७४४ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १८ आइतबार, १२:०१ बजे

गोदावरी धाममा भौतिक पूर्वाधार निर्माण कार्य तीव्र

Image

धनगढी। कैलालीको गोदावरी धामलाई धार्र्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र पारिएको छ ।

भौतिक संरचनाअन्तर्गत सहरी विकास मन्त्रालयको ५० लाख रुपैयाँ सहयोग र स्थानीय उपभोक्ताको १० लाख रुपैयाँ श्रमदान गरी ६० लाख रुपैयाँको लागतमा गोदावरी धाममा १०८ वटा शिवलिङ्ग निर्माण कार्यको थालनी भएको छ । शिवलिङ्ग निर्माणको लागि जग निर्माण कार्य सम्पन्न भइसकेको र अन्य काम सञ्चालनमा रहेको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

‘गोदावरी धामलाई सुदूरपश्चिमकै प्रमुख धार्र्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने, ‘शिवलिङ्गसँगै बन्न लागेको कैवलेनाथ मन्दिरले धार्र्मिक पर्र्यटकलाई विशेष आकर्षित गर्नेछ ।’ २०७३ फागुन १ गतेबाट निर्माण कार्य सुरु भएको १०८ वटा शिवलिङ्गको चालू आर्थिक वर्ष २०७४/०७५ भित्रै निर्माण कार्य सम्पन्न हुने गोदावरीधाम पूर्वाधार निर्माण उपभोक्ता समितिका संयोजक चन्द्रबहादुर बडेलाले बताए ।

करिब ५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको शिवलिङ्ग निर्माणस्थलको वरिपरि पर्खाल चिन्ने कार्य समेत सम्पन्न भइसकेको उनले बताए । ७ नम्बर प्रदेशको प्रमुख प्रवेश केन्द्र गोदावरी नगरपालिका–८ गोदावरीमा रहेको धाममा विगत २ वर्र्षयता गोदावरी धाम विकास समितिको सक्रियतामा भौतिक संरचना निर्माण कार्य तीव्र पारिएको छ ।

विष्णुपादुका, गणेश मन्दिर, यज्ञशाला, सहस्त्रलिङ्ग, स्नान घर, धर्मशाला बनिसकेको गोदावरी धाम विकास समितिका उपाध्यक्ष मदनराज पाण्डेले बताए । ‘यो क्षेत्र अथाह सम्भावना बोकेको क्षेत्र भएतापनि विकासको लागि पहल हुन नसकेको कारण पछि परेकाले आफूहरू यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने उद्देश्यका साथ लागिरहेका छौं,’ उनले भने ।

गोदावरी धाममा नेपाल मन्दिर (नेपाली लोक संग्रालय), गार्ईको विशाल मूर्ति, स्नान गर्ने श्रोवर, व्यवस्थित आर्यघाट, आदिशंकर कैलाश पीठ, सुविधा सम्पन्न धर्मशाला निर्माणको योजना रहेको गोदावरी धाम विकास समितिका सचिव हरिलाल गिरीले बताए । ‘गोदावरी धामको माथिल्लो डाँडामा केवुलकारको लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ ।

काठमाडौंबाट विभिन्न ३–४ वटा उद्योगपतिहरू आएर केवुलकार सञ्चालनको लागि प्रारम्भिक अध्ययन गरेर गएका छन्,’ गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले भने, ‘गोदावरी धामको माथिल्लो फूलवस्ती डाँडा र कैलाशद्वारीडाँडा (कम्पासे धुरामा) केवुलकारलाई टेवा पुर्‍याउन मन्दिर बनाउने तयारी भइरहेको छ ।’

गोदावरीमा केवुलकार सञ्चालन गर्न सकेमा नेपाल र भारत तथा अन्य मुलुकबाट दैनिक हजारौको संख्यामा पर्यटक भित्रिनेमा कुनै शंका नरहेको उनले बताए । उनका अनुसार विगत २ वर्षयता मात्र गोदावरी धाममा धार्मिक क्रियाकलापको लागि केही भौतिक संरचना बनेपछि नेपाल तथा भारतका विभिन्न स्थानबाट दैनिक १ हजारदेखि १५ सय जनासम्म अवलोकन, भम्रण तथा दर्शन गर्न आउने गरेका छन् ।


About Author
-मानसखण्ड