१६७६ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १५ , ०९:३२ बजे

कञ्चनपुर–कैलालीमा निर्वाचन क्षेत्रको सीमाङ्कन कस्तो ?

Image

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

आयोगले बुझाएको प्रतिवेदन अनुसार सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । नेपालको संविधानबमोजिम देशैभरि संघीय संसद्का लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० गरी प्रत्यक्षतर्फ कुल ४ सय ९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाएका हुन् । आयोग गत साउन ५ गते गठन भएको थियो ।

आयोगले जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा जनसंख्यालाई ९० र भूगोललाई १० प्रतिशतको हाराहारी भार दिई क्षेत्र निर्धारण गरिएको उल्लेख छ ।

संविधान र कानूनी व्यवस्थाको अधिनमा रही नेपालको विशिष्ट भौगोलिक अवस्था, जनसंख्याको वितरण र सामाजिक विविधताको अवस्थालाई केन्द्रमा राखी ३६ दिन लगाएर नक्सासहितको क्षेत्र निर्धारण गरिएको हो । जनसंख्याका आधारमा क्षेत्र निर्धारणमा सबैभन्दा बढी प्रदेश नम्बर ३ र कम प्रदेश नम्बर ६ परेको छ ।

मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा आगामी संघीय संसद् र प्रदेशसभाको मंसिर १० र २१ मा गरी २ चरणका निर्वाचन गर्ने तय गरेको थियो । निर्धारण भएका क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रदेश नम्बर १ मा २८, २ मा ३२, ३ मा ३३, ४ मा १८, ५ मा २६, ६ मा १२ र ७ मा १६ वटा निर्वाचन क्षेत्र हुने छन् । प्रदेशसभाको प्रतिनिधिसभा सदस्यको दोब्बर संख्यामा निर्वाचन क्षेत्र हुनेछ ।

प्रतिनिधिसभामा सबभन्दा बढी काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्र परेको छ । यसअघि पनि काठमाडौंमा सोही संख्यामा निर्वाचन क्षेत्र थियो । काठमाडौंपछि मोरङमा ६ निर्वाचन क्षेत्र हुने छन् । ५ निर्वाचन क्षेत्र हुने ३ जिल्लामा झापा, रुपन्देही र कैलाली, ४ क्षेत्र हुने ९ जिल्लामा सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तथा ३ क्षेत्र हुने ७ जिल्लामा ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर छन् ।

यस्तै, २ क्षेत्र हुने २१ र १ क्षेत्र हुने ३५ जिल्ला छन् । आयोगका अध्यक्ष कमलनारायण दासले छोटो समयमा क्षेत्र निर्धारणको काम चुनौतीपूर्ण भएपनि आफूहरूले सर्वसम्मतरुपमा सम्पन्न गरेको बताए । निर्धारणका क्रममा राजनीतिक दबाबबारे सोधिएको प्रश्नमा उनले जवाफ दिन चाहेनन् ।

सरकारको साउन २९ को निर्णयअनुसार आयोगको अवधि बुधबारसम्मका लागि थप गरिएको थियो । आयोगले सो प्रतिवेदन र सम्पूर्ण अभिलेख निर्वाचन आयोगलाई बुझाउने छ । निर्धारण आयोगमा माधव अधिकारी, प्रा.डा. विश्वकल्याण पराजुली, गणेशराज कार्की सदस्य र बेगेन्द्रराज शर्मा पौड्याल सदस्य सचिव छन् । (राससको सहयोगमा)

कञ्चनपुर–कैलालीमा निर्वाचन क्षेत्रको सीमाङ्कन कस्तो ?
निर्वाचन क्षेत्र निर्धारण आयोगले कञ्चनपुर र कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्रमशः ३ र ५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभाको दोब्बर क्षेत्र निर्धारण भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका ३ निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी गाउँपालिका राखिएका छन् । २ नम्बर निर्वाचन क्षेत्रमा कृष्णपुर र शुक्लाफाँटा नगरपालिका तथा बेदकोट नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ९ र १० नम्बर वडा राखिएका छन् । ३ नम्बर क्षेत्रमा भीमदत्त र महाकाली नगरपालिका तथा बेदकोट नगरपालिकाको ८ नम्बर वडालाई समावेश गरिएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका निर्वाचन क्षेत्रको १ नम्बर क्षेत्रमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका, २ नम्बर क्षेत्रमा बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिका, ३ नम्बर क्षेत्रमा कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको ७, ८, ९, ११ नम्बर वडा र ४ नम्बर क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाको १, २, ३, ४, ५, ६, १०, १२ र बेदकोट नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ९, १० नम्बर वडा समेटिएका छन् ।

