४५७ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १८ , १२:४७ बजे

गौरा र डेउडाको अन्तरङ्ग सम्बन्ध

Image

मानस–मन्थन
मानव आदिको शरीर मेरुदण्डले ठडिएको छ भने संसार सुमेरुले अडिएको र पानीमा डुव्नबाट बाँचेको छ । शिखरहरूमा सुमेरु पर्वत भगवानकोे रुप हो । सुमेरुलाई नै कैलास–मानस पर्वत पनि भनिन्छ । यो पृथ्वीको केन्द्रमा पर्दछ भनेर पराविज्ञानले प्रमाणित गरेको छ । त्यही सुमेरुसँग सम्बन्धित क्षेत्र प्राचीन कालदेखि नै शक्तिभूमिका रुपमा रहिआएको छ । सत्य, अहिंसा, सतोगुण पवित्रता अचलताबाट शक्तिको जन्म हुन्छ । शक्तिले रुपलाई गोरेवर्ण मानिएको छ । त्यसैले शक्तिलाई गौरी अर्थात् गोरी–गौरा भनिएको हो । यी कुराहरूको सम्बन्ध मनसँग रहेको छ । मनको पवित्रतामा नै गौराको जन्म हुन्छ । त्यसै मनलाई मानस भनिन्छ । गौरा मानसको उपज हो । मेरु कैलासको उर्वरक फाँटमा गौराले पल्लवित र फुष्पित हुने अवसर पाएको हो ।

रामले अयोध्या, कृष्णले मथुरा, सीताले जनकपुर, ब्रह्माले पुष्कर, नारायणले कालीगण्डकी, हनुमानले पप्पापुर, गौतम बुद्धले लुम्बिनीमा जन्म लिएर तत्तत् स्थानलाई विश्व प्रसिद्ध बनाए भने गौरादेवी मानसभूमिमा जन्म लिएर काली–कर्णालीको पवित्र देवभूमिलाई विश्वमा बिख्यात बनाएको छ । गौरादेवी भन्ने बित्तिकै मानस शब्द स्वतस्फूर्त रुपमा जन्मन्छ । किनभने, गौराको जन्म मानसबाट हुन्छ भने मानसको प्रसिद्ध गौराका कारण हुन्छ, गौरालाई गौराको रुपमा परिभाषित गर्न मानसभूमिकै आवश्यकता पर्दछ । त्यसैले गौरा पर्व मानसको हो, मानस क्षेत्र गौराको हो । यी दुबै एक सिक्काका २ पाटा हुन् । गौरा शक्तिको पर्व हो । बीजाङ्कुरणको पर्व हो । श्रीबीज हो, त्यसैले यस पर्वमा अन्नको विउ परीक्षण गरिन्छ ।

अन्न नै प्राण शक्ति हो । त्यही अन्न शक्तिको नाम ‘बिरुडा’ हो । नारीको नारित्वको सम्परीक्षण गौराव्रतले गर्छ । विवाह पश्चात् गौराव्रतको व्रतालु बनी दुब्धागो धारण गर्नु यसको प्रमाणिकता हो । गौराव्रत नारी संस्कृति र संस्कृतिको पर्व हो । नारी संस्कारको औपचारिक सोपान गौराव्रत हो । खप्तड क्षेत्रमा गौराको विकल्प अनन्ते पर्वलाई लिइएको छ भने दुब्धागो स्थानमा पाखुरामा अनन्त लगाइन्छ । गौरा पर्वको प्रारम्भ पुत्रदा एकादशी अर्थात् श्रावण शुक्ल गौ¥या एकादशीबाट हुन्छ भने समापन भदौ शुक्ल चतुर्दशी अर्थात् अनन्ते पर्वका दिन हुन्छ ।

यस आधारमा अनन्ते पर्व गौरा पर्वकै अभिन्न अंग हो । गौरा पर्व र अनन्ते पर्व दुबैमा धागो बाधिन्छ । धागोलाई सूत्र भनिन्छ । विधिपूर्वक निर्माण गरिएको धागोलाई ब्रह्म सूत्र, श्रीसूत्र, यज्ञसूत्र भनिन्छ । ब्रह्म अर्थात् भगवानसँग जोड्ने हुनाले ब्रह्मसूत्र भनिएको हो । जीवात्मा मातृगर्भमा नाभीसूत्रले आमासँग जोडिएको हुन्छ भने जन्मेपछि धागोद्वारा परमात्मासँग जोडिनुपर्छ । त्यसैले सनातन हिन्दू सिद्धान्त अनुसार नामकरण संस्कार पश्चात् कुनै पनि अवस्थामा शरीरबाट धागो अलग हुनु हुँदैन । शरीर बाँधिएको हुनुपर्छ ।

