२०३५ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १८ आइतबार, १२:२२ बजे

सशस्त्रका घुमुवाको अस्वभाविक हर्कतले बालक त्रसित

Image

महेन्द्रनगर । सशस्त्र प्रहरीले सीमा क्षेत्रका गतिविधिबारे सूचना संकलन गर्न सादा पोशाकका घुमुवा प्रहरी परिचालन गरेको हुन्छ ।

सादा पोशाकका घुमुवा प्रहरीले आफ्नो परिचय नखुल्ने गरी सीमा क्षेत्रका गतिविधिमाथि निगरानी राख्दै सूचना संकलन गर्नुपर्ने हो । तर, घुमुवा सशस्त्र प्रहरीले चेकजाँच र हातपात गर्न थालेपछि सीमा क्षेत्रमा प्रायः नियमित हिँड्ने बालक त्रसित बनेका छन् ।


सशस्त्र प्रहरी बल भन्सार राजश्व गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार कृष्णबहादुर रोकाया र प्रहरी हवल्दार लक्ष्मण बोहराले पटक–पटक वनगाउँका १५ वर्षिय बालक अमित चन्दलाई चेकजाँच, हातपात र केरकार गर्ने गरेको पीडितका बुबा तेज चन्दले बताए । ‘भदौ १४ गते भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकीबाट घर फर्कने क्रममा छोरा अमितलाई म२प १३९१ नम्बरको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिले सुकासाल र वनगाउँको बिच राजमार्गमा रोकेर चेकजाँच गरे,’ तेज चन्दले भने ।


‘म२प १३९१ नम्बरको मोटरसाइकल प्रयोग गर्ने व्यक्ति आएर मलाई रोके, नागरिकता देखाउ भनी रोकेर झोला चेकजाँच गरे हातपात गरे, गाउँका बाजे पर्ने लक्ष्मण चन्द आए, बाजेले के भएको भनि सोध्दा मोटरसाइकलवाला केही नभनी गड्डाचौकीतर्फ गए,’ पीडित बालक अमित चन्दले भने, ‘यसअघि पनि जेठ महिनामा भारतको वनवसास्थित कैनालमा ती दुबै व्यक्तिले ए फुच्चे यता आउ भनि बोलाएर हातपात र चेकजाँच गरिएको थियो ।’

‘जेठ महिनामा बोहराले हात समात्यो अनि अर्को रोकायाले खल्तीमा हात हाली पैसा र मोबाइल निकाले, कैनालका ठेलावालाले बालकलाई किन टर्चर गरेको भनेपछि उनीहरूले एसएसबीलाई बोलाए, अनि ३/४ घण्टा रोक्यो,’ बालक अमितले भने, ‘जेठ महिनामा भारतको कैनालमा भएको घटनालाई सामान्य रुपमा लिएका थियौं, फेरि सुकासालमा उनै व्यक्तिले उस्तै हातपात गरेपछि मोटरसाइकल नम्बर याद गरेर जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले म२प १३९१ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति लक्ष्मण बोहरा र कृष्णबहादुर रोकाया रहेको जानकारी दिएको बुबा तेज चन्दले बताए ।

‘दुबै घटनामा चेकजाँच गर्ने र चेकजाँच गरिने व्यक्ति एउटै हुनु, आफ्नो परिचय नखुलाएर जथाभावी हातपात गर्नु छोरा त्रसित भएर घरमा आयो,’ उनले भने, ‘त्यसपछि चेकजाँच गर्ने को हुन्, किन गरेका हुन् भन्ने पत्ता लगाउन सुरु गरिएको हो । छोरा अमित अहिलेसम्म पनि त्रासमै छ ।’ ‘राष्ट्र सेवक सशस्त्र प्रहरीले नै बारम्बार बन्धक बनाउने गरेका छन्, सुरक्षा दिनेले नै पीडित बनाउँछन्,’ उनले भने, ‘जेठ २९ गते भारतको कैनाल पनि आफ्नो अधिकारभन्दा बाहिर रहेर मेरो छोरालाई बन्धक बनाए, छोरा डरत्रासबाट भयभीत भएको छ ।’

