४५१ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २४ शनिबार, १३:११ बजे

प्राध्यापकको खस्कँदो साख !

Image

प्राज्ञिक व्यक्तिले देश, समाज, राष्ट्रलाई मार्ग निर्देशन गर्ने हो । प्राज्ञिक भनेको शिक्षा क्षेत्रको सम्बन्धित विषयमा अरु व्यक्तिभन्दा बढी ज्ञान हुनु हो । सबैभन्दा बढी प्राज्ञिक क्षेत्रका रुपमा मानिएको शिक्षा क्षेत्र हो, त्यसमा पनि विश्वविद्यालय र विश्वविद्यालयका प्राध्यापक हुन् । प्राध्यापक भनेको शैक्षिक क्षेत्रको सर्वोच्च पद हो ।

विश्वविद्यालयमा अध्ययन/अध्यापन गर्ने प्रत्येक शिक्षकको लक्ष्य हुन्छ, प्राध्यापक बन्ने । प्राध्यापक भनेको शैक्षिक रुपमा विशिष्ट, प्राज्ञिक रुपमा उच्च र कामका रुपमा उत्कृष्ट भन्ने बुझिन्छ । कुनै विषयको प्राध्यापक भनेको सम्बन्धित विषय र क्षेत्रमा दक्ष, सक्षम र त्यस विषयमा आइपर्ने समस्या समाधान गर्न सक्ने तथा नयाँ सिद्धान्त प्रतिपादन गर्ने र सम्बन्धित विषयमा विभिन्न अनुसन्धानमुलक कार्य गर्ने र गराउने भन्ने बुझिन्छ । तर, नेपालको वर्तमान शैक्षिक क्षेत्रमा त्यसो हुन सकेको छैन ।

अनुसन्धानात्मक हुनुपर्ने अध्ययन/अध्यापनको कार्य अझैं पनि परम्परागत नै छ । स्वःस्फूर्त रुपमा सक्रिय हुने केही प्राध्यापकबाहेक अधिकांश प्राध्यापक झारो टार्ने अल्छी प्रवृत्तिका छन् । देश, अवस्था र परिस्थित अनुसार उत्पादन गरिनुपर्ने जनशक्ति उत्पादन हुन सकिरहेको छैन । अव्यवस्थित शिक्षाका कारण उच्च शिक्षा तर्फको आकर्षण समेत घट्दो छ । त्रिभुवन विश्वविद्यालयभित्र रहेका शैक्षिक अनुसन्धान केन्द्रहरू अनुसन्धानविहीन बनेका छन् ।

त्यहाँ कार्यरत प्राध्यापक र कर्मचारी तलब खाएर बस्ने केन्द्रका रुपमा परिणत भएका छन् । त्यसैगरी, अन्य विश्वविद्यालयमा अध्ययन अनुसन्धानका लागि खासै चासो र चिन्ता लिएको पाइँदैन । देशलाई आवश्यक पर्ने शिक्षा नीति, शैक्षिक पाठ्यक्रम निर्धारण गर्नुपर्ने शैक्षिक संस्था नै निष्क्रिय बनेकाले देशको शैक्षिक उपलब्धी तथा अवस्था खस्कँदो छ ।

विश्वविद्यालयका प्राध्यापक दलीय भागबण्डाका आधारमा हुन थालेको आरोप यदाकदा लाग्न थालेको छ । विश्वविद्यालय स्तरको अध्ययन/अध्यापन कार्य अनुसन्धानमूलक हुनुपर्छ, जबसम्म प्राध्यापक आफैं अनुसन्धानमा केन्द्रीत हुन सक्दैनन्, तब अध्ययन/अध्यापन कार्य अनुसन्धानमूलक हुनै सक्दैन । अनुसन्धानसँग जोडिएका प्राध्यापक अनुसन्धान तथा शैक्षिक वा प्राज्ञिक उन्नयनभन्दा पनि व्यक्तिगत उन्नयनतर्फ लाग्ने गरेका छन् ।

दलगत रुपमा गठन भएका प्राध्यापक संघ संगठनका कारण शैक्षिक अनुसन्धानात्मक कार्य प्रभावित हुने गरेको कतिपय प्राध्यापकको भनाइ छ । प्राध्यापक अहिले शैक्षिक गुणस्तरभन्दा पनि मुनाफा केन्द्रित भइ निजी लगानीमा सञ्चालित कलेजमा बढी समय दिने गर्नाले सरकारी लगानी वा अनुदानमा सञ्चालित विश्वविद्यालय धरासायी बन्दै गइरहेको तीतो यर्थाथ हामीसँग छ ।

विश्वविद्यालयका पदाधिकारी राजनीतिक भागबण्डाका आधारमा आउने, जसका कारण प्राज्ञिक कार्यभन्दा पार्टीको कार्यमा बढी संलग्न हुने, वैचारिक र नातागोतामा बढी विश्वास गर्ने र उनीहरूकै लागि काम गर्ने परिपाटी सिर्जना भएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी दलका कार्यकर्ताझैं भएका छन् । दल विशेषका कार्यकर्ताका रुपमा उपकूलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन लगायतका पदाधिकारी नियुक्त हुँदै गर्दा उनीहरूको पदको जुन गरिमा हो, त्यो गरिमा नै समाप्त भएको छ ।

उनीहरू स्वयं प्राज्ञिक भएकै कारण शैक्षिक क्षेत्रको सर्वोच्च पदमा पुगेको भन्न डराउँछन्, कारण ती पद प्राज्ञिक कारणभन्दा पनि राजनैतिक कारणबाट प्राप्त भएका हुन्छन् । राजनैतिक दलको भागबण्डाबाट केही वर्षका लागि पदाधिकारी बनेका पदाधिकारीले काम गर्दा समेत राजनैतिक आस्था तथा गुट भित्रको गुटका आधारमा शिक्षक तथा कर्मचारीसँग व्यवहार गर्ने गरेको पाइन्छ ।