ब्रह्माको काँधदेखि कम्मरसम्म छड्के धागो, क्षेत्रीयको घाँटी, वैश्यको पाखुरा, शूद्रको नाडी बाँधिएको हुनुपर्छ भने नारीको शारीरिक बनावट अनुसार घाँटी बाँधिएको हुनुपर्छ । जनै, दुब्धागो, अनन्त एवम् रक्षाधागो यसको प्रयोजन हो । अनन्ते पर्वलाई बैतडीतिर टाकाजाँत पनि भन्दछन् । धागो धारण गर्ने वर्षको अन्तिम पर्व अनन्त तथा भदौ पूर्णिमा हो । शास्त्र अनुसार पनि सामवेदीहरूको उपाक्रम (जनै संस्कार) पनि यसै दिन हुने गर्छ । भदौ पूर्णिमाकै दिन ठाडोखेल तथा डेउडा खेलको पनि औपचारिक समापन गरिन्छ ।

गौरा पर्व गौरा महेश्वरको विवाहको पर्व हो । उक्त अवसरमा गाइने गीत तथा खेलिने खेलको नाम अठेवाली, ठाडो खेल तथा डेउडा खेल भनिन्छ । अठेवाली गौरा महेश्वरलाई साक्षी राखेर गाइने गौराको जन्मदेखि महेश्वरसँग विवाह एवम् बालो अर्थात् गणेशको जन्मसम्मको गीति अभिव्यक्ति हो । आठ आवली (अध्याय) भएकाले अठेवाली भनिन्छ भने कान्छी औला अठ्याएर गाइने हुनाले यसलाई अठेवाली गीत भनिन्छ ।

ठाडो अर्थात् एकअर्कासँग कुममा कुम नमिलाई उभिएर ढोल्डा (ठूलो ठेलक) को लयमा पैताला मिलाएर गाइने गीत तथा खेलिने खेललाई ठाडो खेल भनिन्छ । महाभारत, रामायण तथा वीरवीराङ्गनाका गाथा यसमा गाइन्छ । मौलिकताका साथै यसमा पौराणिकताको आभास झल्कन्छ, धमारी, ढुस्का, चाँचरी यसका भेद हुन् । ठाडोखेल पुरुष वर्गको खेल हो । पद सञ्चालन, अर्थको गाम्भीर्यता कथानकको निरन्तरताका कारण यो खेल सयानाहरूको खेल भनेर पनि परिभाषित गर्न सकिन्छ ।

नारी कष्टद्वारा सिर्जना गरिएको अठेवाली गीत व्रतालु नारीले मात्र गाउने गर्दछन् । यसका सर्जक मानस नारी हुन् । नारीले भोग्नुपर्ने कथा र व्यथाको यथार्थता यसमा झल्कन्छ । अठेवाली गीतका गायक तथा प्रसारकहरू सीमित नारी मात्र भएको हुनाले दुर्लभ तथा लोपोन्मुख साहित्यका रुपमा रहेको छ । गौरा पर्वको आत्मा अठेवाली गीत हो । त्यसको संरक्षण, सम्वद्र्धन गर्नु अत्यन्तै जरुरी देखिन्छ ।

गौरा पर्वका अनेक अन्तरङ्ग प्रसङ्गहरू छन् । जसको प्रत्यक्ष सम्बन्ध जीवनसँग जोडिएको छ । गौरा संस्कारको पर्व हो भने अठेवाली, ठाडो खेल, डेउडा खेल संस्कारको अभिव्यक्ति हुन् । गौरा पर्व आत्मा हो भने यी अभिव्यक्तिका माध्यम आँखा, नाक, मुख आदि इन्द्रिय हुन् । गौरा–महेश्वरको विवाहमा पूजा–अर्चना गरिएतापनि जबसम्म गौरालाई विधिवत् रुपमा सेलाइँदैन अर्थात् बिसर्जन गरिँदैन, तबसम्म गौरादेवीलाई पौराणिक गाथा सुनाइरहनुपर्ने पहरा दिइरहनुपर्ने शास्त्रीय मान्यता छ । गौरालाई एक्लै छोड्नु हुँदैन । किनभने, गौरादेवी मात्र घाँसको पुतला होइन, उनलाई बेहुली भनिन्छ, दुलही मानिन्छ । उनको रक्षा गर्नु, सुरक्षा गर्नु, व्रतालु लगायत सर्वसाधारणको कर्तव्य हो धर्म हो । गौरा पर्वमा खेलिने डेउडा गीत त्यसैको निरन्तरता हो ।