५ नम्बर क्षेत्रमा बेदकोट नगरपालिकाको ८ नम्बर वडा र भीमदत्त नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १७, १९ नम्बर वडा तथा ६ नम्बर क्षेत्रमा महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाको ११, १२, १३, १४, १५, १६, १८ नम्बर वडा समावेश गरिएका छन् ।

कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका ५ वटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा टीकापुर नगरपालिका, जानकी गाउँपालिकाको १, ३, ४, ६, ७ नम्बर वडा, भजनी नगरपालिकाको ६ र ८ नम्बर वडा तथा जोशी गाउँपालिका राखिएका छन् । २ नम्बर क्षेत्रमा जानकी गाउँपालिकाको २, ५, ८, ९ नम्बर वडा, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका तथा गोहन्याय गाउँपालिकाको १, २, ३, ४, ६, ७ नम्बर वडा रहेका छन् ।

३ नम्बर क्षेत्रमा भजनी नगरपालिकाको १, २, ३, ४, ५, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिका तथा कैलारी गाउँपालिकाको १, २, ३, ४, ५, ७ र ८ नम्बर वडा रहेका छन् । ४ नम्बर क्षेत्रमा मोहन्याल गाउँपालिकाको ५ नम्बर वडा, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिका राखिएका छन् । ५ नम्बर क्षेत्रमा धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा राखिएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि १ नम्बर क्षेत्रमा जानकी गाउँपालिकाको १, ३, ४, ६, ७ नम्बर वडा, जोशीपुर गाउँपालिका तथा भजनी नगरपालिकाको ६, ८ नम्बर वडा रहेका छन् । २ नम्बर क्षेत्रमा टीकापुर नगरपालिका राखिएको छ । ३ नम्बर क्षेत्रमा लम्कीचुहा नगरपालिकाको १, २, ३, ४, ५, ७ नम्बर वडा, मोहन्याल गाउँपालिकाको ६, ७ नम्बर वडा तथा जानकी गाउँपालिकाको २, ५, ८, ९ नम्बर वडा राखिएका छन् । ४ नम्बर क्षेत्रमा बर्दगोरिया, लम्कीचुहा नगरपालिकाको ६, ८, ९ र १० नम्बर वडा तथा मोहन्याल गाउँपालिकाको १, २, ३, ४ नम्बर वडा राखिएका छन् ।

५ नम्बर क्षेत्रमा भजनी नगरपालिकाको १, २, ३, ४, ५, ७, ९ नम्बर वडा तथा कैलारी गाउँपालिकाको १, २, ३, ४, ५, ७, ८ नम्बर वडा राखिएका छन् । ६ नम्बर क्षेत्रमा घोडाघोडी नगरपालिका राखिएको छ । ७ नम्बर क्षेत्रमा मोहन्याल गाउँपालिकाको ५ नम्बर वडा, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिकाको ८, ९ नम्बर वडा तथा चुरे गाउँपालिकाको २, ४ नम्बर वडा राखिएका छन् । ८ नम्बर क्षेत्रमा गोदावरी नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, १०, ११, १२ नम्बर वडा तथा चुरे गाउँपालिकाको १, ३, ५ र ६ नम्बर वडा राखिएका छन् ।

९ नम्बर क्षेत्रमा धनगढी उपमहानगरपालिकाको ७, ८, ९, १०, १२, १४, १८, १६, १७, १८, १९ नम्बर वडा तथा कैलारी गाउँपालिकाको ६, ९ नम्बर वडा राखिएका छन् । १० नम्बर क्षेत्रमा धनगढी उपमहानगरपालिकाको १, २, ३, ४, ५, ६, ११, १३ नम्बर वडा राखिएका छन् ।


About Author
-मानसखण्ड