१५८३ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २६ , ११:४५ बजे

सुदूरपश्चिममा नेपाली कामदारको चरम अभाव

Image

धनगढी । युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै आन्तरिक निर्माण कार्यका लागि मजदुरको चरम अभाव बढ्दै गएको छ ।

दैनिकजसो ठूलो संख्यामा ऊर्जाशील युवा विदेशिने गरेकाले निर्माण क्षेत्रमा मजदुरको अभाव भएको हो । निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठ्ठीले सुदूरपश्चिम क्षेत्रमा दक्ष कामदारको निकै अभाव भएको बताए । ‘निर्माण क्षेत्रमा दक्ष, अर्धदक्ष र अदक्ष सबै खालका मजदुरको चरम अभाव छ,’ उनले भने, ‘सुदूरपश्चिममा दैनिक करिब २ हजार ५ सय जना सडक निर्माणमा ३ हजार २ सय जना भवन निर्माणमा र करिब ३ हजार ६ सय जना इँटा बनाउने कामको लागि गरी दैनिक ९ हजार ३ सय मजदुर आवश्यक पर्छन् ।’

नेपालमा मजदुर नपाइने भएपछि अधिकांश कामको लागि भारतबाट मजदुर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘सुदूरपश्चिममा दैनिक २५ देखि ३० हजारको हारहारीमा दक्ष, अर्धदक्ष र अदक्ष मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन्,’ उनले भने, ‘सुदूरपश्चिममा भवन निर्माण, इँटा बनाउने र सडक निर्माणमा मात्र झण्डै ७० प्रतिशत भारतीय मजदुर रहेका छन् ।’ गेटा मेडिकल कलेज निर्माणको काममा शतप्रतिशत भारतीय कामदार रहेका छन् ।

नेपाली कामदार नपाइने र पाइएपनि भारतीय कामदारजस्तो खटेर निरन्तर काम नगर्ने भएकाले भारतीय कामदार ल्याउनुपरेको मेडीकल कलेजको निर्माण कार्य गरिरहेको लुम्बीनी रमन केएस जेभिका आयोजना व्यस्थापक शैलेस श्रेष्ठले बताए । ‘नेपाली कामदारले कहिले बिदा लिने, कहिले चाडपर्व त कहिल्यै खेतीपाती भन्दै काममा निरन्तरता नदिने तथा काममा दक्षता पनि नभएकाले भारतबाट कामदार ल्याएर काम गराउनुपर्छ,’ उनले भने ।

नेपालमा मजदुरको कमाइ राम्रो भएपनि कामको लागि विदेशतिर बढी जाने गरेको इँटा व्यवसायी गणेश भट्टले बताए । ‘यहाँ पाइने तलबभन्दा कममा नेपाली श्रमिक विदेश जान्छन् । तर, हाम्रो समस्या के हो भने विदेशमा सम्झौता अनुसार २/३ वर्षसम्म काम पाउँछन् भने यहाँको काम मौसमीजस्तो हुन्छ, त्यसैले पनि स्थायित्वका लागि विदेशिन्छन्,’ उनले भने, ‘नेपाल सरकारले कामदारका लागि कामको ग्यारेन्टी गर्न नसक्दा र अदक्ष कामदारका लागि तालिमको व्यवस्था नगर्दा पनि नेपाली मजदुरहरू विदेशिने गरेका छन् ।’

सुदूरपश्चिम क्षेत्रमा मात्र नभएर नेपालमै स्वदेशी मजदुर नपाइने समस्या रहेको उनले बताए । प्रायः नेपालका सबै क्षेत्र, कपाल काट्ने कामदेखि सडक निर्माण, घरमा रंग लगाउने, विभिन्न उद्योगमा कामदारदेखि मेकानिकलसम्म तथा गाडी बनाउने ग्यारेजमा समेत भारतीय कामदार नै आफूले बढी देख्ने गरेको उनले बताए ।

भारतीय मजदुरबाट काम गराउँदा निकै समस्या भोग्नुपरेको निर्माण व्यवसायीले बताएका छन् । पेश्की नदिएसम्म काम गर्न नआउने र पेश्की दिएमा काम नै नगरी कतिपय भारतीय कामदार भाग्ने गरेको निर्माण व्यवसायी ओम पाठकले बताए । ‘अहिले नेपालमा काम गर्न खोज्दा कामदारको निकै समस्या छ ।

नेपाली कामदार पाइँदैनन्, पाइएपनि दक्ष कामदार कम संख्यामा पाइन्छ,’ उनले भने, ‘ठूला योजना तथा इँटा व्यवसायी सबै भारतीय कामदारले नै धानेका छन् । कतिपय अवस्थामा धेरै पेश्की लिएर काम नै नगरी भारतीय मजदुर भागेका समेत प्रशस्त घटना छन् । यसबाट नेपाली व्यवसायीको लाखौं रकम डुबेको छ । उनीहरूलाई खोज्न जाने हो भने भारतमा कहाँ हो कहाँ कता जाने ?’

नेपालमा कामदारको ज्याला वर्षेनि बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । सो तथ्याङ्क अनुसार निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क वार्षिक क्रमशः १३.८, १३.५ र १२.२ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसायी भीमबहादुर साउँदले नेपालमै निर्माण क्षेत्रमा कामदारका लागि राम्रा अवसर पनि रहेको बताए । ‘युवा विदेशिएपछि नेपालमा अदक्ष कामदारको अभाव त छँदैछ, अझ विभिन्न ठूला उपकरण चलाउने दक्ष कामदारको त खडेरी नै परेको छ, सीप जानेका विदेशिएका छन् र यहाँ निकै कम मात्रै दक्ष कामदार कार्यरत छन्,’ निर्माण व्यवसायी साउँदले भने ।

नेपालमा काम नपाउने, काम पाएपनि पारिश्रमिक थोरै हुने, काम र पारिश्रमिक राम्रै भइहाले पनि सधैं नपाइनेजस्ता विविध कारणले विदेशिनुपरेको वैदेशिक रोजगारीका लागि मलेसिया गएर हालै फर्किएका सुखडका देवराज सुवेदीले बताए । सरकारले अदक्षलाई तालिम दिने र कामको ग्यारेन्टी हुने गरी वातावरण बनाएमा विदेश गएर पसिना बगाउने रहर नभएको उनले बताए ।

स्वदेशमै निर्माण क्षेत्रमा कामदारको अभाव खड्किरहेको बेला वैदेशिक रोजगारमा जानेको संख्या पनि क्रमशः घटेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय कैलालीको राहादानी शाखाका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार ९ सय ५७ जना राहादानी लिएका थिए । आर्थिक वर्ष २०७३/०७४ मा केही घटेर ४ हजार ५ सय ९७ जनाले र आर्थिक वर्ष २०७४/०७५ को पहिलो महिनामा ३ सय ५३ जनाले राहादानी लिएका छन् ।

 


सम्बन्धित