डेउडा र गौराको अन्तरङ्ग सम्बन्ध रहेको छ । डेउडाको उत्पति नै गौरा पर्व र अनन्ते पर्वको गर्भबाट भएको हो । डेउडा गीत आँसु काव्य हुन् भने डेउडिया आँशु कवि हुन् । डेउडाको जन्म खप्तडका मनमोहक फाँटबाट भएको हो । वास्तवमै डेउडा गीत सेतीका छालमा छचल्किने गर्छन् भने कर्णालीका तरङ्गमा तरङ्गित हुने गर्दछन्, महाकालीको जलमा पौडी खेल्छन् । आज डेउडा गीत सेती–महाकाली तथा कर्णाली–भेरीका भेलहरू पार गर्दै राजधानी लगायत देशका तमाम ठूला–साना शहर बजारमा गुञ्जिरहेका छन् । यसका बाछिटाहरू विदेशमा पनि पुगिसकेका छन् । यसमा जातजाति भेद छैन । पुरुष–महिलाको भिन्नता छैन ।

युवा–युवती, बूढा, सयना सबैको समान रुपमा सहभागी हुन्छ । कही कुनै भेद छैन । तर, क्षेत्रीयताको भने गन्ध पाइन्छ । यद्यपि भाषिक र क्षेत्रीयताले सुनमा सुगन्ध जस्तो प्रतीत हुन्छ । डेउडा गीतले सांस्कृतिक रुप धारण गरिसकेको छ । डेढपाउको हुने हुनाले डेउडा भनिन्छ । बक्रोक्ति अलंकारको शैली अर्थात् घुमाउरो पाराले भनिने हुनाले पनि ड्यौडा भनिन्छ । अथवा डेढ कदम अगाडि डेढ कदम पछाडि भएर खेलिने खेलको डेउडा हो । डेउडाको मूलमा मानसको अभिव्यक्ति हो ।

डेउडा गीतलाई क्षेत्रगत विभाजन गर्दा खातडी डेउडा डोट्याली डेउडा, बैतडेली डेउडा, कर्णाली प्रदेशका डेउडा, सल्यान–जाजरकोटी डेउडा, दल्लुदैलेख सुर्खेतका डेउडा यहाँसम्मकी रुकुम रोल्पामा पनि डेउडाका बान्कीहरू पाइन्छ भने महाकाली पारी काली कुमाउँका डेउडा गीतको बेग्लै स्वाद छ । अब डेउडा गीतले आधुनिक युगमा प्रवेश गरिसकेको छ, डेउडा गीतलाई वर्षाऋतुका गीतका रुपमा परिभाषित गरिन्थ्यो । श्रावण–भदौमा गाइने विरही गीतको नाम डेउडा थियो । यस गीतको प्रारम्भ कालीदासको मेघदूतबाट भएको हुनुपर्छ ।

मानसको यक्ष श्राप लागेर उज्जयिनीमा रहेको बेला अल्कापुरी हालको अपिहिमाल क्षेत्रमा रहेकी आफ्नी प्रियतमा भेट्न नसकी बादललाई दूत बनाएर विरहका गीत गाएको प्रसङ्गबाट डेउडाको उत्पत्ति भएको हुनुपर्छ । यक्षले पनि वर्षा ऋतुमै विहर वेदना पोखेको थियो । माघ १ गते गाइने बालगीत लोरीमा पनि ‘लुइ खा सेल मुइ दे वरिखा खेल’ भनेर कागसँग श्रावण भदौको खेल खेल्ने वरदान मागेको बाल आग्रहबाट पनि डेउडा खेल वर्षा ऋतुकै उपज हुन् भन्न सकिन्छ । त्यस्तै, ‘खेल दरीदरीको दरी जीरे बुना वरिखा भरी’ भनेर गाइने बाल गीतले पनि बरिखाको खेलको महत्वलाई स्पष्ट पारेको छ ।

वर्षायाम एक ठाउँमा बसेर सत्सङ्ग, भजन, कीर्तन, गायन, नृत्य आदि गर्ने प्राचीन हिन्दू सभ्यताको अङ्ग हो । श्रीरामले वनवास जाँदा वर्षाका ४ महिना ऋषिहरूको सत्सङ्गमा बिताएको प्रसङ्ग प्रसिद्ध छ । वर्षा ऋतु पढ्ने–पढाउने, सुन्ने सुनाउने समयका रुपमा लिइन्छ । अर्को कुरा वर्षा लाग्ने बित्तिक्कै सम्पूर्ण देवी देउता, मानव, चरा चुरुङ्गीहरू समेत शिव गौराको विवाहमा सामेल हुन कैलास–मानसतिर आउने गर्दछन् ।

गौरा र डेउडाको घनिष्ठ सम्बन्ध रहेको छ । डेउडा खेल्ने खेलाउने आयोजकले गौरालाई साक्षी राखी डेउडाको आयोजना गर्नुपर्छ । गौरा बिनाको डेउडाको परिकल्पना गर्न सकिँदैन । डेउडालाई पतङ्ग जस्तै उड्न दिनुपर्छ । तर, धागो चाहिँ हातमा समाती राख्नुपर्छ । त्यो धागो नै गौरा पर्व हो, गौरा पर्व डेउडा गीतको मूल हो । यो कुरा बिर्सनु हुँदैन । अस्तु । (लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक हुन् ।


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।