सशस्त्र प्रहरी राजश्व गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार कृष्णबहादुर रोकायाले भदौ १४ गते नियमित चेकजाँच जस्तै उनलाई रोकेर झोला चेकजाँच गरेको बताए । ‘नियमित चेकजाँच जस्तै उनको झोला चेकजाँच गरेका हौं, हामी सधै चेकजाँच गर्छौ, कार्यालयको निर्देशन अनुसार चेकजाँच गर्छौ, हामीले टर्चर, धम्की दिने काम गरेनौ,’ उनले भने । भारतको कैनालमा टर्चर र चेकजाँच गरेको बारेमा आफूलाई थाहा नभएको बताए । ‘भारतमा गएर चेकजाँच गर्ने अधिकार हुँदैन, मैले भारतमा कसैलाई पनि चेकजाँच गरेन, उनलाई पनि गरेन,’ उनले भने ।

तर, गड्डाचौकी भन्सार राजश्व गुल्ममा पूर्वकार्यरत तथा हाल सशस्त्र प्रहरी बल वैजनाथ बाहिनी अत्तरियामा कार्यरत प्रहरी हवल्दार लक्ष्मण बोहराले वनवसाको कैनालमा आफू र रोकायाले अमित चन्दलाई सोधपुछ गरेको बताए । ‘एसएसबीले सोधपुछ गरिरहेको थियो, त्यही समयमा हामी २ जना पुग्यौ, त्यो बालक राम्रोसँग बोल्न नसकिरहेकाले भारतीय एसएसबीले सोधिदिनु भनेपछि हामीले घर, नाम ठेगाना, के गर्छौ भनेर मात्र सोधेका हौ, उनलाई धम्की, बन्धक, मोबाइल खोस्ने, पैुसा लुट्ने काम गरेनौ,’ उनले भने, ‘भदौ १४ गते मेरै घर नजिकै सशस्त्र प्रहरीले सोधपुछ गरेको भएपनि आफूले केही गरेन ।’

‘मेरो घर सुकासाल नजिकै उभिएकाले मलाई पनि शंका गरेका हुन्, गड्डाचौकी भन्सार गुल्ममा कार्यरत सशस्त्र प्रहरीले सोधपुछ गर्दै थिए, किन गरेका हुन्, त्यो विषयमा मलाई थाहा भएन्,’ उनले भने । सशस्त्र प्रहरी राजश्व गुल्म गड्डाचौकीका प्रमुख डीएसपी प्रेमप्रसाद पाण्डेयले भारतीय भूमिमा सोधपुछ र चेकजाँच गर्न नपाइने बताए ।

‘म अब यस विषयमा बुझ्छु,’ उनले भने, ‘सशस्त्र प्रहरीको घुमुवा टोलीले पनि नेपाली भूमिमा शंका लागेको व्यक्तिलाई सोधपुछ गर्न पाउँछ । तर, भारतमा गएर गर्न पाउँदैन, बुझेर गलत भए कारवाही गर्छौ ।’ सशस्त्र प्रहरी स्रोतका अनुसार घुमुवा प्रहरी टोलीले आफैं सक्रिय भएर कसैलाई सोधपुछ, चेकजाँच र केरकार गर्न पाउँदैन । ‘घुमुवा टोलीको काम सूचना संकलन गरेर आफ्नो कार्यालयमा पठाउने मात्रै हो,’ स्रोतले भन्यो, ‘घुमुवा टोलीले संकलन गरेको सूचनाका आधारमा आवश्यक योजना बनाउने र कारवाही गर्ने काम सशस्त्रको पोशाकमा परिचालित टोलीको हो ।’

सशस्त्र प्रहरीको घुमुवा टोलीको अस्वभाविक हर्कतपछि त्रसित बनेका बालकका बुबा तेज चन्दले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक काठमाडौंमा पत्राचार गरेका छन् । ‘सशस्त्र प्रहरी नियमावली बमोजिम दोषी घुमुवा प्रहरीमाथि कारवाही गरिपाऊ भनी निवेदन पठाएको छु,’ चन्दले भने, ‘मेरो बच्चा त्रसित अवस्थामा रहेकाले त्रास हटाउने उपाय पनि सशस्त्र प्रहरीले खोज्नुपर्‍यो ।’ बच्चालाई त्रसित हुने काम गरेकाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा समेत जाहेरी दिएको र प्रहरीले दोषीमाथि कारवाही प्रक्रिया अगाडि नबढाएको चन्दले बताए ।

 


About Author
-होम योगी