९०६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २५ , ०७:५४ बजे

बेल्डाँडीमा जल उपभोक्ता संघको भवन उद्घाटन

Image

महेन्द्रनगर । महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समिति बेल्डाँडीमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

समितिको पाँचौ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा झण्डै ५६ लाख रुपैयाँ बराबर बजेटमा बेल्डाँडी गाउँपालिका–२ मा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । १ सभाहलसहित ५ कोठाको सिँचाइ समितिको भवनको सिँचाइ विभागका निर्देशक शशीबहादुर विष्टले उद्घाटन गर्दै भवनको सदुपयोग गर्न आग्रह गरेका छन् । कार्यालय सञ्चालनका लागि निर्माण गरिएको भवन चालू आर्थिक वर्षदेखि सञ्चालनमा आएको छ ।

सिँचाइ विभागका निर्देशक शशीबहादुर विष्टले महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समिति बेल्डाँडी देशकै उत्कृष्ठ संघ रहेको बताए । ‘गत वर्ष संघलाई सरकारले उत्कृष्ठ भनेर पुरस्कार समेत प्रदान गरेको थियो,’ उनले भने । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (आइडब्लूआरएम्पी) का प्रमुख समेत रहेका विष्टले हरेक किसानको घरखेतमा सरल तरिकाले सिँचाइ सुविधा पुर्‍याउन समेत संघलाई निर्देशन दिएका छन् ।

महाकाली–पथरिया सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख राकृष्ण घोडासैनीले आइडब्लुआरएम्पी कार्यक्रम लागू भएपछि बेल्डाँडी–बेलौरीका किसान लाभान्वित भएको बताए । ‘सिँचाइ सुविधा नपुगेको क्षेत्रमा समेत कार्यक्रममार्फत् पुर्‍याउने लक्ष्य रहेको छ,’ उनले भने ।

विक्रम सम्वत् २०५५ सालतिर निर्माण भएको उक्त नहरबाट कञ्चनपुरका २ स्थानीय तह बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको झण्डै ६५ हजार हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य रहेपनि अधुरा नहर टर्सरीका कारण पूरै खेतमा सिँचाइ सुविधा पुगेको छैन ।

कार्यक्रममा महाकाली सिँचाइ जल उपभोक्ता संघका पदाधिकारीले किसानको खेतमा पानी पुर्‍याउन समिति सफल भएको बताएका छन् । संघका महासचिव लोकराज ओझाले संघले आफ्नो कम्पाउण्ड क्षेत्रका किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउन सफल भएको बताए । सिँचाई आएपछि किसान लाभान्वित हुनुका साथै उत्पादनमा समेत बृद्धि भएको उनले बताए ।

महाकाली सिँचाइ जल उपभोक्ता संघ बेल्डाँडीका कोषाध्यक्ष चेतनकुमार राईले १ वर्षमा झण्डै १९ लाख बढी रुपैयाँ संकलन गरिएको बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा सिँचाइ सेवा शुल्कवाफत् १९ लाख १० हजार ७९ रुपैयाँ संकलन गरिएको बताए । कोषाध्यक्ष राईले आर्थिक संघको १ करोड ६६ लाख ९२ हजार १३ रुपैयाँ बराबर बजेट समेत प्रस्तुत गरेका छन् ।

महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समिति बेल्डाँडीका अध्यक्ष भीमबहादुर थापाले कार्यक्रम लागू भएपछि २० वर्ष अर्थात् २ दशकदेखि सिमसारमा रहेको बेल्डाँडीको जमिन पुनः खेतीयोग्य जमिनमा परिणत भएको बताए । सिमसार खेतमा डे«न निर्माण गरेर पानी निकास हुँदा झिलमिला र चवन्नीका खेत पुनः खेतीयोग्यतिर उन्मुख भएको बताए ।

‘अधुरा शाखा तथा टर्सरी निर्माण गर्न अतिआवश्यक रहेकाले थप बजेट माग गरिएको छ,’ उनले भने, ‘झर्नाखोला वैवाहको सिमसार क्षेत्र सुधार आवश्यक रहेको छ ।’ नहरको सुरक्षाका लागि झर्नाखोला र पथपरिया खोला नियन्त्रण गर्नुपर्ने चुनौति रहेको उनले बताए । ‘किसानको आयआर्जनका लागि कृषि औजार, उन्नत जातका बीउबिजन, बजार व्यवस्थापनको आवश्यकता रहेको छ,’ उनले भने ।

बेल्डाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापाले किसानलाई अझैं स्तरीय सिँचाइ सुविधा उपलब्ध गराउन समेत आग्रह गरेका छन् । प्रमुख थापाले गाउँपालिका कार्यालयका तर्फबाट सिँचाइलाई सहयोग गर्ने आश्वासन दिए । महाकाली सिँचाइ केन्द्रीय जल उपभोक्ता समितिका अध्यक्ष चक्र महताले सिँचाइका कारण दक्षिणी क्षेत्रको विकासले गति लिएको बताए । ‘किसानको खेतमा पानी पुगेपछि विकास बढ्दै गएको छ,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई समेत सरकारले तह लगाउनुपर्छ ।’

कार्यक्रममा संघका उत्कृष्ट कर्मचारी मदनराज भट्ट, शेरबहादुर सिंह, महादेव भट्टलाई दोसल्ला ओढाउँदै नेपाली ढाकाटोली प्रदान गरेर सम्मान गरिएको छ । संघले सिँचाइ विभागका निर्देशक शशीबहादुर विष्ट, महाकाली–पथरिया सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख राकृष्ण घोडासैनी, महाकाली पथरिया सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर द्वय मोहन टेलर, विनोद परियार, आइडब्लुआरएमपीका समाजशास्त्री द्वय चेतमान थापा र शिवकुमार श्रेष्ठ, बेल्डाँडी बेलौरीका जनप्रतिनिधि, पत्रकारलाई सम्मान गरेको हो ।

बेल्डाँडीका प्रमुख धनबहादुर थापा, उपप्रमुख कमला कार्की, बेलौरीका उपप्रमुख चित्रा चौधरी लगायतका जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

 


About Author
-मानसखण्ड