६१६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २५ , ०७:३८ बजे

ट्रक यातायात व्यवसायीको नवौं वार्षिक साधारणसभा सम्पन्न

Image

धनगढी । ‘राष्ट्र निर्माण विकासका लागि ढुवानी यातायात’ भन्ने मूल नाराका साथ सेतीमहाकाली ट्रक यातायात व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ ।

सेतीमहाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष दिपक बमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुनबहादुर रानाभाट रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाभाटले ढुवानी व्यवस्थापन प्रणाली लागू गरी तोकिएको भाडादर कायम गर्न गृहकार्य भइरहेको बताए । दुर्घटना न्यूनिकरणको लागि पूर्वमेचिदेखि पश्चिम महाकालीसम्म अभियान सञ्चालन गर्नं महासंघले तयारी गरेको उनले बताए ।

‘आगामी दिनमा यस क्षेत्रका सम्पूर्ण व्यवसायी समेटेर जानुपर्ने र संघमा आवद्ध रहेका व्यवसायीको मर्का बुझेर महासंघ अगाडि बढ्न प्रतिवद्ध छ,’ उनले भने । कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार डा. हेमराज पन्तले देशमा यातायात व्यवस्था सहज र सर्वसुलभ भए मात्र आर्थिक क्रान्ति हुने बताए । नेपालको सन्दर्भमा राज्यको हातमा यातायात प्रणाली नभएर निजी क्षेत्रले ठूलो लगानी गरेर यातायात सञ्चालन गरिरहेको बताए ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यातायात व्यवसायी संघलाई समस्या भएको बेला तात्ने र अन्य समयमा सेलाउने प्रवृतिका कारण महासंघका समस्या समाधान हुन नसकेको बताए । अस्वस्थ प्रतिस्पर्धा, सेवाप्रवाह, नागरिक सन्तुष्टि, सेवा, गुणस्तरजस्ता कुरामा व्यावसायीले ध्यान दिने बताए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले देशको अर्थनीतिलाई लिएर स्वतन्त्र ढुवानी सेवा सञ्चालन गर्न ढुवानी व्यवसायी प्रतिवद्ध हुनुपर्ने बताए । सरकारले दिने सुविधाका लागि लगाइएको प्रतिबन्धको अन्त्य हुनुपर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ४ जनालाई सम्मानित समेत गरिएको थियो । सम्मानित हुनेमा संघमा कार्यरत रहँदारहँदा रहँदै मृत्यु भएको स्व. चतुर्भुज महोपाललाई मरणोपरान्त दोसल्ला र कदरपत्रले सम्मानित गरिएको थियो ।

संघमै कार्यरत तथा गोदावरी नगरपालिका–१ बाट वडा अध्यक्षमा निर्वाचित शर्मानन्द भट्ट, सबैभन्दा कम १२ वर्षकै उमेरमा कास्य पदक जित्न सफल उसु खेलाडी आलिसा खातीलाई नगद १५ हजार ५ सय ११ रुपैयाँ, कदरपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गजराज पाण्डेय, नेपाल यातायात मजदुर संघको क्षेत्रीय अध्यक्ष केशवराज पन्त, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य दिलबहादुर छत्याल, नेपाल यातायात स्वतन्त्र मजदुर संघका जितबहादुर मल्ल, सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष टेकराज जोशीले शुभकामना व्यक्त गरेका थिए ।

वाणगंगा यातायात व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नेपाल ट्रक व्यवसाय महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार टीएन जोशीले गरेका थिए ।

 


About Author
-मानसखण्ड

सम्बन्धित