३९४ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १४ , ११:२८ बजे

गौमुल गाउँपालिकाको बजेट २२ करोड

Image

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि २१ करोड ७४ लाख १९ हजार ७ सय बजेट सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ ३ करोड २९ लाख ७२ हजार २ सय र चालुतर्फ १८ करोड ३४ लाख ८९ हजार १ सय रकम विनियोजन गरेको गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले बताए ।

गाउँपालिका सभाबाट भौतिक पूर्वाधारमा ५ करोड २ लाख, आर्थिक विकासमा १ करोड ८३ लाख, सामाजिक विकास क्षेत्र १ करोड २२ लाख ४० हजार, वातावरण, विपद् जोखिम न्यूनीकरणमा १४ लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा १५ लाख, वित्तीय व्यवस्थापन तथा सुशासनमा ९ लाख र चालुतर्फ २ करोड २९ लाख ५ हजार क्षेत्रगतरुपमा विनियोजन गरिएको रोकायाले पत्रकार सम्मेलनमार्फत जानाकरी दिए ।

रोकायाले दिएको जानकारीअनुसार गउँपालिकाको भवन निर्माणका लागि २ करोड, ४ वडा कार्यालयको भवन निर्माणका लागि ७० लाख, गाउँको आवधिक गुरुयोजना, सडक गुरुयोजनालगायतका गुरुयोजना निर्माणका लागि ४९ लाख, आफ्नै व्यवसाय आफैँ रोजगार कार्यक्रम अर्थात् युवा स्वरोजगार कार्यक्रमका लागि ९० लाख, खेलकुदमा ६ लाख, सडक निर्माणमा १ करोड ४० लाख र विद्युत् आयोजनामा ३५ लाख विनियोजन गरिएको प्रमुख रोकायाले पत्रकार सम्मेलनमा बजेट प्रस्तुत गरेका थिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोकायाले गाउँसभाबाट पारित ७ निर्णयसमेत सार्वजनिक गरे ।

सम्मेलनमा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रस्तुत गरेको आर्थिक ऐन, विधेयक र आर्थिक विनियोजन विधेयकसमेत पारित गरिएको छ । गाउँसभामा आएका विभिन्न संघसंस्थाका कार्यक्रम समेत सभामा समावेश गरिएको थियो । आर्थिक वर्ष २०७४/७५ का लागि नीति तथा कार्यक्रमसमेत समावेश गरिएको उपाध्यक्ष सीता थापाले बताए  ।  आर्थिक वर्षका लागि विषयगतरुपमा निर्णय गाउँसभाबाट पारित गरिएको  उनले बताए ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि विद्यालय समायोजन महिनाको अन्तिममा अनिवार्य सिकाइ मापन गरिने, स्वास्थ्यमा पहुँच पुर्‍याउन १५ श्ययाको अस्पताल व्यवस्था गर्ने, प्रत्येक वडामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने, ५ वर्षभित्र खानेपानी व्यवस्थित गरी प्रत्येक जनताको घरमा खानेपानीको पहुँच पुर्‍याउने, गाउँपालिकामा सांस्कृतिक संग्रहालय स्थापना गर्र्ने, कृषिलाई आधुनिकीकरण गर्दै लैजाने, पर्यटन प्रवद्र्धनका लागि योजना तयार गर्ने नीतिगत निर्णय भएको थापाको भनाइ छ । गाउँसभामा ‘एक घर एक रोजगारको नीति’ लिइने बताइएको छ ।

नागरिकता र मार्कसिट धितो राखी युवालाई ऋण उपलब्ध गराउने पनि निर्णय भएको छ । गाउँसभामा सहकारी सडक तथा पुलको गुरुयोजना बनाई ५ वर्षमा प्रत्येक वडामा मोटर बाटो निर्माण गरिने भएको छ । सडक निर्माण भएका ठाउँमा प्रत्येक १किलोमिटरमा झोलुंगे पुल निर्माण गरिने भएको छ ।

सभाले ऊर्जा, सिँचाइ, लघु तथा साना जलविद्युत् आयोजना, सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापन र सुशासनका नीतिगत निर्णय भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।