१०६६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २१ बुधबार, ०८:०९ बजे

प्रअ–लेखापाल खटपटले विद्यार्थीको बिजोग

Image

महेन्द्रनगर । बेदकोट नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापक (प्रअ) र लेखापालबीच भएको खटपटले विद्यार्थीको बिजोग भएको छ । विवादका कारण विद्यार्थीले समयमै पुस्तक नपाउँदा पढाइ समेत प्रभावित भएको हो ।


शैक्षिक सत्र सुरु भएको झन्डै ५ महिना पुग्नै लाग्दासम्म विद्यार्थीले पुस्तक नपाउँदा पढाइ प्रभावित भएको हो । कक्षा ५, ६, ७ र ८ मा अध्ययन गर्दै आएका विद्यार्थीले हालसम्म पनि पुस्तक नपाएको बताएका छन् । शिक्षकको डरले नाम नखुलाउने शर्तमा कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीले भने, ‘पढ्नको लागि विद्यालय आउँछौं । तर, पुस्तक छैन । परीक्षा नजिकै आइसक्यो, खै के गर्ने ?’ शैक्षिक सत्र सुरु भएको ५ महिनासम्म पनि विद्यार्थीको हातमा पुस्तक नपुग्नुको कारण विद्यालयको आन्तरिक विवाद रहेको छ ।

विद्यालयका प्रधानाध्यापक हर्का बोहोरा र लेखापाल खेमराज जोशीबीच विवाद हुँदा विद्यार्थीले पुस्तक नपाएका हुन् । प्राधानाध्यापक हर्का बोहोराले लेखापालले विद्यालयको खाताबाट रकम नदिएकाले शिक्षा कार्यालयलाई भुक्तानी गर्न नसकिएको बताइन् । तर, लेखापाल जोशीले पुस्तकका लागि प्रधानाध्यापक बोहोरालाई ४५ हजार रुपैयाँको चेक दिइएको बताएका छन् । उनले भने, ‘प्रधानाध्यापकले आफूसँग सल्लाह र समन्वय नै गर्दैनन्, तैपनि मैले पुस्तकका लागि ४५ हजार रुपैयाँको चेक दिएको छुँ । अब अहिले जे बहाना बनाएपनि हुन्छ ।’

प्रधानाध्यापक र लेखापाल बीचको आन्तरिक द्वन्द्वमा फसेको सरस्वती आधारभूत विद्यालयमा शिक्षक दरबन्दी नहुँदा झनै समस्या उत्पन्न भएको छ । १ देखि ८ कक्षासम्म पढाइ हुने सो विद्यालयमा ४ जना प्रावि राहात कोटाका शिक्षक कार्यरत रहेका छन् ।

राहात कोटामा कार्यरत ५ जना शिक्षकमध्ये १ जना खरिदार परीक्षामा उत्तीर्ण भएर गएपछि पठनपाठन सञ्चालनमा समस्या उत्पन्न भएको विद्यालयका प्रधानाध्यापक हर्का बोहोराले बताइन् । उनका अनुसार २०६० सालमा कक्षा १ को अनुमति प्राप्त गरी सञ्चालनमा रहेको विद्यालयले गाउँका पढेलेखेका युवायुवतिबाट जनश्रमदान माग्दै कक्षा चलाउँदै आएको छ ।

विद्यालयमा बाल विकासतर्फ ३ जना शिक्षिका कार्यरत रहेका भएपनि आन्तरिक स्रोत नहुँदा थप कक्षा व्यवस्थापन गर्न नसकिएको जनाइएको छ । प्रधानाध्यापक बोहोरासहित शिक्षक सरस्वती सिंह, नरेन्द्र विष्ट र खेमराज जोशी राहात कोटामा कार्यरत रहेका बताइन् । राहात दरबन्दीमा कार्यरत मानसिंह धामी खरिदारको परीक्षामा उत्तीर्ण भएर गएपछि दरबन्दी रिक्त रहेको छ ।

प्रधानाध्यापक हर्का बोहोराले जिल्ला शिक्षा कार्यालयसँग २०६० सालदेखि शिक्षक दरबन्दीको माग गर्दै आएपनि शिक्षा कार्यालयले माग सुनुवाइ नगरिदिएको बताइन् । स्थानीयको सहयोगमा केही समय निरन्तर कक्षा सञ्चालन हुने गरेपनि सहयोगीले छोडेर जाँदा पढाइ प्रभावित हुने गरेको उनको भनाई छ ।

२०६३ सालदेखि विद्यालयको बाल विकास कोटामा कार्यरत शिक्षिका वसन्ती बडुले यसअघि १ वर्षजति आफूले कक्षा ५ सम्म अध्यापन गराएको बताउँदै पछि विद्यालयबाट सेवा वाफतको थप सेवासुविधा नपाइएकाले अहिले पठनपाठन गर्न नसकिएको बताइन् । तर, अहिले कक्षा २ मा १ पिरियड पढाउँदै आएको बताइन् । विद्यलायको आन्तरिक स्रोत नभएकाले थप पिरियड पढाएवाफत पारिश्रमिक दिन नसकिएको प्रधानाध्यापक बोहोराले बताइन् । विद्यालयमा हाल ३ सय ५१ जना विद्यार्थी रहेका छन् ।

बेदकोट नगरपालिका–२ का अध्यक्ष नरेश सिंहले सरस्वती आधारभूत विद्यालयमा शिक्षक दरबन्दी पूर्तिका पहल गर्ने बताए । शिक्षक दरबन्दी पूर्ति नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएकोबारे यसअघि पनि पटक–पटक जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको उनले बताए । जिल्ला शिक्षा अधिकारी दुर्गा विष्टसँग आफूले भेटेर विद्यालयको समस्या दर्शाएको बताउँदै अध्यक्ष सिंहले विष्टबाट शिक्षक दरबन्दी पूर्तिका लागि पहल गर्ने आश्वासन पाइएको बताए ।

 

 


About Author
-जनकसिंह विष्ट