यसरी दलगत राजनीति हुँदा पदाधिकारीलाई शिक्षक, कर्मचारीले अटेर गर्नेदेखि लिएर विश्वविद्यालयभित्र पदसोपानको कुनै महत्व भएको पाइँदैन, जसका कारण पदाधिकारीको पदको गरिमा गिरावटको अवस्थामा पुगेको छ, जसले पदाधिकारी बन्ने प्राध्यापकको साख समेत खस्कँदो छ ।

आँखिर जेसुकै भएपनि उनीहरूले काम गर्दै जादाँ जुन राजनैतिक दलबाट प्रतिनिधित्व गराइएको हो, त्यो दलले तिनीबाट के पाए ? सोच्नुपर्ने बेला भएको छ । समग्रमा हेर्ने हो भने केही पाएका हुँदैनन्, बरु विश्वविद्यालयको ओज र गरिमामा कमी आएको मात्र देखिन्छ । यसो हुनुको कारण विश्वविद्यालयलाई एक प्राज्ञिक थलोको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने प्राज्ञिक मान्छेको कमी नै हो ।

विश्वविद्यालयभित्र त्यस्तो भूमिका निर्वाह गर्न सक्ने मानव स्रोत नभएको होइन । तर, राजनैतिक आस्थादेखि विभिन्न कारणबाट उक्त व्यक्ति नेतृत्वदायी भूमिकाबाट सधै ओझेल पर्ने गर्छ । अर्थात्, उचित ठाउँमा उचित व्यक्तिको पदस्थापना हुन नसक्नुका कारण विश्वविद्यालय दुरावस्थामा पुगेका छन् ।

सक्षम व्यक्ति राजनैतिक रुपमा चाकडीमा लाग्दैन, ऊ प्राज्ञिक मर्यादाभित्र रहेर काम गर्न रुचाउँछ । विश्वविद्यालयभित्र उ अरुभन्दा ज्येष्ठ र शैक्षिक रुपमा विशिष्ट नै किन नहोस्, पदाधिकारीका लागि त्यस्ता व्यक्ति आफ्नै संघ संगठनबाट सिफारिस हुँदैनन्, कारण कहिल्यै नगरेको चाकडी र चाप्लुसी हो ।

शैक्षिक बहसमा समेत कतिपय प्राध्यापक विश्वविद्यालयमा राजनीति भइरहेको स्वयं स्वीकार गर्छन् । तर, त्यसको समाधानका लागि एकअर्कालाई आरोप लगाउने र अन्तिममा राजनीतितर्फ औला देखाउने गरेका छन् । विश्वविद्यालयका कुलपति रहने सबै पटक–पटक प्रधानमन्त्रीबाट विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्ने कुरा गर्छन् । तर, आफैं उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्तिमा आँखा गाँड्छन् ।

प्राध्यापक देशको भूराजनीति, आर्थिक, सामाजिक, शैक्षिक सबै अवस्थाका बारेमा ज्ञात हुन्छन् । तरपनि त्यसको समाधानका लागि कुनै पहल भएको भने पाइँदैन । विद्यार्थीलाई देशका समस्यासँग परिचित गराउँदै समस्या समाधानका लागि उनीहरूलाई विभिन्न किसिमका अनुसन्धान तथा सीप सिकाइनुपर्नेमा त्यसो हुन सकेको छैन । राजनीतिमा लागे राम्रा उच्च पद पाइने र विभिन्न नेता तथा व्यक्तिलाइ थर्काउन पाइने भएकाले समेत प्राध्यापकको राजनीतितर्फ आकर्षण बढ्दो छ । पदीय लोभमा परेर शिक्षक तथा प्राध्यापकले आफ्नो शक्तिलाई बिर्सेका छन् ।

प्राध्यापकले राजनीतिलाई निर्देशित गर्नुपर्नेमा राजनीतिबाट प्राध्यापक निर्देशित हुन थालेका छन् । राजनैतिक दलले पनि शिक्षकलाई गलत प्रयोग गरिरहेका छन् । राजनैतिक दलले प्राध्यापकलाई सही रुपमा निर्देशन दिन सक्नुपर्छ । सबै पार्टीले समर्थक प्राध्यापकलाई पार्टीको इज्जतसँग जोडेर काम गर्न अभिमुखीकरण दिन सक्नुपर्छ । यस विषयलाई समेत विकाससँग जोड्ने हो भने विश्वविद्यालयमा सक्षम नेतृत्व प्राप्त हुन सक्छ र विश्वविद्यालयभित्र हुने अस्वस्थ राजनैतिक प्रतिस्पर्धाको अन्त्य हुन सक्छ ।

देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने, सही र नैतिकवान नेतृत्व तथा क्षमतावान व्यक्ति उत्पादन गर्ने थलो नै अनुत्पादक र राजनीतिक हुन थालेपछि त्यसको असर गाउँ, जिल्ला हुँदै देशको विकासमा समेत देखिएको छ । विश्वविद्यालयमा हुने दृश्य र अदृश्य राजनीतिका कारण शैक्षिकस्तर र प्राध्यापकको साख खस्कँदो छ भने विश्वविद्यालयको उत्पादन अनुत्पादक सावित भएकाले राजनैतिक, शैक्षिक, आर्थिक, वैदेशिक क्षेत्रमा त्यसको असर भोगिरहेका छौं ।


About Author
-सन्तोष विष्ट