, बुझाउँदैनन्, नेता ठूलाबडाले नै दिन मान्दैनन्,’ उनले भने । सर्वसाधारणको विद्युत् लाइन काटेझैं समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्नुपर्ने भएपनि प्राधिकरणले केही ग्राहकको लाइन समेत काट्ने गरेको छैन ।

राजनीतिक दलका नेता, ठूलाबडाको राजनीतिक दबाब र स्थानीय निर्वाचनको कारणले गर्दा लाइन काट्न नसकेको उनले बताए । ‘१५ दिनभित्र विद्युत् महसुल बुझाउन गोरखापत्रमा सूचना प्रकाशित गरेका छौं, तोकेको समयमा विद्युत् महसुल नबुझाए लाइन काट्छौं,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका सहलेखापाल डम्मरदत्त भाटका अनुसार सबैभन्दा बढी भीमदत्त नगरपालिकाले विद्युत् महसुल बुझाएको छैन । भीमदत्त नगरपालिकाले सडक बत्तीको ५ करोड १८ लाख ८८ हजार १ सय रुपैयाँ बुझाएको छैन ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका क्षेत्रभित्र रहेका पोलको कर नदिएकाले नगरपालिकाले विद्युत् महसुल नदिएको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

‘नगर परिषद्बाट प्रतिपोलको १५ रुपैयाँ वार्षिक दिनुपर्ने निर्णय गरिएको छ, नेपाल विद्युत् प्राधिकरणले पोलको शुल्क दिएको छैन,’ उनल भने, ‘नगरपालिकाले जनप्रतिनिधि पाएको छ, दुबै पक्षबीच छलफल गरी विद्युत् महसुल तिर्छौ ।’

खानेपानी तथा सरसफाई समिति तिलाचौरले ४ लाख ७ हजार ४ सय ३५ रुपैयाँ विद्युत् महसुल बुझाएको छैन । गत माघ महिनमा मिटर फेरेदेखि विद्युत् महसुल बढी आएकाले महसुल तिर्न नसकिएको खानेपानि तथा सरसफाई समिति तिलाचौरका लेखा प्रमुख शंकर बडुले बताए ।

‘पहिला महिनाको ८० हजारदेखि १ लाख रुपैयाँको बीचमा विद्युत् महसुल तिर्नुपथ्र्यो, अहिले पहिलाको भन्दा दोब्बर दिनुपर्छ, समितिको आम्दानी पनि कम छ,’ उनले भने, ‘विद्युत् महसुल किन बढेको हो भन्ने विषय नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र प्रमुखले छानविन गर्ने बताएकाले ढिला भएको हो, चाँडै तिर्छौं ।’

नेपाली कांग्रेस कञ्चनपुरले १ लाख ६० हजार २ सय ८२ रुपैयाँ विद्युत् बक्यौता बुझाएको छ्रैन । कांग्रेस कञ्चनपुरका उपसभापति हरिप्रसाद बोहराले चाँडै महसुल बुझाउने बताए । ‘विद्युत् प्राधिकरणले लाइन काट्नुपथ्र्योे, लाइन काटेन, हामीले पनि विद्युत् महसुल बुझाएनौं, चाँडै बुझाउँछौ,’ उनले भने ।

दैजी गाविस (बेदकोट नगरपालिका)ले ८५ हजार ९ सय १४ रुपैयाँ, कबर्ड हलको ८५ हजार ८ सय ६४ रुपैयाँ, सहरी विकास कार्यालयको १ लाख ३४ हजार ५ सय ३० रुपैयाँ, रेडियो पश्चिम नेपालको ९९ हजार २ सय १८ रुपैयाँ विद्युत् बक्यौता रहेको छ । कोल्ड स्टोर सुडाले ४३ लाख ७१ हजार १ सय ३० रुपैयाँ र वेस्ट स्टार मिडिया सर्विस प्रालिले २ लाख २७ रुपैयाँ विद्युत् महसुल बुझाएको छ्रैन ।

स्थानीय विकास अधिकारीको निवासको ९५ हजार ९ सय १५ रुपैयाँ बक्यौता बुझाएको छैन । स्थानीय विकास अधिकारी धर्मराज जोशीले आफू नयाँ भएकाले के कति बुझाउनु छ थाहा नभएको बताए । ‘मैले भर्खरै मात्र कार्यभार समालेको छु, के कति विद्युत् महसुल बुझाउनु छ, बुझेर बुझाउने छौं,’ उनले भने । साल्ट ट्रेडिङ लिमिटेडले १ लाख ३३ हजार ६५ रुपैयाँ विद्युत् महसुल बुझाएको छैन ।

साल्ट्र ट्रेडिङको नाममा मिटर भएपनि विद्युत् सेफर हस्पिटलले विद्युत् प्रयोग गरेर विद्युत् महसुल नबुझाएकाले ढिलाइ भएको साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख धु्रवमान श्रेष्ठले बताए । ‘सेफर हस्पिटलले प्रयोग गरेको विजुलीको बिल तिर्न बाँकी छ, हस्पिटलले दिएको छैन, केन्द्रिय कार्यालयको निर्णय अनुसार हस्पिटलबाट उठाएर तिर्ने छौं,’ उनले भने ।